कांग्रेस संसदीय दलको नेता बदल्ने पक्षमा गगन थापा

हिमाल प्रेस २३ असार २०८० १३:३५
10
SHARES
कांग्रेस संसदीय दलको नेता बदल्ने पक्षमा गगन थापा फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता बदल्ने बेला आएको बताएका छन्। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएकाले संसदीय दलको नेता बदल्नु पहिलो प्राथमिकता रहेको भउनको तर्क छ।

यसअघि दलको नेतामा पराजित उनले दलको नेता बदल्न आफू लाग्ने र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संघर्ष गर्ने उल्लेख गरे। नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने जनतालाई पहिला नै थाहा भइसकेको भन्दै उनले पूर्वप्रधानमन्त्रीहरू अब प्रधानमन्त्री बन्न नहुनेमा जोड दिए।

संसदीय दलको नेता बदल्ने कुरामा आफू नथाकेको बताउँदै उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने स्पष्ट पारे। ‘नेपालमा योपछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्ने कुरा पहिल्यै थाहा हुन्छ,’ उनले भने, ‘कांग्रेस संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा म छु। म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने देशको अहिलेको आवश्यकता हो।’

महामन्त्री थापाले कांग्रेसले मिसन ०८४ नभई ०८० र ०८१ को सुरु गर्न जरुरी रहेको बताए। सबै पार्टी  मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए। भूतपूर्वप्रधानन्त्रीहरूको क्लबबाट प्रधानमन्त्री बन्ने परिपाटी बलल्ने बेला आएको पनि उनले जनाए।

‘एमाले, माओवादीमा पनि दलको नेता बदल्ने बेला आएको छ। दलको नेता उनीहरूले कसरी बदल्छन् थाहा छैन। तर कांग्रेसमा दलको नेता बदल्न जरुरी छ,’ उनले भने।

आफू यसअघि दलको नेता बन्ने प्रयास गरे पनि केही सांसदहरूको चित्त बुझाउन नसक्दा आफू पराजित भएको भन्दै उनले आफू उक्त प्रयासबाट नथाकेको बताए।

प्रकाशित: २३ असार २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =