प्रधानमन्त्रीको जिज्ञासा : वर्षात्अघि नै तयारी किन गर्न सकेनौँ?

हिमाल प्रेस २२ असार २०८० १६:५०
4
SHARES
प्रधानमन्त्रीको जिज्ञासा : वर्षात्अघि नै तयारी किन गर्न सकेनौँ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को समयमा कर्मचारीलाई प्रशासक नभई जनसेवक भएर काम गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा आज आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका हुन्।

‘वर्षात्‌को समयपूर्व नै किन हामी उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीको बन्दोबस्त गर्दैनौँ? यस्तो संवदेनशील विषयमा किन झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ?’, उनले प्रश्न गरे।

प्रधानमन्त्री प्रचण्डले राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत भइरहेको भन्दै प्रश्न समेत गरे। उनले यी र यस्ता प्रश्नप्रति जिम्मेवार बनेर मात्र सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्ने धारणा राखे।

नेपालमा हरेक वर्ष प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई आत्मसात् गर्दै विपद्पूर्वको नीतिगत र व्यवस्थाकीय तयारी, विपद्को समयमा शीघ्र उद्धार, प्रभावकारी राहत व्यवस्थापन र पुनःस्थापनाका कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्नु राज्यको आधारभूत जिम्मेवारी भएको प्रधानमन्त्रीको भनाइ छ।

उनले राज्यको यही आधारभूत जिम्मेवारीलाई औपचारिक अर्थमा नभएर प्रचलित कानुनअनुसारको जिम्मेवारी उच्च मानवीय भावनासहित बोध गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवं सोहीअनुरूप कार्यान्वयनको प्रतिबद्धता जाहेर गर्नु जरुरी रहेको बताए।

प्रकाशित: २२ असार २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =