प्रधानमन्त्रीले भावनात्मक रूपमा बोलेको विषयमा राजीनामा माग्‍न पाइँदैन : प्रवक्ता शर्मा

हिमाल प्रेस २२ असार २०८० १३:०८
6
SHARES
प्रधानमन्त्रीले भावनात्मक रूपमा बोलेको विषयमा राजीनामा माग्‍न पाइँदैन : प्रवक्ता शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावनात्मक रूपमा बोलेकै आधारमा उनले पदबाट राजीनामा दिनुनपर्ने बताएकी छन्।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा केही दिनअघि प्रचण्डले नेपालको प्रधानमन्त्री बन्न दिल्लीको हात हुने आशयको अभिव्यक्ति दिएकोप्रति मन्त्री शर्माले प्रधानमन्त्रीको बचाउ गरेकी हुन्।

‘पुस्तक विमोचनमा बोलेको नितान्त भावनात्मक कुरालाई उठाएर विपक्षीले संसद अवरोध गर्ने जुन खालको कार्य गरेको छ। यो दु:खद छ,’ काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले बोलेको कुरामा जवाफ माग्नुपर्नेमा विपक्षीले प्रधानमन्त्रीको राजीनामा माग्नु आश्चर्यजनक र गलत छ।’

यो सरकार गठन भएपछि मिटरब्याजी, भ्रष्टाचारी र माफियाहरूलाई कारबाही गर्ने क्रम अघि बढाएकाले कतिपय दलको टाउको दुखेकाले संसद्‍मा अवरोध गरिएको उनले जिकिर गरिन्।

‘विपक्षी दलले राजनीतिक विषयमा प्रश्न उठाउनु पर्नेमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ। एउटा पारिवारिक र भावनात्मक कुरामा विपक्षी दलले राजीनामा माग्ने अभ्यास प्रजातान्त्रिक कुनै पनि मुलुकमा छैन। प्रधानमन्त्रीको राजीनामा मागेर विपक्षी दलले नराम्रो हर्कत प्रस्तुत गरेको छ,’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =