कांग्रेसमा थप २२ विभागको प्रस्ताव

हिमाल प्रेस २ साउन २०८० १५:०९
8
SHARES
कांग्रेसमा थप २२ विभागको प्रस्ताव

काठमाडौँ– नेपाली कांग्रेसमा थप २२ वटा विभाग प्रस्ताव गरिएको छ। महामन्त्री गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थप २२ वटा विभाग प्रस्ताव गरेका हुन्।

महामन्त्री थापाले न्याय तथा मानव अधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक सांस्कृतिक विकाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रस्ताव गरेका हुन्।

यस्तै विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोरकिशोरी विभाग, भूपू प्रहरी विभाग, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग, व्यावसायिक सीप विकास विभाग प्रस्ताव गरिएको छ।

यस्तै प्रस्तावित अन्य विभागमा ज्येष्ठ नागरिक समन्वय विभाग, विपन्न उत्थान समन्वय विभाग, अनौपचारिक क्षेत्रका श्रमिक समन्वय विभाग, सामाजिक संघसंस्था समन्वय विभाग, मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग, धर्म संस्कृति समन्वय विभाग, पूर्व आप्रवासी समन्वय विभाग र नेपाली डायस्पोरा विज्ञ समन्वय विभाग छन्।

हाल कांग्रेसका ४८ वटा विभाग छन्। पार्टीको चौधौँ महाधिवेशन भएको लामो समय बितिसक्दा पनि विभागहरूले पूर्णता पाउन सकेको छैन। कांग्रेसकाे हालसम्म सूचना सञ्चार तथा प्रसार प्रचार विभागले मात्रै पूर्णता पाएको छ। महामन्त्री थापाले बैठकमा कांग्रेसको वार्षिक क्यालेन्डर प्रस्ताव गरेका छन्। प्रस्तावित क्यालेन्डरमा आगामी भदौ १५ गतेभित्र सबै विभागलाई पूर्णता दिइने उल्लेख छ।

महामन्त्री थापाले केन्द्रीय समितिले जस्तै प्रदेश, जिल्ला र स्थानीय तहले पनि सोहीअनुसार क्यालेन्डर बनाएर कार्यान्वयन गर्न सक्ने बताए। उनले भने, ‘प्रदेश, जिल्ला, स्थानीय तह, वडा र भ्रातृसंस्थासँग आआफ्नै क्यालेन्डर होस्। महामन्त्री थापाले क्यालेन्डर कार्यान्वयन भएमा केन्द्रीय समिति सदस्यले वर्षमा एक महिना मात्रै फुर्सद पाउने बताए।

प्रकाशित: २ साउन २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =