‘आन्तरिक रेमिट्यान्सको सीमा एक लाख बनाउनुपर्छ’

चन्द्रप्रसाद ढकाल  ५ साउन २०८० १३:११
4
SHARES
‘आन्तरिक रेमिट्यान्सको सीमा एक लाख बनाउनुपर्छ’

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको र ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ। मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरूले आफ्ना उत्पादन घटाउनु परेको छ। यसले गर्दा उत्पादन, वितरण र बिक्रीमा संलग्न लाखौँ व्यवसायी तथा यसमा आबद्ध पेशाकर्मीको आयमा प्रत्यक्ष असर परेको छ।

नेपाल राष्ट्र बैंककै अध्ययनले उद्योगहरूले ६० प्रतिशतसम्म उत्पादन कटौती गर्नुपरेको देखाएको छ। यसले सरकारले संकलन गर्ने राजस्वमा समेत नकारात्मक असर गरेको छ। केन्द्रीय तथ्यांक कार्यालयले जारी गरेको गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुमानअनुसार अर्थतन्त्रका तीन मुख्य क्षेत्र उत्पादन, निर्माण र व्यापार क्षेत्रको वृद्धिदर २ प्रतिशतभन्दा बढीले नकारात्मक हुने अवस्था छ। समग्र अर्थतन्त्रकै न्यून वृद्धिले पनि निजी क्षेत्र सहज अवस्थामा छ भन्ने देखाउँदैन।

अर्कोतर्फ निरन्तर बढ्दो ब्याजदरका कारण धेरै बचतकर्ताले बचत निक्षेपलाई मुद्दतीमा परिणत गर्दा कर्जाको ब्याजदर बढेको छ। यसले गर्दा अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्न सक्ने अवस्थामा छैन। विगतको तथ्यांकले ब्याजदर न्यून हुँदा निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशतको हाराहारीमा ब्याजदर हुँदा कर्जा प्रवाह २६ प्रतिशतले बढेको थियो। गत वर्ष २०७९/८० मा ब्याजदर करिब १ प्रतिशतसम्म पुग्दा कर्जा परिचालन प्रतिशतले मात्र विस्तार भएको छ।

त्यसैगरी निजी क्षेत्रमा कर्जा विस्तार हुँदा आर्थिक वृद्धिदरको अवस्था सकारात्मक देखिएको विगत खोज्न धेरै टाढा जानु पर्दैन। कर्जाको व्याजदरले लगानीको वृद्धि, व्यापार व्यवसायको विस्तारदेखि रोजगारी सिर्जना र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्छ भन्नेमा दुई मत छैन। अहिले अर्थतन्त्रमा देखिएको शिथिलता र समग्र मागमा आएको कमीका कारण उद्योग तथा व्यवसाय संकटमा छन्। कतिपयलाई त तत्कालै सहयोग गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ। त्यसैले यस्तो अवस्थामा निजी क्षेत्रले आशा र भरोसाका साथ नेपाल राष्ट्र बैंकतर्फ हेरिरहेको छ, हेर्ने पनि त्यतै हो।

विशेष परिस्थितिमा विशिष्ठ प्रकारको आशा राख्नु पनि अन्यथा होइन। यसै विशेष आशाका साथ नै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले केन्द्रीय बैंकलाई संयुक्तरूपमा सुझाव पनि पेस गरिसकेका छन्। आफ्ना अप्ठ्यारा र तिनको समाधानका लागि राज्यले गर्नुपर्ने दायित्वका विषयलाई ती सुझावमा प्रकाश पारिएकै छ। गएको एक दशक नेपाली अर्थतन्त्रका लागि ज्यादै चुनौतीपूर्ण र उतारचढावपूर्ण रह्यो। भूकम्प, नाकाबन्दी र कोरोना भाइरस महामारीसँग जुध्दै उच्च आर्थिक वृद्धिको अपेक्षाका साथ अघि बढिरहेका बेलामा देखिएको अन्तर्राष्ट्रिय मन्दी, आपूर्ति श्रृंखलामा अवरोध र रुस–युक्रेन युद्धका कारण भएको चर्को मूल्यवृद्धिले अर्थतन्त्रलाई पुनः मन्दीतर्फ धकेलेको छ।

यस्तो संकटको अवस्थामा केन्द्रीय बैंकले बैंकदर, नीतिगत दर, ब्याजदर तथा विभिन्न प्रकारका मौद्रिक उपकरणमार्फत निजीक्षेत्रको वृद्धि र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। कोभिडकालमा ठूलो मात्रामा व्यवसाय गुमाउन पुगेका पर्यटनलगायत क्षेत्रको उत्थानमा पनि राष्ट्र बैंकको भूमिकालाई निजी क्षेत्रले सराहना गरेकै हो। त्यसैले अहिलेको अन्योलको अवस्थामा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा विश्वास बढाउने खालका नीति ल्याउनुपर्छ।

हालका लागि अनिवार्य नगद अनुपात, बैंकदर र नीतिगत दर बजारको आवश्यकताअनुसार घटाउनु पर्छ भने जोखिमको आधारमा ‘नेट लिक्विड एसेट्स’को व्यवस्थापन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ। ठूलो मात्रामा बचत खाताको रकम मुद्दतीमा परिणत गरिएकाले अब मुद्दती निक्षेपको समयावधिअनुसार ब्याजदर फरक हुनसक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ। त्यसमा पनि बचत निक्षेप र मुद्दती निक्षेपमा ब्याजदरको अन्तर ५ प्रतिशत हुनुपर्ने व्यवस्था हटाउनुपर्छ।

रेमिट्यान्स कम्पनीमार्फत आन्तरिक रूपमा नगद पठाउने विगतको सीमा लाखबाट घटाउँदै गएर २५ हजार गरिएको थियो। अहिले त पूर्ण रूपमा रोक नै लगाइएको छ।

बजारको मनोबल कमजोर र मागमा उच्च गिरावट भएका बेलामा उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा संकुचन आएकाले ‘डेब्ट इक्विटी’अनुपातमा कम्तीमा आगामी एक वर्षका लागि लचकता अपनाउनुपर्छ। कर्जा विस्तारका लागि लचिलो मौद्रिक नीति निजी क्षेत्रको आफ्नो मात्र अजेण्डा होइन, समग्र बजारलाई चलायमान गराउन पनि मौद्रिक नीतिले लचिलो बन्नुपर्ने आवश्यकता रहन्छ।

आमजनतालाई ज्यादै प्रभावित गर्ने नीतिगत परिवर्तनमध्ये रेमिट्यान्स कम्पनीमार्फत् स्वदेशमा पैसा पठाउन नपाउने व्यवस्था हो। रेमिट्यान्स कम्पनीमार्फत् आन्तरिकरूपमा नगद पठाउने विगतको सीमा लाखबाट घटाउँदै गएर २५ हजार गरिएको थियो। अहिले त पूर्णरूपमा रोक नै लगाइएको छ। यसले मजदुर, विद्यार्थीलगायत अनौपचारिक क्षेत्रमा काम गरिरहेका लाखौँ मानिस प्रभावित भएका छन्। अझै पनि ग्रामीण क्षेत्रका धेरै स्थानमा इन्टरनेटको सहज पहुँच छैन र बैंकका शाखा पुग्न सकेको छैन। यस्तो अवस्थामा रेमिट्यान्स कम्पनीमार्फत् पैसा पठाउन रोक्नु भनेको निम्न वर्ग र दुर्गमका जनतालाई सास्ती थप्नु मात्र हो।

यो सेवा बन्द गरिदिँदा रेमिट्यान्स कम्पनीका हजारौँ आउटलेट बन्द भएका छन्। त्यसैले परिचय पत्रको आधारमा त्यस्ता कम्पनीमार्फत् कम्तीमा पनि एक लाखसम्म आन्तरिकरूपमा रेमिट्यान्स पठाउने व्यवस्था हुनुपर्छ। कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा व्यवसायको प्रकृतिअनुसार लगातार कम्तीमा सात दिन शून्य वक्यौता कायम गर्नुपर्ने व्यवस्था पनि व्यावहारिक छैन। त्यस्तो व्यवस्था हटाउनु पर्छ भन्ने निजी क्षेत्रको माग हो।

त्यस्तै चालु पुँजी कर्जाका लागि दुई फरक खाताको आवश्यकता पर्ने गरी गरिएको व्यवस्था पनि अव्यवहारिक छ। यस्तो कर्जाका लागि एक वर्षको कारोबारलाई मात्र आधार मान्दा चालु पुँजीको यथार्थ आकलन हुन सक्दैन। त्यसैले अघिल्लो चार आर्थिक वर्षको कारोबारलाई आधार मानी धेरै कारोबार हुने वर्षको आधारमा गणना गर्नुपर्छ। यसका साथै उत्पादमूलक उद्योगले वर्षको दुई उत्पादन चक्रसमेत पूरा गर्न मुस्किल परिरहेको अवस्थामा चालु पुँजी कर्जाको २५ प्रतिशतको सीमालाई बढाउनु पर्छ। उत्पादनमूलक उद्योग र व्यापारका लागि कर्जाको मापदण्ड फरक हुनुपर्छ र यो व्यवस्था चालु पुँजी कर्जामा पनि लागू गर्नुपर्छ। स्थायी प्रकृतिको चालुपुँजी कर्जाको व्यवस्था गर्नुपर्छ।

हालको विषम परिस्थितिमा उद्योग व्यवसाय बन्द गर्नु परेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता व्यक्त गरेका उद्योगलाई बन्द गर्न दिइ सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई दिएको सुझावअनुसार साना तथा मझौला उद्योगलाई परियोजना कर्जा दिने व्यवस्था गर्नुपर्छ। निजी क्षेत्र र विज्ञहरुले समेत लामो समयदेखि माग गर्दै आए पनि ‘स्टार्टअप’ तथा साना एवम् मझौला उद्यमको वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो व्यवस्था लागु गर्न अब ढिला गर्नुहुँदैन।

त्यस्ता उद्यमलाई दिइने कर्जाको सीमा पनि बढाएर कम्तीमा ५ करोड बनाउनुपर्छ। ब्याजदरमा विशेष सहुलियतमार्फत उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्ने त हाम्रो विगतदेखिकै माग हो। त्यसैगरी हामीहरूले कर्जाको ब्याजदरमा लिइने प्रिमियमा पनि न्यून हुनुपर्छ भनेर भनिरहेका छौँ।  यसबाहेक प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनमूलक, साना तथा मझौला एवम् निर्यातमूलक उद्योग, पर्यटन पूर्वाधार, केवलकार, महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलगायत क्षेत्रमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ भन्ने निजी क्षेत्रको माग छ।

अहिले आर्थिक हिसाबले सामान्य समय होइन भन्ने त सबैलाई थाहै छ। त्यसैले यस्तो विशिष्ठ परिस्थितिका बेलामा परम्परा धान्ने मात्रभन्दा पनि समयलाई सम्बोधन गर्न सक्ने खालको नविनतम् मार्ग नेपाल राष्ट्र बैंकले प्रशस्त गर्न सकोस् भन्ने निजी क्षेत्रको चाहना हो। समय सापेक्ष बनेका नीतिले नै जटिल अवस्थालाई चिर्न सक्छ। नरम मौद्रिक नीतिले नै निजीक्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै संकटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई बचाउन सक्ने अपेक्षा हाम्रो छ। मलाई लाग्छ नेपाल राष्ट्र बैंकले हाल मस्यौदा गरिरहेको मौद्रिक नीति यस्तै समय सापेक्ष एवम् पहिचान भइसकेका समस्याको सम्बोधन र निदान गर्न सक्ने पक्षमा आउनेछ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालसँग राससका रमेश लम्सालले गरेको कुराकानीमा आधारित)

प्रकाशित: ५ साउन २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =