देउवाले कसलाई बनाउलान् वरिष्ठ नेता?

हिमाल प्रेस २ साउन २०८० १०:५३
194
SHARES
देउवाले कसलाई बनाउलान् वरिष्ठ नेता?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वरिष्ठ नेता कसलाई बनाउने भनेर गृहकार्य थालेका छन्। यसबारे उनले आफू निकट नेताहरूसँग छलफल गरिरहेकाे एक नेताले जानकारी दिए।

ती नेताका अनुसार सम्भवत: केन्द्रीय कार्यसमितिकाे आजकै बैठकमा सभापति देउवाले वरिष्ठ नेताको प्रस्ताव गर्नेछन्। यद्यपि बैठकको एजेन्डामा वरिष्ठ नेता प्रस्ताव गर्ने विषय समावेश छैन। केन्द्रीय कार्यसमिति बैठक करिब १० महिनापछि मंगलबार बस्दैछ।

वरिष्ठ नेताका लागि नेता डा. शेखर कोइराला र पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम चर्चामा छ। देउवामाथि इतर समूहको नेतृत्व गर्ने कोइरालालाई वरिष्ठ नेता बनाउन दबाब रहेको कांग्रेस नेताहरू बताउँछन्। कोइराला पार्टीको  १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित नेता हुन्।

पछिल्ला दिनमा कोइराला-देउवा सम्बन्ध सुमधुर बन्दै गएको नेताहरूको बुझाइ छ। नेता कोइराला त्यो कुरा स्वीकार्दैनन्। वरिष्ठ नेताको दाबी गर्ने श्रेष्ठ देउवाका विश्वासिला पात्र हुन्। तर देउवालाई पार्टीमा सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्ने दबाब पनि छ।

श्रेष्ठले आफू वरिष्ठ नेता हुन सबैभन्दा योग्य पात्र रहेको दाबी गर्दै आएका छन्। ‘म बीपीका पालाको नेता हुँ। मेरो नाम वरिष्ठ नेतामा पठाउन सभापति पनि तयार हुनुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘मेरो नाम लियो भने सर्वसम्मतिबाट निर्णय हुन्छ।’

१४ औँ महाधिवेशनमा श्रेष्ठले पनि सभापतिको उम्मेदवार दाबी गर्दै आएका थिए। तर उनले मनोनयन नगरी देउवालाई सहयोग गरेका थिए। कांग्रेसको विधानमा वरिष्ठ नेता पद छैन। तर नेताहरूको सम्मानका लागि चुन्ने परम्परा रहँदै आएको छ। यसअघि रामचन्द्र पौडेल वरिष्ठ नेता थिए। सभापति देउवाले महाधिवेशनमा सभापतिका दाबेदार भए पनि प्रतिस्पर्धाको मैदान छाडिदिएका पौडेललाई वरिष्ठ नेताको हैसियत दिएका थिए।

राष्ट्रपति चुनिएसँगै पार्टीको जिम्मेवारीबाट पौडेलले राजीनामा दिएपछि सोही पद खाली छ। कांग्रेसमा महाधिवेशनबाट निर्वाचित सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेताको हैसियत दिने प्रचलन छ। त्यसैले महाधिवेशनलगत्तै देउवाका निकटतम प्रतिद्वन्द्वी कोइरालालाई उक्त सम्मान दिनुपर्ने पक्षमा कोइराला निकटका नेताहरू छन्। पार्टीका कतिपय अनौपचरिक फोरममा उनीहरूले कोइराला नै वरिष्ठ नेता हुनुपर्ने प्रस्ताव गर्दै आएका छन्।

मंगलबार सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा  १० वटा एजेन्डामा छलफल हुँदैछ। पार्टीको सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले ती एजेन्डा तय गरेको हो। जसमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका, केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन र नीति अधिवेशन सम्बन्धमा छलफल हुनेछ।

यस्तै विभागहरू गठन, थप र कामको व्यख्या, राष्ट्रव्यापी अभियान  घोषणा, अनुशासन समितिको प्रतिवेदन पेस,  संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन र सरकारको गतिविधिबारे छलफल हुनेछ। पार्टी मुख्यालय सानेपामा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी कांग्रेसको छ।

प्रकाशित: २ साउन २०८० १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =