सुनसान बन्दै लमजुङका ‘होमस्टे’

हिमाल प्रेस १८ असार २०८० १६:१२
54
SHARES
सुनसान बन्दै लमजुङका ‘होमस्टे’

लमजुङ- लमजुङमा सञ्चालित घरबास (होमस्टे) वर्षा लागेसँगै सुनसान हुन थालेका छन्। वर्षाका कारण पर्यटकीय चहलपहल घट्न थालेसँगै यहाँका घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोटलगायत होमस्टे ठप्प प्राय: छन्।

वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्ररी अवलोकन गर्न नसकिनेलगायत कारण असार पहिलो सातादेखि यहाँ पर्यटक आउन छाडेका छन्।

नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ तथा दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँ होमस्टेमा पर्यटक छैनन्। यसअघि उक्त होमस्टेमा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरेका थिए।

असार सुरु भएयता पर्यटक नआएका घलेगाउँ होमस्टे व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेले बताए। ‘असार महिनाको सुरुवात भएदेखियता एक जना पनि पर्यटक आगमन भएको छैन,’ उनले भने, ‘जिल्लाकै सबैभन्दा धेरै पर्यटक आगमन हुने यहाँ यतिबेला पर्यटकको मुख देख्न पाइएको छैन।’

सहरदेखि होमस्टेसम्म आउने सडक गुणस्तरीय छैन। बढी वर्षा भएपछि पर्यटकले सडककै कारण सास्ती पाउँछन्। सोही कारण अहिलेको समयमा यहाँ पर्यटक आउन नरुचाउने समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

यहाँका होमस्टेमा असोजबाट मात्रै पर्यटकको आगमन हुन थाल्ने उनको भनाइ थियो। पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको स्थानीय बताउँछन्।

लमजुङमा २०५७ देखि घलेगाउँ होमस्टे सुरु गरिएको हो। घलेगाउँमा अहिले ४४ होमस्टे सञ्चालित छन्। तीन सयसम्म पर्यटक एक रातमा बास बस्न सक्ने व्यवस्था गरिएको समितिका अध्यक्ष घलेको भनाइ छ।

२०६२/६३ को जनआन्दोलनपछि गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।

यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुच्छे« हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्व हिमाल देख्न सकिन्छ। यहाँ घलेराजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक राखिएको छ।

आएका पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका स्थानीय अर्गानिक उतपादन खुवाउँछन्। त्यस्तै लमजुङ दरबार नजिकै रहेको बेँसिसहर नगरपालिका–३ काउँलेपानी होमस्टेमा समेत पर्यटक आगमनमा निकै कम भएको छ। यहाँ दैनिक दुई सयसम्म पर्यटक आउने गरेकामा अहिले पर्यटन आएका छैनन्।

ग्रामीण काउले पानी होमस्टे व्यवस्थापन समितिका अनुसार वर्षा लागेपछि दैनिक १०÷१५ जना पर्यटक मात्रै यहाँ आउने गरेका छन्। सञ्चालक कविन्द्र गुरुङले यहाँ १५ होमस्टे सञ्चालन गरिएका बताए।

समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइमा रहेको काउँलेपानी होमस्टे सन् २०११ देखि सञ्चालन गरिएको थियो। यस होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो। पर्यटन मन्त्रालयले सन् २०१६ मा नेपालको उत्कृष्ट होमस्टेका रूपमा छनोट गरेको थियो।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे तामाङ होमस्टेमा पर्यटक सुनसान रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमराज तामाङले बताए। रासस

प्रकाशित: १८ असार २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =