कांग्रेसलाई सिटामोल होइन सर्जरीकै आवश्यकता छ : प्रदीप पौडेल

हिमाल प्रेस ५ साउन २०८० १३:१६
26
SHARES
कांग्रेसलाई सिटामोल होइन सर्जरीकै आवश्यकता छ : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा गम्भीर खालको समस्या देखिएको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  ‘पार्टीमा आन्तरिक समस्याका कारण सदस्यहरूमा तिक्तता विवाद र निष्कासन हुने अवस्था छ। यसको सुधार हुनुपर्छ। पार्टीको स्वास्थ्यमा समस्या छ। यसलाई सिटामोल होइन सर्जरीकै आवश्यकता छ,’ उनले भने।

कांग्रेस ‘मास वेस’ पार्टी भएकाले सदस्यता वितरणमा उदार बन्न उनले नेतृत्वलाई सुझाव दिए।  ‘पार्टीले तोकेको व्यक्तिलाई मात्र होइन, सदस्य बन्न चाहने हरेक व्यक्तिलाई सदस्यता प्रदान गरिनुपर्छ,’ उनले भने।

आम निर्वाचनमा खर्च धेरै हुने भएकाले यसको प्रणाली परिवर्तन गर्न आवश्यक भइसकेको उनले औंल्याए। ‘प्रदेश र प्रतिनिधिसभामा दुवैमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरौं। प्रतिनिधिसभामा २ सय १ सीट र प्रदेशमा ३५ सीट बनाऔँ,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्य बन्नका लागि चार पटकसम्म र प्रदेशसभा सदस्य बन्नका लागि दुई पटक टिकट दिने व्यवस्था लाग‍ू गरौँ।’

उनले ०६२/०६३ को आन्दोलनपछिको गणतन्त्रयताका सबै उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न पनि प्रस्ताव गरेका छन्। भ्रष्टाचारको विषयमा कठोर बन्न पनि उनले आग्रह गरे। ‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ। यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो। अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ,’ उनले भने, ‘गणतन्त्र प्राप्तिपछिका जति पनि भ्रष्टाचार छन्, ती सबैको छानबिन गरौँ। गणतन्त्रयताका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने गरी कांग्रेस अघि जाओस्।’

पौडेलले अहिले कांग्रेस बडो दोधारमा रहेको पनि बताएका छन्। सरकारले भ्रष्टाचारको छानबिन गरिरहँदा समर्थन पनि गर्न नसक्ने र विरोधमा पनि उत्रिन नसक्ने द्विविधा रहेको उल्लेख गरे।

‘अहिले भएका भ्रष्टाचार र अनियमितताका घटना छानबिन भइरहँदा हामी समर्थन गर्न पनि सक्दैनौँ, बाहिरिन पनि सक्दैनौँ। यो त हदैसम्मको सत्तालिप्सा हो’, उनले भने, ‘भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा हामीले काम गर्न सक्नुपर्छ। अनि मात्रै हामी यही एजेन्डालाई लिएर २०८४ को चुनावमा जान सक्छौँ।’

प्रकाशित: ५ साउन २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =