सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्‍यो : सांसद देवकोटा

हिमाल प्रेस १९ असार २०८० १६:२४
8
SHARES
सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्‍यो : सांसद देवकोटा

काठमाडौँ- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्।

आर्थिक सर्वेक्षणअनुसार मुलुकले २१ खर्ब ऋण तिर्न बाँकी रहनु त्यसको जालोमा फस्न लागेको संकेत भएको तर्क उनले गरे। कुल जीडीबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै उनले त्यो राम्रो संकेत नभएको बताए।

सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको उनको भनाइ छ।

‘सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा हो। यो आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ। यो शीर्षकमा अघिल्लोपटक १३४ अर्बको बजेट रहेको थियो। अहिलेचाहिँ २७५ अर्ब। यसमा वैदेशिक ऋण मात्रै जोडने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ,’ उनले भने, ‘अब यसले चाहिँ के संकेत गर्‍यो त सम्माननीय सभामुख महोदय ? यसले के संकेत गर्‍यो भने, हामी विस्तारै ऋणको जालोमा, ऋणको पासोमा पस्दै छौँ भन्ने त्यसले संकेत गरिदियो। त्यो बजेटको डाटाले पनि त्यही भन्छ। अब यो आर्थिक सर्वेक्षणअनुसार हामीले तिर्नुपर्ने ऋणचाहिँ २१ खर्ब छ। हाम्रो ऋणचाहिँ कुल जीडीबीको ४२ प्रतिशत हुुँदो रहेछ। योचाहिँ हामीले तिर्नुपर्ने ऋण दायित्व छ। तर, ऋण लिएर घिउ खाएजस्तो अवस्था छ।’

सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयताविरोधी रहेको पटकपटक दोहोर्‍याए।

प्रकाशित: १९ असार २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =