कांग्रेस बैठक : कोही महामन्त्रीविरुद्ध खनिए, कोही खाण र देउवाको बचाउमा उत्रिए

सन्तोष अधिकारी ३ साउन २०८० १९:२०
74
SHARES
कांग्रेस बैठक : कोही महामन्त्रीविरुद्ध खनिए, कोही खाण र देउवाको बचाउमा उत्रिए फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टी बलियो बनाउने उद्देश्यमा नडगमगाउन नेतृत्वको खबरदारी गरेका छन्।

पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले नेतृत्वकै कारण पार्टीमा गुटबन्दीको शृंखला मौलाएको, चुनावी गठबन्धन गर्दा तल्ला तहसम्म छलफल नगरेको, भ्रातृ संगठनमा मनोनीत प्रथा कायम राखेको, जिम्मेवार नेताहरूबाट नै सामाजिक सञ्जालमा जथाभाबी अभिव्यक्ति प्रस्तुत भइरहेको जस्ता विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले कांग्रेसलाई पहिलो पार्टी बनाउन यस्ता तत्त्वहरू बाधक रहेकाले तत्काल सच्चिएर अघि बढ्न नेतृत्वको खबरदारी गरेका छन्।

प्रदेश सभापतिहरूको आक्रोश

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित कांग्रेसका प्रदेश सभापतिहरूले नेतृत्वप्रति आक्रोश पोखे। सभापतिहरूले मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई स्वीकार्य नगरिएको आरोप लगाएका हुन्। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘अहिले संघीयताकै विषयमा प्रश्न उठिरहेको छ। त्यहीअनुसार पार्टीमा पनि यो भएको हो कि भुलवश हो? प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो? महामन्त्रीले प्रस्तुत गर्नु भएको वार्षिक क्यालेन्डरमा पनि मैले प्रदेशको भूमिका पाइनँ।’

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रिकृत शासन बन्द गर्न नेतृत्वलाई आग्रह गरे। शर्माले पार्टी केन्द्रले जिल्ला र पालिकासम्म हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए।

केन्द्रको शासनशैलीले संघीय संरचनाको औचित्य घटाएको उनको भनाइ छ। ‘केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्व घटिरहेको छ। जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्,’ उनले भने, ‘केन्द्रबाट शासन बन्द गरियोस्। संविधानले गरेको व्यवस्थाबमोजिम पार्टी सञ्चालन गर्ने कुरा केन्द्रबाटै प्रभावित पार्ने प्रयास नहोस्।’

त्यस्तै बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पनि प्रदेश संरचनालाई नेतृत्वले हेपेको गुनासो गरे। ‘जनताले खोजेको र रोजेको व्यवस्थाभित्र जनताले सुधार खोजेका छन्। निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने हो कि ? संविधान संशोधन गर्नुपर्ने हो कि ?,’ उनले भने, ‘संघीयता पहिचान र प्रतिस्पर्धा हो, संसारको उत्कृष्ट संविधान भन्दाभन्दै जनतामा निराशा किन अयो ? नयाँ पार्टीको उदय सुशासनको नारामा टेकेर भएको छ। हामीले त्यसतर्फ ध्यान दिनुपर्छ कि?’

उनले पार्टी नेतृत्वले प्रदेश संरचनाको मर्मअनुसार काम नगरेको आरोप पनि लगाए। संघीयताको मर्मअनुसार काम गर्न नसकेकै कारण नयाँ पार्टीहरूको उदय भएको र यसले खतरा निम्तिँदै गएको पनि बताए।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पार्टी अनुशासन समिति संयोजक आनन्द ढुंगानाले विधानले नदिएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन्।

महामन्त्रीविरुद्ध खनिँदै सभापतिको बचाउ

बुधबारको बैठकमा भनाइ राख्ने कोहीले नेतृत्वको कडा आलोचना गरे भने कोहीले नेतृत्वकै बचाउ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अनुशासन उल्लंघन गरेको भन्दै प्रश्न उठेको छ। कांग्रेस सुदूरपश्चिम प्रदेशसभापति वीरबहादुर बलायरले पार्टी पदाधिकारीमै बसेर पदाधिकारीविरुद्ध बोलेको भन्दै प्रश्न उठाए।

‘केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन ? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसका विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ? तथानाम छ जे पायो त्यही भएको छ।’

पार्टी महामन्त्री थापा र शर्माले सभापति देउवाविरुद्ध बोल्दै आइरहेका छन्। खासगरी थापाले त सभापति देउवाकै कारणले पार्टी रूपान्तरण हुन नसकेको समेत बताउने गरेका छन्।

यसैगरी पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले केही दिनअघि महामन्त्रीहरूले जिल्ला सभापति भेला गरेर छलफल गरेको प्रति आपत्ति जनाए। उनले यसअघि महामन्त्री सभापति भएकाहरूले केन्द्रीय समितिलाई वास्ता नगरी जिल्ला सभापति, सचिवको भेला गरेको आफूलाई थाहा नभएको पनि बताए।

‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला सभापति हुँदा केन्द्रीय समितिको वास्ता नगरी अवशेष राखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ उनले भने, ‘सचिवहरूको भेला महामन्त्रीको प्रतिवेदनमा छ। केन्द्रीय कार्यालय हामीभन्दा बाहिर हो भने स्पष्ट थाहा पाऊँ।’ उनले कांग्रेस राजनीतिक रूपमा सक्रिय भए पनि सामाजिक रूपमा पछाडि पर्ने खतरा भएको पनि बताए।

त्यस्तै मनोनीत केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले चुनावी गठबन्धनको विषयमा महामन्त्रीहरूले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाइन्। ‘सभापति खराब हामी सही भन्ने जुन दाबी छ यो हाँस्यासपद छ। गठबन्धनको निर्णय आफू भएको केन्द्रीय समितिबाट गर्ने। परिणाम भइसकेपछि सभापतिलाई सबै दोष लगाउने?,’ उनले भनिन्, ‘अनि सरकार बनाउने बेलामा पचासथरी वितण्डा गरेर हुन्छ? सभापतिसँगै तपाईंहरू उभिनुको विकल्प छैन। तपाईंहरूको हरेक गतिविधिको अनुगमन गरिरहेका छौँ।’

उनले महामन्त्रीहरूलाई दायरा फराकिलो बनाउन पनि आग्रह गरिन्। ‘महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला। सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस्’ उनले भनिन्। खतिवडा अहिले सभापति देउवानिकट नेत्री हुन्।

अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त नेतृत्वलाई व्यंग्य गर्दै पार्टीको भ्रातृ संगठनमा आफ्ना छोराछोरी र श्रीमतीलाई पनि ठाउँ दिन आग्रह गरे। ‘भ्रातृ संगठन कोसँग सल्लाह गरेर बनाउनुभएको? भ्रातृ संगठनमा सबैले आफ्ना छोरा, आफ्ना छोरी सबै हालेका रहेछन्,’ उनले भने, ‘मेरो छोरा पनि हाल्दिनू, महिला संगठन बनाउनुहुन्छ भने मेरी श्रीमती पनि राखिदिनुस्।’

उनले सात जना केन्द्रीय सदस्यका छोराछोरीले तरुण दलमा नियुक्ति पाएको भन्दै व्यंग्य गर्दै आपत्ति जनाए। ‘यल्लाई राम्रै भन्नुपरो। मैले थाहा पाएसम्म हाम्रा सात जना केन्द्रीय सदस्यका छोराछोरी तरुण दलमा सामेल भएका छन्,’ उनले भने, ‘सरी, मेरो छोरा यहाँ रहेनछ, नत्र मेरो छोरालाई पनि म हालिदिन्थेँ।’ उनले पार्टीको विधान मिचेर भ्रातृ संगठन गठन हुँदा पनि पार्टीका महामन्त्रीहरूले टुलुटुलु हेरिरहेको आरोप लगाए।

केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पनि महामन्त्रीहरूको आलोचना गरिन्। ‘सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुने कुरा हेक्का राखौँ। गौरव बोकेको पार्टी कमजोर बनाउने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘महामन्त्रीलाई इंकित गर्दै भन्छु। युवाहरू बाहिरिएका छन्। भाइ बहिनी छोराछोरी देशमै राख्ने योजना कहाँ छ? वार्षिक क्यालेन्डरले मात्रै आमजनताको कुरा सम्बोधन हुँदैन।’

देवकोटाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव पनि गरिन्। वरिष्ठ नेताको रुपमा डा.शेखर कोइरालाले पनि इच्छा व्यक्त गरिरहेका छन्। कांग्रेसमा सभापतिमा चुनाव हारेको व्यक्ति वरिष्ठ नेता बन्ने परम्परा छ। पार्टीको १४औं महाधिवेशनमा कोइराला शेरबहादुर देउवासँग पराजित उम्मेदवार हुन्।

केन्द्रीय सदस्य राधा घलेले नक्कली शरणार्थी प्रकरणमा मुछिएर जेलमा रहेका बालकृष्ण खाणको बचाउ गरिन्।
उनले नेताहरूलाई प्रश्न गर्दै भनिन्, ‘आज एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू सवेदनशिल नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ?’ उनी खाणनिकट नेता पनि हुन्।

उनले पार्टीकै एक नेतालाई दुख पर्दा साथ दिन सक्दैनौँ भने भोलि आफूलाई पर्दा सहयोग नपाइने कुरा सम्झिन पनि आग्रह गरिन्। त्यस्तै घलेले आरोप लाग्दैमा कोही दोषी नहुने पनि बताइन्।

कांग्रेसभित्र खाणलाई निलम्बन गर्ने र नगर्ने विषयमा ठूलो मतभेद छ। संस्थापन पक्षका नेताहरू खाणलाई कारबाही नगर्ने पक्षमा छन् भने इतर पक्ष कारबाही गरेर जानुपर्ने पक्षमा छ।

केन्द्रीय सदस्य सुशीला थिङले पार्टीका महत्वपूर्ण निर्णय केन्द्रीय समितिलाई थाहै नदिई कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिएको भन्दै आपत्ति जनाइन्। ‘म केन्द्रीय सदस्य हुँ। मलाई सि क्लासको केन्द्रीय सदस्य हुँ कि जस्तो लाग्छ। किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिन्छ’ उनले भनिन्।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीको कार्यक्रम नै थाहा नहुने भन्दै नेतृत्वको आलोचना गरे। उनले पार्टीको कार्यक्रम केन्द्रीय सदस्यले पनि समाचार पढेर थाहा पाउनुपरेको भन्दै आपत्ति जनाएका हुन्। उनले भने, ‘मिडियाको हेडलाइनले मात्र कांग्रेस सुर्धन सक्छ? पार्टी केन्द्रीय समितिले केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिनुभएको छ? मिडियामार्फत कांग्रेसले गरेको कार्यक्रम थाहा पाउँछौँ। हामीलाई थाहा हुँदैन।’

कांग्रेस केन्द्रीय सदस्य हरिशरण नेपालीले आफू १० महिनादेखि पार्टीको कामविहीन भएको बताएका छन्। उनले बैठकलाई निरन्तरता दिन माग गर्दै भने, ‘मैले १० महिनादेखि काम पाएको छैन मलाई काम दिनुहोस्। म काम गर्न चाहन्छु। नेपाली कांग्रेसको झण्डा लिएर म देशभरी डुल्न चाहन्छु।’

बैठकको लाइभ, देउवाको प्रशंसा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक लाइभ भइरहेको छ। बैठक लाइभको विषयलाई लिएर केन्द्रीय मदनकृष्ण श्रेष्ठले नेताहरू अनुशासित भएको बताए। उनले लाइभ गर्नाले देश विदेशमा रहेका शुभचिन्तक तथा नेता कार्यकर्ताले पनि पार्टीको छलफल हेर्न पाएको बताए।

उनले भने, ‘बैठक लाइभ भएकोले हामी सबै अनुशासित पनि भएका छौँ। लाइभले अनुशासनसमेत सिकाएको छ। देश, विदेशबाट कांग्रेसमा के भइरहेको छ चासोपूर्वक हेरिएको छ।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लाइभ गर्ने निर्णय सही भएको बताए। उनले आफूलाई हिजोको बैठक लाइभमा हेरेर जुम्लाबाट एक व्यक्तिले फोन गरेर प्रतिक्रिया दिएको पनि बताए।

‘यो पार्टी बूढो भइसकेको छ भन्ने आमजनमासनमा थियो। त्यो नभएर हामी आधुनिकीकरणमा गइरहेका छौं भन्‍ने सन्देश हामीले केन्द्रीय समिति लाइभ गरेर देखायौँ,’ उनले भने, ‘मेरो घर हुम्ला हो। हुम्लाबाट म कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्छु। केन्द्रीय सदस्य पनि छु। हिजो मलाई लिमीबाट फोन आयो। बैठक लाइभ हेरेर मलाई फोन आएको थियो। फोन गर्नेले भन्दै थिए- सभापति यसरी बस्नुभएको थियो, बोल्नुभएको थियो, मैले हेरेँ भनेर।’

अर्की केन्द्रीय सदस्य सुशीला थिङले केन्द्रीय समिति बैठकमात्रै नभई पदाधिकारी र कार्यसम्पादन समितिको बैठक पनि लाइभ गर्न आग्रह गरिन्।

लाइभ गरिएकोमा आपत्ति

लाइभ गरिएको प्रति प्रशंसा भइरहेको बैठकमा कांग्रेसका एक केन्द्रीय सदस्यले भने आपत्ति जनाए। केन्द्रीय सदस्य गुरु बरालले आफूले बोलेको सामाजिक सञ्जालमार्फत बाहिर नलैजान सभापति देउवालाई आग्रह गरे। तर, देउवाले तत्कालै प्रतिक्रिया दिँदै लाइभ भइरहने बताए।

बरालले आफूले बोलेको सामाजिक सञ्जालमार्फत बाहिर नलैजान भन्दै भने, ‘हामीले बोल्ने फोरम यो हो। यो सामाजिक सञ्जालमा बाहिर नजाओस्। मेरो भनाइलाई पार्टीको रेकर्डमा राखियोस्। सामाजिक सञ्जालमा नजाओस्।’

मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक कांग्रेसको फेसबुक पेजबाट लाइभ भइरहेको छ।

प्रकाशित: ३ साउन २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =