पृथ्वी राजमार्ग विस्तारमा पोखरा महानगरले चलायो डोजर

विजय नेपाल २५ असार २०८० १७:१४
12
SHARES
पृथ्वी राजमार्ग विस्तारमा पोखरा महानगरले चलायो डोजर

पोखरा– पोखरा महानगरपालिकाले पोखरा–मुग्लिन सडक विस्तारका लागि पृथ्वीराजमार्गअन्तर्गत मापदण्ड मिचेका संरचना भत्काउन सुरु गरेको छ। महानगरले राजमार्गको पोखरा रंगशालादेखि विजयपुर खोलासम्म मापदण्ड मिचेर बनाइएका विभिन्न संरचनामा सोमबार डोजर लगाएको हो। जसमा पहिलो दिन मापदण्ड मिचेका घरको ट्रस, बरन्डा, रेलिङ, सिंडी, गार्डेनलगायतका दर्जनौं संरचना भत्काइएको हो।

केही घरधनी आफैँले भत्काउने भनेपछि थप ३ दिनको समय दिइएको पोखरा महानगरका प्रमुख धनराज आचार्यका प्रेस सल्लाहकार भीम थापाले बताए। एक जनाले ट्याक्टरको ट्रली हटाउन अटेर गरेकोमा महानगरले उक्त ट्रली जफत गरेको छ। पोखरा रंगशालदेखि विजयपुर सडकखण्डमा स्थायी र अस्थायी गरी करिब पाँच दर्जन संरचना हटाइने छ।

मुग्लिन सडक विस्तारमा साइट क्लियर गरिदिन आग्रह गरेबमोजिम महानगरले एक महिनाअघि नै सूचना जारी गरी मापदण्डभित्र परेका संरचना हटाउन आग्रह गरेको थियो। केहीले अटेरी गरेकाले डोजर चलाउनु परेको हो। पोखरा सडकखण्डमा सडकको बीचभागदेखि दायाँबायाँ २३ मिटर मापदण्ड तोकिएको छ। सडक विस्तारको क्रममा साइट क्लियर पार्न डोजर चलाइएको हो।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक खण्ड विस्तार कार्य जारी छ। यो सडक डेडिकेट ४ लेनको बन्नेछ। जहाँ चिनिया ठेकेदारले बाटो बनाउने काम गरिरहेको छ।

सम्झौता गर्ने बेलामा सडकको साइट नेपाल सरकारले क्लियर गरिदिनु पर्नेछ। सोही अनुसार पोखरा महानगरले आफ्नो पालिकामा पर्ने सडकको मापदण्ड अनुसारको साइट क्लियर गर्न सुरु गरेको हो।

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा महानगरभित्र (पोखरा रंगशालादेखि कोत्रेसम्म) मात्रै १ सय ७० घर संरचना भत्काउनुपर्ने आयोजनाले जनाएको छ। जसमा हालसम्म १ सय १२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको छ।

बाँकी ८४ जनाले मुआब्जा बुझ्न बाँकी छ। विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेको हो। त्यहाँका संरचना हटाउन केही समय लाग्ने पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाएका छन्।

प्रकाशित: २५ असार २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =