काठमाडौँ- एसईईको नतिजा प्रकाशन भएसँगै विद्यार्थी र अभिभावकको ध्यान कुन विषय कहाँ पढ्ने र कस्तो विद्यालय राम्रो विद्यालय भन्ने विषयमा केन्द्रित भएको छ। विद्यालय शिक्षाको संरचना परिवर्तन भएसँगै विद्यालय शिक्षा कक्षा १२ सम्म भए पनि विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेपछि विद्यालय परिवर्तन गर्दै आएका छन्।
कक्षा १२ सम्म विद्यालय शिक्षा भएकाले आफूले अध्ययन गरेकै विद्यालयमा आफूले पढ्न चाहेको विषय अध्यापन हुन्छ भने त्यहीँ अध्यापन गर्न उपयुक्त हुने शिक्षाविद् धनञ्जय शर्मा बताउँछन्। उनका अनुसार गुणस्तरीय शिक्षा दिने भौतिक शैक्षिक पूर्वाधारयुक्त, प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको विद्यालय राम्रो हो।
विद्यार्थीले कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित विषय अध्ययन गर्न पाउँछन्। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय भने रोज्नुपर्ने हुन्छ।
विद्यार्थीले अनिवार्यअन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित भने पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ। ऐच्छिकअन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय विद्यार्थीले अध्ययन गर्छन्।
कक्षा ११ मा विद्यार्थीले विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाउछन्।
कक्षा ११ मा रोज्ने विषयले विश्वविद्यालय शिक्षाको अधारशिला तय हुने भएकाले भविष्य केन्द्रित भएर विषय र विद्यालय छनोट गर्न विज्ञले सुझाव दिएका छन्।
एसईई परीक्षा सकाएका प्रत्येक विद्यार्थीले विषय र विद्यालय छनोटमा ध्यान दिन सकेमात्र आफ्नो भविष्यको रूपरेखा कोर्न सहज हुने शिक्षाविद् शर्माको भनाइ छ।
उनी भन्छन्, ‘अहिलेको पाठ्यक्रममा विद्यार्थीले आफूले पढ्न चाहेको विषय रोज्न पाउँछन्। विद्यार्थीले विद्यालय पनि सोहीअनुसार आफूलाई पायक पर्ने ठाउँको रोज्नुपर्छ।’
‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय, पढाइ हुने विद्यालय, त्यहाँ अध्यापन गराउने शिक्षकबारे आफ्नो अनुकूलता हेरेर रोज्न पाउँछन्। तर विद्यार्थीले विद्यालय परिवर्तन गर्नुपर्छ भन्नेचाहिँ होइन। नजिकको आफूलाई अध्ययन गर्न मन लागेको विषय भएको विद्यालय रोज्दा उपयुक्त हुन्छ।’
‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्नुपर्छ। विद्यालय परिवर्तन गर्नुपर्छ भन्ने छैन। आफूले पढेको विद्यालय नजिक छ, विषय पनि छ भने त्यही पढ्नु उपयुक्त हुन्छ।
विश्वविद्यालयको पूर्वतयारी कक्षाका रूपमा रहने कक्षा ११ र १२ मा राम्रो नतिजा ल्याउन सके विद्यार्थीको विश्वविद्यालयमा आफूले चाहेको विषयको ढोका खोल्न सहज हुन्छ। कक्षा ११ मा विद्यार्थीले छनोट गरेको विषयले उसको भविष्यको रूपरेखा कोर्ने हुँदा यसप्रति विद्यार्थी सजग हुनुपर्छ। त्यसैले विद्यार्थीले आफू अध्ययन गर्ने विद्यालय र विषय छनोट गर्दा निकै ध्यान दिनुपर्ने भनाइ शर्माको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले समूहगत रुपमा विद्यार्थीले विषय रोज्न पाउने भएकाले विद्यार्थीलाई विषय रोज्न र आफूले चाहेको विद्यालयमा भर्ना भएर रुचिअनुसारकै विषय पढ्न पाउने बताउँछन्।
उनी भन्छन्, ‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्नुपर्छ। विद्यालय परिवर्तन गर्नुपर्छ भन्ने छैन। आफूले पढेको विद्यालय नजिक छ, विषय पनि छ भने त्यही पढ्नु उपयुक्त हुन्छ। यही आफूलाई अध्ययन गर्न मन लागेको विषय नभए अर्को विद्यालयमा अध्ययन गर्न जानुपर्छ।’
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले विद्यार्थीको रुचि, उक्त विषय पढ्नका लागि लाग्ने खर्च, अभिभावकको आर्थिक हैसियत, शैक्षिक क्षमता बुझेर मात्रै विद्यालय र विषय छनोट गर्न कक्षा १० उत्तीर्ण गर्ने विद्यार्थीलाई सुझाव दिएका छन्।
उनका अनुसार सबै विद्यार्थीले विज्ञानसँग सम्बन्धित विषय पढ्नुपर्छ भन्ने छैन। जुनसुकै विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले आफ्नो रुचिअनुसारको विषय अध्ययन गर्नुपर्छ । रुचि मात्र भएर पनि हुँदैन त्यसमा दक्षता हासिल गर्न सक्ने संकल्प पनि चाहिन्छ।
यस्तै प्याब्सन केन्द्रीय सचिव एवं एडमार्क एकेडेमी कलंकीका निर्देशक पुरुषोत्तम अधिकारीले विद्यार्थीले आफ्नो आर्थिक हैसियतअनुसार पायक पर्ने स्थानको आफूले अध्ययन गर्न चाहेको विषय पढाइ हुने विद्यालय छनोट गर्नुपर्ने बताए।
उनले भने, ‘विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरबारे ध्यान दिनुपर्छ।’ विद्यालय छनोट गर्दा विद्यालयले प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति आदि कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ।
कुन विषय पढ्ने?
भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, सूचना प्रविधि, जीवविज्ञान, रसायनशास्त्र, वनस्पतिशास्त्रसँगै विज्ञानसँग सम्बन्धित विषयमा उच्च शिक्षा लिन चाहनेले कक्षा एघारमा अनिवार्य नेपाली, अंग्रेजी र गणित लिनुपर्छ भने ऐच्छिकअन्तर्गत पहिलो समूहमा भौतिकशास्त्र, दोस्रो समूहमा जीवविज्ञान वा कम्प्युटर विज्ञान, तेस्रो समूहमा रसायनशास्त्र विषय रोज्न पाउँछन्।
व्यवस्थापन संकायतर्फ भविष्य बनाउन चाहनेले तीनवटा अनिवार्य विषयसहित पहिलो समूहमा लेखा विधि, दोस्रो समूहबाट कम्प्युटर विज्ञान वा व्यवसाय अध्ययन र तेस्रो समूहबाट अर्थशास्त्रलगायतका विषय रोज्न सक्छन्।
विद्यार्थीले दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्य, गृहविज्ञान, समाजशास्त्र, वातावरण, भूगोल, धर्म, संस्कृति, आमसञ्चार तथा पत्रकारिता, विभिन्न भाषागत विषय रोज्न सक्छन्।
शिक्षण पेसामा जान चाहनेले अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययनसँगै मूल्यांकन, शिक्षा र विकास, बालविकासजस्ता विषय अध्ययन गर्नुपर्ने हुन्छ।
कक्षा १० अध्ययनपछि प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले व्यावसायिक र प्राविधिक दुवै विषय अध्यापन गराउँदै आएको छ।
एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर विकल्पका रूपमा ‘ए लेभल’ पनि पढ्न सक्छन्। बेलायतस्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन ९जीसीई० कार्यक्रमअन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साइन्स र ननसाइन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन्।
यसमा पनि विद्यार्थीले चाहेको विषय रोज्न पाउँछन्। विश्वभर एकै किसिमको पढाइ र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा छन्।
कक्षा १० अध्ययनपछि प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले व्यावसायिक र प्राविधिक दुवै विषय अध्यापन गराउँदै आएको छ। एसईई उत्तीर्ण गरेका विद्यार्थीले तीनवर्षे डिप्लोमा तहमा नर्सिङ, एचए, फार्मेसी, ल्याबटेक्निसियन पढ्न सक्छन् ।
त्यस्तै इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, आईटी, कम्प्युटर, अटो मेकानिकल, कृषितर्फ प्लान्ट, एनिमल साइन्स र आयुर्वेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन्।
विद्यालय छान्दा विद्यार्थीले ध्यान दिनुपर्ने १० कुरा
१. कुशल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक।
२. अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनीयता हासिल गरेको विद्यालय।
३. अध्ययनअध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिविधिबाट मुक्त भएको विद्यालय।
४. विद्यार्थी आफू बस्ने घरदेखि विद्यालयसम्मको दूरी कम भएको विद्यालय।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क।
६. विद्याथी मैत्री र प्रविधिमैत्री कक्षा कोठा र सुन्दर शान्त विद्यालय परिसरको वातावरण।
७. अध्ययनअध्यापनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको विद्यालय।
८. रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिने।
९. विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीको स्थिति।
१०. विद्यालयको भौतिक पूर्वाधार र संरचना।