ओलीमाथि खनिए कांग्रेस र नेकपा एसका सांसद

हिमाल प्रेस ७ माघ २०७९ २१:५२
6
SHARES
ओलीमाथि खनिए कांग्रेस र नेकपा एसका सांसद

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का सांसदहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन्। उनीहरूले ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा उठाइरहेकाले संविधानमाथि खतरा रहेको औँल्याएका हुन्।

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि देखापरेको बताए। शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले भने, ‘फेरि संविधानमाथि खतराको घण्टी प्रकट भएको छ। ओलीजीले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ। अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने कि नउभिने भन्ने हो।’

कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको स्पष्ट पारे। उनले राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने कि नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्नेमा जोड दिए।

महतले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामी एउटा मुद्दामा खडा भएको हौँ। हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ, त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ।’

उनले दलगत स्वार्थभन्दा माथि उठेर संविधानरक्षा, कानुनी शासन र संसद्को गरिमा र मर्यादालाई कायम राख्ने उद्देश्यलाई प्रचण्डलाई समर्थन गरेको बताए। यस्तै उनले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको पनि बताए।

कांग्रेसका अर्का सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाए। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन्।

सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको बताए। संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरे पनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाइ थियो।

सांसद पाण्डेले भने, ‘जिम्मेवार नेताहरूबाट संविधानमाथि आक्रमण गर्ने काम भएको छ। पूर्वप्रधानमन्त्रीबाटै भएको छ।’ उनले प्रधानमन्त्री भन्दा ठूलो कार्यपालिकामा कोही हुन नसक्के संवैधानिक प्रावधान रहेको पनि स्मरण गराए।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाए।
उनले पूर्वप्रधानमन्त्रीहरु नै सिस्टम मिलाएर अर्बौँ भ्रष्टाचार गर्न लागिपरेको बताए। संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिईकनबाघले मान्छेको सिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न लागिपरेको आरोप लगाए। उनले भने, ‘नेपालका पूर्व प्रधानमन्त्री जसको नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्तिबाट नेपालको संविधान च्यातिन सक्छ। कानुनी राज्य समाप्त हुन सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =