सुशासन कायम र आर्थिक संकट समाधानको अगुवाइ कांग्रेसले नै गर्नुपर्छ : सहमहामन्त्री पाण्डे

हिमाल प्रेस ७ साउन २०८० २२:०८
154
SHARES
सुशासन कायम र आर्थिक संकट समाधानको अगुवाइ कांग्रेसले नै गर्नुपर्छ :  सहमहामन्त्री पाण्डे कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले देशको आर्थिक संकट समाधान गरी सुशासन कायम गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेकाले सोहीअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा आइतबार सम्बोधन गर्दै उनले कांग्रेसले विगतमा राजनीतिक संकटमोचनका लागि अगुवाइ गरेजसरी अब आर्थिक संकटमोचनका लागि पहलकदमी लिनुपर्ने बेला आएको बताएका हुन्। सहमहामन्त्री पाण्डेले भने, ‘नेपाली कांग्रेस पार्टीले राजनीतिक संकटका बेला जसरी संकटमोचन गर्ने कुराको नेतृत्व गर्छ। ठिक त्यसरी नै आर्थिक संकट मोचन गर्नका लागि विशेष किसिमको पहलकदमी गर्नुपर्छ।’

उनले आर्थिक संकट समाधानका लागि दातासँगको लगानी सम्मेलन एउटा विकल्प हुन सक्ने बताए। २०७२ को भूकम्पपछि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको अगुवाइमा भएको दाता सम्मेलन फलदायी भएको दृष्टान्त दिँदै पाण्डेले दाता सम्मेलनको प्रस्ताव गरेका हुन्।

उनले भने, ‘भूकम्पका बेला देश हल्लिएको थियो। डाक्टर रामशरण महतको अगुवाइमा लगानी/दाता सम्मेलन गर्‍यौँ। आर्थिक रूपमा देशलाई उठाउने काम गर्‍यौँ हामीले।’ उनले यतिखेर हामी अर्थमन्त्री भएका बेला लगानी सम्मेलनको परिकल्पना किन नगर्ने भनेर प्रश्न गरे।

‘नेपालको अर्थतन्त्र बलियो बनाउने कुराको जग किन नबसाल्ने? विश्वासको वातावरण किन सिर्जना नगर्ने? त्यतापटि नेपाली कांग्रेसले ध्यान दिनुपर्छ’, सहमहामन्त्री पाण्डेले भने।

पाण्डेले अर्थतन्त्र निकै कमजोर छ भनेर सर्वत्र चर्चा हुँदा जनता आतंकित भइरहेको बताए। विदेशमा भएको पैसा स्वदेशमा नआउने, स्वदेशको पैसा पनि स्वदेशभित्र लगानी नहुने, सहकारीहरूमा मानिसले विश्वास नगर्ने, लघुवित्तहरू नचल्ने, बैंकप्रति पनि भरोसा नहुने अवस्थाले अर्थतन्त्र कोलाहलपूर्ण अवस्थामा रहेको उनको भनाइ छ। यस्तै उनले केन्द्र र प्रदेश सरकारका बजेटमा जनता मात्रै होइन, जनप्रतिनिधिहरू स्वयं असन्तुष्ट रहेको बताए।

उनले यति बेला नेपालको समस्या भनेकै सुशासन रहेकाले त्यसमा पनि पार्टी गम्भीर हुनुपर्ने बताए। उनले भने, ‘मानिसहरू किन विदेश जान बाध्य छन्? यो देशमा हाम्रो भविष्य छैन किन भनिरहेका छन्? किनभने सुशासन छैन।’ नेपाली सेना नाफाखोरी र व्यापारी बन्न खोजेको, सर्वोच्च अदालतलगायतका न्यायालयमा सेटिङमा भ्रष्टाचार भइरहेको, निजामती प्रशासनमा जताततै भ्रष्टाचारका निम्ति मालदार ठाउँहरूमा जान प्रतिस्पर्धा हुने गरेको जस्ता विषयले देश आक्रान्त बनेको उनको भनाइ छ।

राजनीतिक नेतृत्व स्वच्छ नभएको प्रमाणका रूपमा भ्रष्टाचारका काण्डहरू एकपछि अर्को खुल्दै गएको सहमहामन्त्री पाण्डेले बताए। उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेका कामको जस नेपाली कांग्रेसले लिनुपर्नेमा जोड दिए। सहमहामन्त्री पाण्डेले भने, ‘यो नारायणकाजीले गरे अथवा माओवादीले गरे भन्ने होइन। हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड, प्रचण्डले बनाएको गृहमन्त्री नारायणकाजी। त्यसैले यसमा नेपाली कांग्रेसले स्वामित्व लिनुपर्छ।’

पाण्डेले नेपाली कांग्रेसले भ्रष्टाचारका यी काण्ड मात्रै होइन, यती र ओम्नी लगायतका नेकपाको सरकार भएका बेलाका ठूलाठूला काण्डहरूको फाइल खोल्ने हिम्मत गर्न सक्नुपर्ने बताए। उनले भने, ‘आवश्यक पर्यो भने त्यसअघिका भ्रष्टाचारका काण्डहरूको पनि फाइल खोल्नुपर्छ।’ उनले भ्रष्टाचारकै कारण राजनीतिक नेतृत्व बदनाम भएको र अब त्यसलाई स्वच्छ बनाउने काम पनि कांग्रेसको जिम्मेवारीमा रहेको बताए।

‘आवश्यक पर्‍यो भने सम्पत्ति छानबिन पनि गर्नुपर्छ। अवैध र स्रोत नखुलेको सम्पत्ति छ भने जफत गर्ने सम्मको हिम्मत नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्छ’, उनले भने। यसो गर्न सकेमा सुशासनबारे विश्वास बन्द भएको अवस्थामा परिवर्तन गर्न सकिने धारणा उनको छ।

सुशासन कायम गर्नका लागि सरकार र पार्टीका संयन्त्रलाई परिचालन गर्नुपर्ने प्रस्ताव उनको छ। केन्द्र सरकार, प्रदेश सरकार र ३३० स्थानीय तहमा रहेका कांग्रेसका प्रमुखहरूबाट सुशासनको प्रत्याभूति दिलाउनुपर्ने पाण्डेले बताए। कांग्रेसका जनप्रतिनिधिहरू र कांग्रेसका मन्त्रीहरू भ्रष्टाचार नियन्त्रणका लागि राम्रो काम गर्छन् भन्ने कुराको सन्देश दिने गरी अगाडि बढ्नुपर्ने पाण्डेले बताए।

साथै उनले पार्टीका संरचना र भ्रातृ संस्थाहरूलाई भ्रष्टाचार विरोधी अभियानमा अगाडि बढाउनुपर्ने बताए। पाण्डेले भने, ‘हामीले अहिलेको यो दायित्व हामीले निर्वाह गर्न सक्यौँ भने हाम्राप्रतिको विकर्षण, देशप्रति र राजनीतिक प्रणालीप्रतिको विकर्षण अन्त हुनेछ।’

वर्तमान गठबन्धनलाई जोगाएर पाँच वर्ष स्थिर शासन दिन सकेमा परिणाम सकारात्मक आउने विश्वास उनको छ। त्यसैले २०८४ सालमा एक्लै लड्ने कि गठबन्धन गरेर लड्ने भन्ने कुरा अहिल्यै निर्णय र निर्क्योल गरिरहन आवश्यक नरहेको उनले बताए। सहमहामन्त्री पाण्डेले भने, ‘८४ सालमा एक्लै लड्नुपर्छ भन्ने सर्वत्र पार्टीमा जनमत छ। त्यसैले हामी पार्टी बलियो बनाउनेतिर लागौँ।’

बैठकमा महामन्त्रीले प्रस्ताव गरेको पार्टीको सांगठनिक कार्यतालिका कार्यान्वयन हुन सक्ने हो कि होइन भन्ने विषयमा गहन मन्थन र मूल्यांकन आवश्यक रहेको पाण्डेको भनाइ छ।

‘हामी घोषणापत्र लेख्दा, विधान लेख्दा, नियमावली तयार गर्दा भावावेशमा आउँछौँ। यो कार्यान्वयन हुने हो कि होइन फेरि एकपट मन्थन र मूल्यांकन गरौँ। यहाँ प्रस्तुत गरिएका कार्यक्रम कार्यान्वयन भएन भने जनतामा झन् ठूलो निराशा उत्पन्न हुन्छ।’

सहमहामन्त्री पाण्डेले कार्यान्वयन हुने गरी कार्यतालिका परिमार्जन गर्न आग्रह गरे। यस्तै उनले महासमिति बैठकलाई नै नीति अधिवेशन बनाउनुपर्ने बताए। उनले भने, ‘हामीले गएको महाधिवेशनमा पार्टीको नीति र कार्यक्रम बनाउन सकेनौँ। त्यो बेलाको अप्ठ्यारो त्यस्तै थियो। त्यो बेला हामीले एकता, उत्साह र रूपान्तरण हाम्रो नारा थियो। वास्तवमा यही नाराको आलोकमा हामीले आगामी हाम्रा कार्यक्रम र सांगठनिक गतिविधि अगाडि बढाउनुपर्छ।’

प्रकाशित: ७ साउन २०८० २२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =