दुई फिल्मले कमाए १७/१७ करोड, एउटाले कमायाे ५२० रुपैयाँ

कसकाे कति?

हिमाल प्रेस ४ साउन २०८० १८:०८
24
SHARES
दुई फिल्मले कमाए १७/१७ करोड, एउटाले कमायाे ५२० रुपैयाँ

काठमाडौँ- आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्मको सूची र तीनको आम्दानी विवरण सार्वजनिक गरिएको छ। नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरु भएसँगै बिहीबार चलचित्र विकास बोर्डले गत आर्थिक वर्षकाे आम्दानी सार्वजनिक गरेकाे हाे।

बाेर्डले फिल्म प्रदर्शन सुरू भएको मिति, टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आवमा नेपाली र विदेशी गरी एक सय ३५ फिल्म प्रदर्शनमा आएका थिए। त्यसमा नेपाली ५७ र विदेशी ७८ छन्।

समग्रमा नेपाली फिल्मले ७६ करोड ७२ लाख ५७ हजार एक रूपैयाँ कमाएका छन्। विदेशी फिल्मले ७९ करोड ४३ लाख ४ हजार सात सय ४८ रुपैयाँ कमाएको छ। सार्वजनिक भएको विवरणमा दुई नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘जारी’ले १७ करोड रुपैयाँभन्दा बढी कमाएका छन्। त्यस्तै एउटा नेपाली फिल्म शिवानीले ५२० रुपैयाँमात्रै कमाएकाे छ।

नेपालमा प्रदर्शन भएका फिल्ममध्ये सर्वाधिक व्यापार गर्ने फिल्म ‘छक्का पञ्जा ४’ रहेको छ। फिल्मले १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रूपैयाँ कमाएको छ। दोस्रो आम्दानी गर्नेमा फिल्म ‘जारी’ रहेकाे छ। ‘जारी’ले हालसम्म १७ करोड १७ लाख ९५ हजार १८ रूपैयाँ कमाएको छ। यो फिल्म हलमा पनि प्रदर्शनरत छ। फिल्म निर्माण टिमले साउन ५ गते शनिबार एकसय दिन मनाउने भएको छ।

त्यस्तै तेस्रो उत्कृष्ट कमाउने फिल्म ‘प्रेम गीत ३’ रहेको छ। फिल्मले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ आम्दानी गरेकाे छ। यसकै हिन्दी भर्जनले पनि नेपालमा २ करोड २७ लाख २९ हजार ८ सय ८७ रूपैयाँ कमाएको छ।

सर्वाधिक कमाइ गर्ने चौथोमा ‘महापुरुष’ फिल्म रहेकाे छ। यो फिल्मले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रूपैयाँ कमाएको छ। पाँचौ स्थानमा रहेको ‘दुइ नम्बरी’ फिल्मले ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० रूपैयाँ कमाएको छ।

यस्तै गत आवमा सबैभन्दा थोरै आम्दानी गर्ने फिल्म ‘शिवानी’ले पाँच सय २० रूपैयाँ संकलन गरेको छ। विदेशी फिल्मतर्फ सबैभन्दा धेरै आम्दानी गर्नेमा हिन्दी फिल्म ‘पठान’ रहेकाे छ। ‘पठान’ले नेपालमा १३ करोड २८ लाख ८ सय १० रूपैयाँ आम्दानी गरेको छ। दोस्रोमा ‘अवतारः द वे अफ वाटर’ रहेको छ।

यो फिल्मले ८ करोड ३० लाख ६७ हजार ८ सय ८६ रूपैयाँ कमाएको छ। त्यस्तै विदेशी सबैभन्दा कम कमाउनेमा भोजपुरी चलचित्र ‘रिश्तो का बटवरा’ले २ हजार १ सय ६० रूपैयाँ कमाएकाे छ।

 

प्रकाशित: ४ साउन २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =