कालाेपत्रे सडकले सुगम देखियाे ताराखोला, तर भाडा अत्यधिक

हिमाल प्रेस ४ साउन २०८० १५:०६
6
SHARES
कालाेपत्रे सडकले सुगम देखियाे ताराखोला, तर भाडा अत्यधिक

गलकोट- कुनै समय जिल्लाको दुर्गम ठाउँले चिनिने ताराखोला गाउँपालिका अहिले सुगम देखिन थालेको छ। गाउँपालिकाका दुर्गम गाउँमा सडक पुगेर सार्वजनिक सवारी गुड्लान भनेर कल्पना कमैले गरेका थिए। जिल्ला सदरमुकाम बागलुङ बजारबाट ताराखोला पुग्न एक दिन कम्तिमा लाग्थ्यो।

मुलुकले स्थानीय तह प्रशासनिक प्रणाली अपनाएपछि यहाँको स्थानीय तहहरूमा पनि सडक पुगेको छ। पहिले दुर्गमले परिचित ठाउँहरू सुगम देखिन थालेका छन्। ताराखोलामा पनि त्यसपछि नै सुगम देखिन थालेको हाे।

दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोलामा पछिल्लो समय विकासले गति लिन थालेको छ। भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्रे सडक पुगेको छ। गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म पालिकामै पहिलो पटक सडक कालोपत्रे छ।

गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्रे भइरहेको छ। १० किलोमिटर सडकमध्ये अहिले ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

गाउँपालिकामा नै पहिलो पटक ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्रे भएको गाउँपालिका अध्यक्ष हिमाल विकले बताए। ‘गाउँपालिकामा पहिलो पटक कालोपत्रे सडक निर्माण भएको छ,’ उनले भने, ‘यो सुखद् हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको २२ करोड रुपैयाँ लागतमा सडक कालोपत्र भइरहेको छ।’

गलकोटबाट ताराखोलातर्फ पनि कालोपत्रेको काम सुरु गरिएको उनको भनाइ छ। रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने सडक आगामी वर्षमा कालोपत्रे सुरु गरिने उनको भनाइ छ।
यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेको अध्यक्ष विकले बताए।

ताराखोला-सरपाण्डी-खरिखोला सडकको ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रेको चरणमा रहेको विक बताउँछन्।  गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुमफेद पुग्ने २६ किलोमिटर सडक गाउँपालिकाले ‘शहीद मार्ग’ नामकरण गरेको छ।

उक्त सडकको काम भने अघि बढ्न सकेको छैन। ताराखोलाको माझखर्क गाउँमै कालोपत्रे सडक भएपछि स्थानीय खुसी छन्। ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकास भइरहेको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले बताए।

गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्रे आफ्नै गाउँमा परेकोे माझखर्कका रोकामगरको भनाइ छ। उनले सडक कालोपत्रे भइसक्दासमेत सवारीसाधनको भाडादर भने चर्काे महंगाे रहेकाे गुनासो गरे।

पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मंसिर ४ गते २२ करोड ८३ लाख २० हजार रुपैयाँमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण ढिलाइ भएको थियो।

गत वर्ष मंसिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मंसिरसम्म म्याद थप गरिएको छ। उक्त सडक खण्डकोे ६ किमि कालोपत्रे भइसकेको छ। वर्षा रोकिएपछि थप चार किमि सडक कालोपत्रे गर्ने योजना छ।

अहिले भइरहेको कालोपत्रेमा पुनः अर्को कालोपत्रे थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले बताए। उनले बर्खा लगत्तै बाँकी रहेको चार किमि सडक कालोपत्रेको काम थालिने बताए।

ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्रेको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडक ७५ प्रतिशत सम्पन्न भएको छ। मौसमले साथ दिएमा आगामी मंसिरसम्म सबै सडक कालोपत्रे गरेर हस्तान्तरण गरिने उनको भनाइ छ।

गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रेका लागि संघीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ। निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्रे हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्रे भएको छ। गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमात्रै कालोपत्रे भइरहेको छ। रासस

प्रकाशित: ४ साउन २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =