दुईतारे जर्नेल पाण्डेले कूटनीतिक मर्यादा र अनुशासन भुलेपछि…

हिमाल प्रेस २२ असार २०८० २०:३९
2.7k
SHARES
दुईतारे जर्नेल पाण्डेले कूटनीतिक मर्यादा र अनुशासन भुलेपछि… जंगी अड्डा

काठमाडौँ- नेपाली सेनासँग जोडिएको एउटा घटना यति बेला कूटनीतिक समुदायमा चासोको विषय बनेको छ। सेनाका एक उच्च अधिकारी सैन्य अनुशासन र कूटनीतिक मर्यादा भुलेर प्रस्तुत भएकाले चर्चाको विषय बनेको हो।

जेठ अन्तिममा काठमाडौँको एक पाँचतारे होटलमा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय गोष्ठीपछि आयोजित भोजमा एक उपरथी अभद्र रूपमा प्रस्तुत भएका थिए। नेपाली सेना आयोजक रहेको कार्यक्रममा सेनाकै उपरथी ताराध्वज पाण्डेले नेपालस्थित कूटनीतिक समुदायका सैनिक सहचारीसँग जथाभाबी बोलेपछि उपस्थित विदेशी कूटनीतिक अधिकारीहरू आश्चर्यमा परेका थिए।

दुईतारे जर्नेल पाण्डे छिमेकी भारतका सैनिक सहचारी अमित शर्मासहित केही कूटनीतिज्ञसँग अभद्र रूपमा प्रस्तुत भएको कार्यक्रमका एक सहभागीले बताए। ‘जर्नेल पाण्डेले मदिरा सेवन गरेर जथाभाबी बोलेको घटनालाई कूटनीतिक समुदायले गम्भीर रूपमा लिएको छ,’ स्रोतले भन्यो।

युद्धकार्य विभागका उपरथि पाण्डेले उक्त भोजमा अपमानजनक शब्द प्रयोग गरेको एक कूटनीतिक अधिकारीले बताए। उनले भने, ‘पाण्डेले बोलेका शब्द बोल्न र लेख्न मिल्ने खालका थिएनन्।’

सेनामा यस्ता क्रियाकलाप गर्नेहरू विगतमा सजायका भागीदार हुन्थे। नेपाली सेनासँग केही महिनाअघि पनि कारबाहीमा परेका सैनिक अधिकारीहरूको सूची लामै छ। नेपाली सेना ‘चेन अफ कमान्ड’ मा चल्ने अनुशासित र मर्यादित निकाय मानिन्छ। तर पाण्डेमाथि कस्तो कारबाही प्रक्रिया चलेको छ, बाहिर आएको छैन।

कूटनीतिक निकायले आफ्नो च्यानलमार्फत पाण्डेमाथि कारबाही भएनभएको बुझ्ने काम गरेपछि पाण्डेका विषयमा सेनाभित्र छानबिन भइरहेको उच्च सैनिक अधिकारीले जानकारी दिए। एक कूटनीतिक अधिकारीले भने, ‘सेनाको विभागको नेतृत्व गरेको व्यक्तिबाट यस्तो अमर्यादित व्यवहार हुन्छ भने त्यहाँ अनुशासन हेर्ने निकाय चुप रहनु हुँदैन।’

पाण्डे सेनाभित्र जथाभाबी बोल्ने उपरथीका रूपमा चिनिन्छन्। युद्ध विभागअन्तर्गतको शान्ति सेना हेर्ने सहायक रथि सन्तोषबल्लभ पौड्यालले कार्यक्रमबाट प्रधानसेनापति प्रभुराम शर्मा बाहिरिइसकेपछि पाण्डेलाई भाबी प्रधानसेनापति भनेर चिनाएका थिए। त्यसपछि कार्यक्रम थप अनौपचारिक बनेको थियो। सोही क्रममा पाण्डेले मनलाग्दी बोलेको एक सहभागीले बताए।

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय गोष्ठीपछि लिइएको सामूहिक तस्बिर।

उपरथी पाण्डे यसअघि पनि पटकपटक यस्ता विवादमा तानिएका व्यक्ति हुन्। अरूलाई होच्याउने र जथाभाबी बोल्ने गरेका पाण्डेले माथिल्लो निकायबाट धेरैपटक चेतावनी पाइसकेका छन्। भोजमा सहभागी अर्का एक कूटनीतिक अधिकारी भन्छन्, ‘कुनै पनि कार्यक्रममा भाबी नेतृत्वमा पुग्ने व्यक्ति भनेर किन चिनाउन आवश्यक भयो? अनि चिनाए पनि विदेशी समुदायलाई अहिल्यै जानकारी दिएर कस्तो सन्देश दिन खोजिएको हो?’ सेनाको नेतृत्वले उक्त घटनालाई सामान्य रूपमा नलिएको ती कूटनीतिक अधिकारीको ठहर छ।

राष्ट्रसंघ सचिवालयअन्तर्गतको अपरेसनल सपोर्ट विभाग र सूचना एवम् सञ्चार प्रविधि कार्यालयले शान्ति स्थापना कार्यमा प्रविधिको प्रयोगसम्बन्धी चारदिने गोष्ठी गरेको थियो। नेपाली सेनाका अनुसार शान्ति स्थापनामा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास तथा नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्य कार्यक्रमको हो।

गोष्ठीमा सहभागी स्वदेशी तथा विदेशी पाहुनाहरूको सम्मानमा भोज आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन सेनाका पूर्वप्रवक्तासमेत रहेका सहायक रथी पौड्यालले गरेका थिए।

मदिरा सेवनबाट मात्तिएका पाण्डेले कूटनीतिक ‘इम्युनिटी’ पाउने व्यक्ति भन्ने भुलेर जथाभाबी बोलेपछि स्थिति सम्हाल्न कठिन भएको कार्यक्रममा सहभागी एक विदेशी कूटनीतिज्ञले बताए। सेनाले यस विषयमा कूटनीतिक समुदायसमक्ष जानकारी गराएर पाण्डेलाई आन्तरिक रूपमा कारबाही गरेको सन्देश नदिँदासम्म सेनाको गरिमामा ठेस लागेको अनुभव हुने अर्का एक सहभागीले बताए।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पाण्डेले उक्त कार्यक्रममा गरेको व्यवहारबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘यसबारे मलाई जानकारी छैन। म पनि बुझ्दै छु, त्यसपछि स्पष्ट पार्नेछु।’ उनले यस्ता विषयमा गम्भीर हुनुपर्ने र व्यक्तिविशेषका कारण समग्र सेनालाई विवादमा मुछ्न नहुने बताए।

गोष्ठीको सातौँ संस्करण जेठ ३० देखि असार १ सम्म चलेको थियो। गोष्ठीमा विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्यको मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र उत्कृष्ट अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो।

रक्षा मन्त्रालयको अगुवाइमा भएको गोष्ठीमा गृह, परराष्ट्र, सञ्चार मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए। कार्यक्रममा संयुक्त राष्ट्रसंघका उपमहासचिवसहित दुई सयभन्दा बढी सहभागी थिए।

इटालीबाट सुरु भएको उक्त कार्यक्रम अघिल्लो वर्ष दक्षिण अफ्रिकामा भएको थियो। भारतले समेत यो कार्यक्रम गर्ने अवसर पाएको छैन। नेपालले पूर्वतयारीसहित गरेको कार्यक्रमका अन्य पक्ष उपलब्धिमूलक भए पनि अन्तिममा निकै खल्लो महसुस भएको कार्यक्रममा सहभागी एक उच्च सैनिक अधिकृतले बताए।

घटनाबारे प्रधानसेनापतिको सचिवालयलाई जानकारी गराइएको बताइएको छ।

प्रकाशित: २२ असार २०८० २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =