केन्द्रबाट शासन गर्न बन्द गरियोस् : कांग्रेस गण्डकी सभापति

हिमाल प्रेस ३ साउन २०८० १२:२१
8
SHARES
केन्द्रबाट शासन गर्न बन्द गरियोस् : कांग्रेस गण्डकी सभापति

काठमाडौँ– नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रिकृत शासन बन्द गर्न नेतृत्वलाई आग्रह गरेका छन्। बुधबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै शर्माले पार्टी केन्द्रले जिल्ला र पालिकासम्म हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका हुन्।

केन्द्रको शासनशैलीले संघीय संरचनाको औचित्य घटाएको पनि उनले बताए।

‘केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्व घटिरहेको छ । जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्। केन्द्रबाट शासन बन्द गरियोस् । संविधानले गरेको व्यवस्थाबमोजिम पार्टी सञ्चालन गर्ने कुरा केन्द्रबाटै प्रभावित पार्ने प्रयास नहोस्’ उनले भने।

उनले केही दिनअघि भएको सभापति भेलादेखि जिल्ला र स्थानीय तहमा पठाइने परिपत्रमा पार्टी केन्द्रले बीचमा प्रदेश संरचना छ भन्ने कुरा भुल्ने गरेको बताए ।

प्रदेश कांग्रेसको महत्वपूर्ण अंग भएको उनको भनाइ छ। ‘प्रदेश पार्टीको महत्वपूर्ण अंग हो । प्रदेशको सभापतिको महत्वपूर्ण दोस्रो दायित्व हुन्छ । यसलाई संस्थागत गर्न केन्द्रको महत्वपूर्ण भुमिका हुन्छ,’ उनले भने, ‘हामी आमन्त्रित सदस्य छौँ, यसको सन्देश राम्रो गएन । विधानतः उपस्थित हुने व्यवस्था मिलाइयोस् ।’

प्रदेश संरचनालाई बेवास्ता गर्दा लोकतन्त्र र देशलाई घाटा हुने शर्माको भनाइ छ।

‘प्रदेश संचनालाई हेलचेक्राइँ गरेर कांग्रेसको मात्र नभएर देशको भविष्यसँग जोडिएको विषय हो । यसमा हेलचेक्राइँ हुँदा कांग्रेसका लागि मात्र होइन, लोकतन्त्र र देशलाई नै घाटा हुन्छ,’ उनले भने।

उनले ०३६ सालको जनमत संग्रहअघि बलबहादुर केसीसहितका विद्यार्थी नेताले बीपीलाई भेटेर राजा सुध्रिँदैनन्, राष्ट्रिपति बन्नुस् भनेर ध्यानाकर्षण गराउँदा बीपीले उनीहरूसँग २४ घण्टा समय मागेर त्यस्तो प्रस्ताव राजालाई जानकारी गराएपछि जनमत संग्रह घोषणा भएको स्मरण गरेका थिए।

प्रकाशित: ३ साउन २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =