लुम्बिनी- गत वैशाख १९ गते (मे २ २०२३) कम्बोडियामा आयोजित अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले कालानमक धानको चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहारस्वरूप प्रदान गरे।
बुद्धजन्मस्थलको रैथाने कालानमक धान कम्बोडियाका प्रधानमन्त्रीकै रुचिअनुसार उपाध्यक्ष भिक्षुले उपहारस्वरूप प्रदान गरेका हुन्। कालानमक धान बौद्धमार्गी राष्ट्रमा पवित्र अन्नका रूपमा लिइन्छ। बुद्धकालीन रैथाने प्रजातिको यो धान लुम्बिनी क्षेत्रमा लोप हुने अवस्थामा छ।
प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुमा यही धानको चामल प्रयोग हुने गरेको भेटिन्छ। मगमग बास्ना आउने यो चामलको भात स्वाद र स्वास्थ्यका दृष्टिले समेत राम्रो मानिन्छ। लगानीअनुसार प्रतिफल नपाउने, उब्जनी कम हुने र रोगले समेत सताउने भएकाले कालानमक धान लोप हुने अवस्थामा पुगेको हो।
थोरै जमिन भएका किसानले कालानमक लगाउन छाडेका छन्। बुद्धकालीन समयमा प्राचीन कपिलवस्तु, बुद्धजन्मस्थल लुम्बिनी र बुद्धको अस्थि रहेको नवलपरासीको रामग्राममा कालानमक धान उत्पादन हुँदै आएको मानिन्छ।
केही वर्षअघिसम्म कपिलवस्तु र रूपन्देही जिल्लामा गरी झन्डै ९ सय हेक्टर क्षेत्रफलमा रोपिने कालानमक अहिले मुस्किलले ३ सय हेक्टरमा खुम्चिएको छ। कपिलवस्तुका किसानले यो धान रोप्नै छाडेका छन्।
गत वर्ष कपिवस्तुका कपिलवस्तु र महाराजगन्ज नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकामा ३५० हेक्टर क्षेत्रफलमा कालानमक खेती गरिएको थियो। यसबाट कुल ७३५ मेट्रिक टन धान उत्पादन भएको थियो।
कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार हेक्टरमा धानखेती हुने गरेको छ। तर यस वर्ष ३ सयभन्दा कम हुने कृषि ज्ञान केन्द्रको अनुमान छ। ‘कपिलवस्तुमा सामान्य किसानले कालानमक धान लगाउन छाडिसके’, कपिलवस्तु नगरपालिकाका कृषि शाखा प्रमुख भगवानदास गुप्ताले भने, ‘जमिनदारहरूले सोखका लागि लगाउँछन्।’ उनका अनुसार उत्पादन कम हुने भएकाले कपिलवस्तुमा कालानमक धान लगाउने क्रम घटेको हो।
रुपन्देहीमा १५ हेक्टरमा मात्रै कालानमकको खेती हुने गरेको कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिलकुमार कानु बानियाँले जानकारी दिए। पाँच वर्षअघिसम्म ४५ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो। ‘ढिलो र थोरै उत्पादन हुने भएकाले कालानमकको आकर्षण घट्दै गएको छ’, उनले भने, ‘कालानमक धान लोप हुने अवस्थामा पुगेको छ।’
यस्तै यो धान उत्पादनमा बढी खर्च लाग्छ भने बजारसमेत नपाइने समस्या छ। ‘छिटो र धेरै उत्पादन हुने भएकाले हाइब्रिडमा किसान आकर्षित हुन्छन्’, उनले भने।
यो धान असारमा रोपेपछि मंसिर अन्तिम साता मात्रै काट्न तयार हुन्छ। ६ महिनामा तयार हुने भएकाले यसमा रोग संक्रमणको जोखिम हुने सूचना अधिकारी कानुको भनाइ छ।
चामल बिक्रीमा भने किसानलाई बराबरी लाभ हुन्छ। अन्य धानको चामलको मूल्य ५० रुपैयाँदेखि ६० रुपैयाँ छ। कालानमक ३ गुणा बढी मूल्यमा बिक्री हुन्छ। अहिले बजारमा यसको मूल्य प्रति केजी २ सयदेखि ३ सयसम्म पर्छ।
बुद्धकालीन समयमा असार पूर्णिमाका दिन तिलौराकोट दरबारबाहिर धान मंगलत्सव मनाएर कालानम धान लगाइने गरिएकाले यसको महत्त्व निकै रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मत्तेयले बताए।
कालानमक धान उत्पादन गरी भगवान् बुद्धको जीवनसँग जोडेर प्रचार गर्न सके अन्तर्राष्ट्रिय स्तरमा बजार पाउन सकिने उपाध्यक्ष त्रिपाठीले बताए। धान उत्पादन वृद्धि गरेर बजारीकरण गर्नुपर्ने उपाध्यक्ष त्रिपाठीको भनाइ छ। उनका अनुसार बुद्धकालीन समयमा कालानमकको धानको चामल प्रयोग भएको पाइएकाले कपिलवस्तु, रूपन्देही र नवलपरासीमा यसको उत्पादन बढाउन आवश्यक छ। बुद्धकालीन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्नेछन्।
बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा चन्द्र पाठक, अर्जुन कुर्मीलगायतले अभियान चलाएका छन्। विगत चार वर्षदेखि लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टर संस्थाले लुम्बिनीमा कालानमक धानको उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गरेको छ। बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको सञ्चालक पाठकले बताए।
यो चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टिअसिक्डेन्टको मात्रा बढी हुन्छ। त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पनि केही वर्षअघि ‘शुद्धोधन कालानमक’ उन्नत जातको बिउ विकास गरेको थियो ।
रैथाने बाली प्रवर्धन गर्दै प्रदेश
लुम्बिनी प्रदेश सरकारले रैथाने बालीको प्रवर्धन गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन। तराईमा कालानमक धान, पहाडमा अनदी धान रैथाने बालीका रुपमा सरकारले प्रवर्धन गरेको छ। पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम पूर्व तथा केही मात्रामा दाङ प्यूठान र नवलपरासीमा रैथाने फापर खेती हुँदै आएको छ।
यस्तै कागुनो, कोदो, उवा, जुनेलो, लट्टे जस्ता रैथाने बाली पनि उत्पादन हुँदै आएका छन्। गुल्मी र रुकुम पूर्वको आलुलाई पनि प्रवर्धन गर्ने गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताए।
उनका अनुसार रैथाने बाली प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रमार्फत काम भइरहेको छ। तर रैथाने बालीको लगानीअनुसार उपलब्धि भने हुन सकेको छैन।
रैथानेको उत्पादन कम हुने र यसको बजारीकरणमा समेत समस्या भएकाले किसान आकर्षित हुन सकेको छैन। रैथाने बाली संरक्षण र प्रवर्धनअन्तर्गत मल, बिउमा अनुदान र मेसिनरी सामान खरिदमा पनि अनुदान दिने गरिएको प्रवक्ता मरासिनीले बताए।
करिब १९ लाख ६७ हजार हेक्टर क्षेत्रफल भएको यस प्रदेशको कुल खेतीयोग्य खेत्रफल ६ लाख ९७ हजार हेक्टर छ। भौगोलिक विविधता तथा जैविक विविधताका कारणले गर्दा प्रदेशमा यस्ता केही रैथाने बाली तथा जात रहेका छन्। यस्ता बाली जलवायु प्रतिकूलता, कम जनशक्ति तथा कम बाह्य उत्पादन सामग्री बिना नै उत्पादन गर्न सकिने विज्ञहरूको भनाइ छ।