संविधानविद्‌‌ देवकोटा भन्छन् : रवि लामिछाने उम्मेदवार बन्नै अयोग्य छन्

हिमाल प्रेस १९ चैत २०७९ १६:४३
108
SHARES
संविधानविद्‌‌ देवकोटा भन्छन् : रवि लामिछाने उम्मेदवार बन्नै अयोग्य छन्

काठमाडौँ- संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य ठहरिँदैन। संविधानको पालना गर्ने हो भने तीन महिना पुरा गरेपछि मात्रै कानुनतः नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि नागरिक योग्य ठहरिने परिकल्पना संविधानले गरेको छ।

केही समयअघि यसै सम्बन्धी घटना चर्चित भयो र अहिलेसम्म पनि छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउँछन् कि पाउँदैनन्? संविधानतः भन्ने हो भने उनी आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन्। तर कानुनमा छिद्र निकालेर उम्मेदवार बनाइए कानुनको धज्जी उड्ने संविधानविद्हरूको भनाइ छ।

त्यसैले पनि संविधानमा छिद्र बनाउन नहुने उनीहरूको भनाइ छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित् नभइकन योग्य नहुने व्यवस्था गरेको बताए।

रास्वपा सभापति लामिछानेले नागरिकता लिएको मितिले मनोनयन दर्ताको दिनसम्मको समय ६५ दिन मात्रै पुग्छ। उनलाई अझै उम्मेदवार बन्न योग्य ठहरिनका लागि २५ दिन अपुग हुन्छ। किनभने चैत्र २० गते उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ। उपनिर्वाचन आगामी वर्षको वैशाख १० गते हुँदैछ। जसमा रास्वपा सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्म्ेदवार बन्दै हुनुहुन्छ। निर्वाचनको दिनसम्मको हिसाव गर्ने हो भनेपनि वैशाख १० गतेसम्म उहाँले नागरिकता लिएको समय ८५ दिन मात्रै हुन्छ। सभापति लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिनुभएको थियो। संविधान र संविधानविद्हरूका अनुसार तीन महिना समय नपुगेकाले उहाँले उम्मेदवारी दिन पाउने अधिकार हुँदैन। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो। यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद गुमाएका थिए। नागरिकता पुनः प्राप्त गरेपछि पुनः उनी रास्वपा सभापतिमा कार्यरत छन्।

‘हाम्रो संविधानले धेरै प्रकारको नागरिकताको व्यवस्था गर्‍यो। वंशजको नागरिकता, जन्मसिद्ध नागरिकता, गैर आवासीय नेपाली नागरिकता, अंगीकृत नागरिकता, सम्मानार्थ यस्ता विभिन्न प्रकारका नागरिकताको व्यवस्था गरिएको छ,’ उनले भने, ‘ती मध्ये गैरआवासीय नेपाली नागरिकका निम्ति राजनैतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्नका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्ने भन्ने बन्दोबस्त गरियो, यसैसँग सम्बन्धित गरेर संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने भन्ने शीर्षक अन्तर्गत गैरआवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य हुँदैन।’

उनले गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक नहुने र आवासीय नागरिकता त्यागेको तीन महिना कुलिङ पिरियडका रुपमा संविधानमा उल्लेख भएको पनि बताए।

संविधानविद् देवकोटाले रास्वपा सभापति लामिछालेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरिसकेको र झुटा विवरण पेस गरेर राहदानी लिएको भन्ने विषय अनुसन्धानको क्रममा रहेकाले छुट्टै अनुसन्धान हुने बताए। उनले झुटा विवरण पेस गरी राहदानी लिएको विषय राज्यबिरुद्धको अपराध भएको पनि बताए।

सरकार पक्षले यसविरुद्धको मुद्दा चलाउने अधिकार भएको तर महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भने पनि झुटा विवरण पेस गरी राहदानी लिएको कुरा दण्डनीय हुने स्पष्ट पारे।

‘सर्वोच्च अदालतले नागरिकताको सम्बन्धमा जुन नागरिकता प्रयोग भएको थियो, त्यो नागरिकता संविधान र कानुनतः स्वतः रद्ध भएको नागरिकता भनेको हुनाले रद्ध भइसकेको नागरिकता पेस गरेर निर्वाचित भएको र निर्वाचित भइ सरकारमा पनि प्रतिनिधित्व गरेको कुरालाई अवैध ठहर्याउँदै यो मामिला अवैध नै हो, संविधान विपरित र कानुन विपरित नै हो। भनेर त्यो मामिला डिक्लियर नै गरेको छ,’ उनले भने, ‘त्यो मामिलाको सन्दर्भमा मात्रै मुद्दा परेको थियो, सँगै फैसलामा के लेखियो भने झुटा विवरण पेस गरेर राहदानी लिएको भन्ने विषय अनुसन्धानको क्रममा रहेको हुनाले त्यसको मामिलामा छुट्टै अनुसन्धान हुने नै छ भनेर पनि उल्लेख गरेको छ। झुटा विवरण पेस गरी राहदानी लिएको विषय राज्यविरुद्धको अपराध हो।’ मुद्दा चलाउने कुरा भनेको सरकार पक्षको हो, महान्यायाधिवक्ताको कार्यालयले हो, हाम्रो संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने अधिकार महान्यायाधिवक्ताले गर्ने भन्ने छ, महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभयो। तर झुटा विवरण पेस गरी राहदानी लिएको कुरा दण्डनीय हुन्छ।’

संविधानविद् देवकोटाले संविधान, कानुन र मर्यादाको छिद्र खोजेर अघि बढ्नेकुरा चिरस्थायी हुन नसक्ने बताए। उनले कानुनले कोर्स लिने बेला यस्ता नजिरहरूमा प्रश्न उठ्ने बताए।

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित)

 

प्रकाशित: १९ चैत २०७९ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =