तातोपानी कुण्डले कमायाे एक करोड ३७ लाख रुपैयाँ

हिमाल प्रेस २ साउन २०८० १७:२६ | Tuesday, July 18, 2023
तातोपानी कुण्डले कमायाे एक करोड ३७ लाख रुपैयाँ

म्याग्दी- प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डकाे एक वर्षको आम्दानी एक करोड ३७ लाख रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।

म्याग्दी नदीको किनारमा प्राकृतिक र”पमा निस्कने ५० डिग्री सेल्सियस तापक्रमकाे पानी रहेकाे तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि यहाँ आउने पाहुनाले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत हो। कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले एक वर्षमा उक्त आम्दानी भएकाे जानकारी दिए। ‘बिरेनूनको गन्ध नआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेकोलगायत निको हुने गरेको छ,’ खड्काले भने।

उनका अनुसार गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले कुण्डमा स्नान गरेका छन्। बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार रुपैयाँ र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै चन्दाबापत चार लाख १६ हजार रुपैयाँ, मन्दिरको भेटी पाँच लाख ३० हजार रुपैयाँ, आजीवन सदस्यताबाट तीन लाख आठ हजार तथा ब्याजबाट  १७ हजार रुपैयाँ आम्दानी भएको छ।

प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए। तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० रुपैयाँ शुल्क तोकिएको छ। बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन्। अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार रुपैयाँ उपलब्ध गराइएको छ।

कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार रुपैयाँ, संरचना निर्माण र मर्मतमा १० लाख ८९ हजार रुपैयाँसहित कुल एक करोड ३६ लाख १९ हजार रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख २२ हजार रुपैयाँ, आव २०७७/७८ मा ७८ लाख एक हजार रुपैयाँ, आव २०७६/७७ मा एक करोड १३ लाख ४९ हजार रुपैयाँ, आव २०७५/७६ मा ९९ लाख ४२ हजार तथा आव २०७४/७५ मा ६५ करोड ६ लाख रुपैयाँ आम्दानी भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ५७ हजार रुपैयाँ, आव २०७५/७६ मा ९६ लाख १० हजार रुपैयाँ, आव २०७६/७७ मा एक करोड १४ लाख २३ हजार, आव २०७७/७८ मा एक करोड १४ लाख ५२ हजार तथा आव २०७८/७८ मा एक करोड ९० लाख ५६ हजार रुपैयाँ खर्च भएको छ।

प्रकाशित: २ साउन २०८० १७:२६ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast