बाँकेमा लम्पी स्किनविरुद्धको खोप दिन ढिलाइ

हिमाल प्रेस ६ साउन २०८० १०:०३
4
SHARES
बाँकेमा लम्पी स्किनविरुद्धको खोप दिन ढिलाइ फाइल तस्बिर। हिमाल प्रेस

बाँके– चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि बाँकेमा बल्ल खोप दिन सुरु गरिएको छ।

रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। संक्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन्।

६ हजार २ सय डोज खोप बाँकेमा आएको र यसबाट २ हजार ५ सय खोप ३ वटा पालिकामा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिइन्।

पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरु गरेको उनको भनाइ छ।

‘पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन सुरु गरेका छौं,’ उनले भनिन्, ‘पहिलो चरणको वितरण सकिएपछि कृषकका घरमै पुगेर दोस्रो चरणको खोप दिन सुरु गर्छौं।’

बाँकेका ८ वटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म ६ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताए।

पशुमा देखिएको रोग पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रूपेन्द्र ओलीले जानकारी दिए।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको भन्दै उनले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिए।

यस्तै तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका उनले बताए।

बाँकेका ८ वटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म ६ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शंकर न्यौपानेले संक्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए।

‘किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ,’ उनले भने।

संक्रमण भएको पशु भए त्यसलाई सामूहिक रूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको संक्रमण न्यूनीकरण हुनसक्ने उनले सुझाव दिए।

उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको संक्रमण फैलन्छ।

लम्पी स्किन रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। संक्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को संक्रमण देखिएको छ। उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ।

बाँकेमा करिब १ लाखको हाराहारीमा भैंसी र ६० हजारको हाराहारीमा गाई छन्। तीमध्ये ७ हजार पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ।

प्रकाशित: ६ साउन २०८० १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =