संसद् बैठक सञ्‍चालनका लागि एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय

हिमाल प्रेस २४ असार २०८० १२:०२
6
SHARES
संसद् बैठक सञ्‍चालनका लागि एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय सत्तागठबन्धनको बैठक। फाइल तस्बिर

काठमाडौँ– संसद्‍मा जारी गतिरोध अन्त्य गर्न सत्तागठबन्धन दलहरू प्रमुख विपक्षी नेकपा एमालेसँग वार्ता गर्न तयार भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार (आज) बिहान बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

संसद्को अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री बन्न नयाँ दिल्लीको हात हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि एमालेले संसद्‍मा निरन्तर अवरोध गर्दै आएको छ।

प्रचण्डले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट उनको राजीनामाको माग गर्दै आएको छ। प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिएसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका कुनै बैठक चल्न नदिने एमालेको अडान छ।

यसैबीच आजको बैठक पनि अवरुद्ध पार्ने योजनामा रहेको एमालेसँग सत्तारूढ दलहरूले वार्ता गर्ने भएका हुन्।

शुक्रबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको जनाएका थिए।

यसबीचमा दलहरूबीच सहमति जुटाउन सभामुख घिमिरेले पटक-पटक पहल गर्दै आएका छन्।

सत्तागठबन्धनले आइतबार (आज) एमालेसँग सिंहदरबारमा छलफल गर्ने बताइएको छ।

प्रकाशित: २४ असार २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =