बीपी स्मृति दिवस विशेष

मेरो जीवन कथा : दुई छाक टार्न धौधौ पर्दथ्यो

122
SHARES
मेरो जीवन कथा : दुई छाक टार्न धौधौ पर्दथ्यो

मेरो जन्म एउटा द्विविधामा भएको हो। मृत्युलोकको द्वारसम्म आएर मानौँ म गम्न लागेँ- जाऊँ कि नजाऊँ? उता आमा असहयनीय वेदनामा छटपटिएर बारम्बार मूर्छित भइरहने, म भने बडो बुज्रुग जस्तो भएर चिउँडोमा हात राखेर सोचिरहने- जीवनमा हाम्फालिहालूँ कि के गरूँ?

यौटी डाक्टरनीले बलजफ्ती मर्त्यलोकको यस घाटमा उतारेर ल्याइन्। सम्भवतः उनले यसो नगरेको भए मेरो अन्तिम हठ नआउने पक्षमै हुने थियो। किनभने आफ्नो त्यस बखतको हुती र सामथ्र्यलाई बटुलेर भरसक डाक्टरनीको प्रयत्नलाई विफल पार्ने यावत् कोसिस मैले गरेँ, हात फैलाइदिएँ, गोडा पसारिदिएँ अर्थात् म यथासाध्य नआउनलाई अन्तिम घडीसम्म प्रयत्नशील रहेँ।

जन्मिने घडीमै मैले आफ्नो अड्डीपनको पूरा परिचय दिएँ। आउन त आएँ तर खुसी राजीसँग आइनँ। ममाथि त्यस दिन बल प्रयोग गरेको हुनाले हो कि म जीवनमा आजन्म विद्रोही रहेँ।

मेरो हृदयमा त्यस दिन नै विद्रोहको बीउ रोपियो होला। सजिलैसँग आफ्नो पक्का विचार बनाई नहडबडाईकन म उत्तीर्ण हुन पाएको भए मेरो र समाजका बीच राम्रो सम्बन्ध स्थापित हुने थियो। म पनि अरूहरूजस्तै अरूले जे गर्‍यो त्यही गर्ने थिएँ र परम्पराको पक्का पुजारी हुने थिएँ।

ती डाक्टरनी आमा अहिले कहाँ होलिन्? लगभग चालीस वर्षअघि उनको निपुण हातले यन्त्रवत् एउटा कार्य सम्पादन गर्‍यो- उनको आजीविकाको एउटा साधारण काम। उनले के सोचेकी होलिन् कि त्यस दिन नजानिँदो तवरले एउटा तूफानको बित्ताभरिको बिरुवालाई समाजको शान्त सागरमा जरो हाल्न छाडिदिइन्।

उनले असल काम गरिन् कि खराब काम त्यसको लेखाजोखा सहस्र जिह्वा भएका शेषनागले पनि गर्न सक्दैनन् भने जाबो मानिसले के गर्न सक्ला! कारण, जीवनको मूल प्रश्न नै यो हो- आन्दोलन वा निस्तग्धता? अब ती डाक्टरनी आमाका प्रति आज मेरो मनमा कस्तो भावना छ, यो प्रश्नको यथार्थमा म निश्चित रूपमा उत्तर दिन सक्दिनँ।

मेरो जीवनलीला समाप्त भएपछि मेरो जीवनमा तमाम कर्तव्यको परिणामले शुभ-अशुभ जेजसो भएको छ तदनुसार उनका आत्मालाई आशीर्वाद वा सराप दिनेछ।

जन्मेकै दिन मैले आफ्नो कोठाको निरीक्षण गरेँ। अँध्यारो, केही धुवाँले र तेलको गन्धले रङमङिएको वातावरण, मैला लुगाफाटा, बिछ्यौना, तकिया, थाङ्नो र ओड्ने सिरक।

मैले यदि जन्मेर मानव जातिको कल्याणका लागि केही गर्न सकेँ भने, यदि कुनै दुःखीको आँखाको आँसु पुछ्न सकेँ भने, कसैको अनुहारमा नजानिँदो भए तापनि मैले आफ्नो कर्तव्यद्वारा उत्साहको रेखा दौडाउन सकेँ भने, डाक्टरनी आमाका लागि अनन्तसम्म मेरो आत्माको हात आशीर्वाद दिन उठिरहनेछ।

जन्मेकै दिन मैले आफ्नो कोठाको निरीक्षण गरेँ। अँध्यारो, केही धुवाँले र तेलको गन्धले रङमङिएको वातावरण, मैला लुगाफाटा, बिछ्यौना, तकिया, थाङ्नो र ओड्ने सिरक।

त्यस निसास्सिने वातावरणमा म बारम्बार चीत्कार गरी उठ्थेँ- असन्तोषको पीडा र सामथ्र्यहीनताको अरण्य रोदन! त्यस अन्धकारमा केवल एउटा प्रकाश किरणको सम्झना हुन्छ- त्यो थियो आमाको आनन्दले प्रस्फुटित भएको तेजिलो आनन।

दुब्ली, पातली, अल्लि अग्ली, पहेँली, रक्तहीन अनुहार! तर त्यस शरीरबाट कहिल्यै पनि मलिन नहुने चन्द्रप्रभावको कोमल धार कोठालाई उज्यालो पार्दै बगिरहेको थियो। सुन्दरी माता स्नेहमयी- जसले टकटकी लाएर मलाई हेर्न मात्र जानेको थियो। बालिका माताको प्रथम पुत्र म!!

यी सब कुरा मैले सम्झनाको आधारमा लेखेको हुँ। सम्भव छ, पछि सुनेको र देखेको कुराको अनुभव मस्तिष्कको तल्लो तहमा जमेर बसेको होला, र आज त्यो अनुभव सजग भएर मलाई मेरा पाठकहरूलाई एक प्रकारले धोखा दिने प्रयत्न गरिरहेको होला।

सरासर झुठो कुरा म लेखिरहेको हुँला। म जन्मिएको कोठा अँध्यारो थिएन होला, डाक्टरनीले आधुनिक सिद्धान्तको अनुसार कोठालाई उज्याले र हावादार राख्न कर लगाएकी होलिन्। म रोइरहिन हुँला।

धेरै दिनपछि जब म तेह्र वर्षको थिएँ हामी त्यही गल्लीमा बस्न पुग्यौँ जुन गल्लीमा म जन्मेको घर पनि छ। बनारसको गल्ली, त्यसै अँध्यारो, हामी नेपालीहरूले आबाद गरेको गल्ली झन् अँध्यारो थियो।

मेरा बुजुर्गले भने- ऊ हेर, त्यै हो तँ जन्मेको घर। मेरा लागि त्यो ज्ञान विशेष रहरको थिएन। त्यस घरमा नजन्मेर अर्को घरमा जन्मेको भए के फरक पर्दथ्यो र? तेह्र वर्षको बढ्ने उमेरले पछि फर्किने उत्साह नदेखिएको स्वाभाविकै हो।

आज बीचमा फर्की फर्की मैले तय गरेको जीवन यात्राको लामो बाटोलाई हेरिरहन्छु। जन्मेको थलोले पनि मेरा आजको आँखामा महत्त्व राख्तछ। तर त्यस समयमा पनि एउटा कुराको सम्झना झट्ट भयो।

धरणीधर दाइले घरको कोठाचोटा देखाउँदै भन्नुभयो, ‘ल, हेर राम्ररी आफू जन्मेको थलो।’ म अवाक् भएँ। घर त अन्यन्त सफा, सुग्घर र उज्यालो! उमेरको असरले गर्दा अभिमानी मनले भन्यो, यस अँध्यारो गल्लीमा जन्मिँदा पनि मैले उज्याले थलो नै खोजेछु।

कलकत्तामा विद्यासागर जन्मेको घर हो कि पछि उनी बस्न आएको घर हो त्यहाँ मैले सेता मारबलमा कालो अक्षरले त्यो ऐतिहासिक घटनालाई सम्झाएको कुरा देखेको थिएँ।

अरू विशेष रहर आफ्नो जन्मस्थललाई देख्दा मलाई नभए तापनि कलकत्ताको विद्यासागरको घरको मारबल र कालो अक्षर सम्झेँ। त्यसपछि ३३ वर्षको उमेरमा मैले आफू जन्मेको घरमा जाने मौका पाएँ।

धरणीधर दाइ दार्जलिङबाट जाडो छल्न आउनुभएको थियो। संयोगले उहाँहरूले त्यही घर भाडामा लिनु भएछ। उहाँले घरको कोठाचोटा देखाउँदै भन्नुभयो, ‘ल, हेर राम्ररी आफू जन्मेको थलो।’ म अवाक् भएँ। घर त अन्यन्त सफा, सुग्घर र उज्यालो! उमेरको असरले गर्दा अभिमानी मनले भन्यो, यस अँध्यारो गल्लीमा जन्मिँदा पनि मैले उज्याले थलो नै खोजेछु। महत्त्वाकांक्षाको हृदयमा घर गरिसकेको थियो, त्यसो हुनाले मलाई त्यो घर साधारण लागेन।
०००
चन्द्रगन्ज बजार, सिरहानेर चन्द्रशमशेर महाराजको नाउँमा बसेको। त्यहाँ एउटा पोखरी छ। त्यसको दक्षिण-पश्चिम डिलमा हाम्रो कचहरी छ, अर्थात् बजारअड्ठासम्बन्धी कामकाज गर्ने अफिस त्यही हो। पिताजी त्यहीँ बस्नुहुन्छ तर मलाई यहाँको सम्झना छैन।

कचहरीको डिलभन्दा पश्चिमतिर सडक र ठीक सडकसँगै टाँसिएको पश्चिमपट्टि हाम्रो घर छ। बाल्यकालको विस्मृतिको सागर जथाभाबी उठेर देखापरेका सम्झनाका टापुहरूमध्ये सागरको सतहसँग झण्डै-झण्डै मिस्सिएको र छुट््याउन गाह्रो पर्ने साना-साना टापु मेरा तिनै हुन्- चन्द्रगन्जको बजारअड्डा, धुलोले भरिएको सडक र फुसको घर।

म तिनताक दुई वर्षको थिएँ। मानिसहरूले मलाई बोकी हिँडेको देख्दा र अनायास मलाई खुसी पार्ने प्रयत्न गरेको देख्दा म सायद बालककालमा सुन्दर र रहर लाग्दो हुँला जस्तो लाग्छ।

आमाको कुरा पत्याउने भएदेखि मजस्तो सुन्दर कोही थिएन। तर आमाको आँखाले धोका दिने कुरा सबैलाई थाहा छ। म राम्रो रंगीचंगी नाना लाएर, जुत्तामोजा पहिरिएर, कपाल टिम्म कोरेर घाम बचाउन रंगीन छाता लिएर घरबाट बाहिर निस्की सडकको छेउमा आएर उभिन्थेँ।

आमा गर्वले म्वाइँ खाएर मलाई कचहरी बसेको पिताजीकहाँ पठाउनुहुन्थ्यो। म सडकछेउमा आएर जुत्तामा धुलो लाग्ला भन्ने डरले उभिइरहन्थेँ। कचहरीबाट कसैले देख्यो भने दौडेर आएर अथवा सडकमै हिँड्ने बटुवाले मलाई बोकेर कचहरीसम्म पुर्‍याइदिन्थ्यो।

आमाले मलाई सिँगार्नसम्म सिँगार्नुहुन्थ्यो- बास्ना आउने तेल, पाउडर, नयाँ नयाँ डिजाइनका लुगाहरू इत्यादिले विभूषित भएको म मानव पुत्रभन्दा जापानी पुतली जस्तो देखा पर्दथेँ।

आमा गर्वले म्वाइँ खाएर मलाई कचहरी बसेको पिताजीकहाँ पठाउनुहुन्थ्यो। म सडकछेउमा आएर जुत्तामा धुलो लाग्ला भन्ने डरले उभिइरहन्थेँ। कचहरीबाट कसैले देख्यो भने दौडेर आएर अथवा सडकमै हिँड्ने बटुवाले मलाई बोकेर कचहरीसम्म पुर्‍याइदिन्थ्यो। हिलो र धुलोलाई म सबैभन्दा घृणा गर्दथेँ। आजसम्म धरतीमातासँग ममत्व हुन सकेको छैन।

कचहरीमा दिन काट्न गाह्रो नै नपर्ने। थरीथरीका मानिस, थरीथरीका कुरा र सबैको आकर्षणको केन्द्रबिन्दु म। बाँदर नचाउने, भालु नचाउने, चटक गर्ने र अरू तमासा देखाउने यावत् मानिसहरू मानौँ मलाई नै खुसी पार्न आफ्नो करामत देखाउन त्यहाँ आइपुग्थे।

डरलाग्दा जोगीहरू पनि कहिले कहिले आउँथे र रातै पनि तिनीहरूलाई सपनामा देखेर तर्सिन्थेँ। चन्द्रगन्जमा जोगीहरूले मेरो मनमा सबभन्दा पहिले डरको सञ्चार गराए। नत्र भने बडा उत्साहका दिन थिए ती मेरा!

हाम्रो कुकुर थियो, कस्तो चनाखो भने, एकचोटि एउटा चाँदीको चम्चा हरायो, घरका नोकरचाकहरूमा खलबली परेको थाहा पाएर त्यो कुकुर सुट्ट बाहिर निस्केछ र कहाँबाट चम्चालाई फेला पारी मुखमा च्यापेर आमाहरू पात गाँसेर बसेको ठाउँमा ल्याएर दियो।

स्वास्नीमानिसहरूको बीचमा त्यसको सीपको खुब चर्चा भयो। मलाई राम्ररी सम्झना छ, हिउँदको घाम पश्चिमतिर ढल्किसकेको थियो, एकछिनमा आमाहरू पात गाँसेर घरको तरखरमा व्यस्त हुनुभयो। आफ्नो प्रशंसामा कृतज्ञता ज्ञापन गर्दै कुकुर पुच्छर हल्लाइरहेछ।

हाम्रो तबेलामा घोडाहरू पनि छन् विभिन्न जातका। हामीलाई त्यो सेतो ठूलो अरबी घोडाका लागि गर्व छ। नजिकमा त्यस्तो घोडा कसैको छैन रे! अग्लो भने कस्तो कि एकचोटि त्यसमा चढ्दा पृथ्वी पातालजस्तो गहिरो लाग्ने। त्यो घोडा अचानक एक दिन अस्तबलमै मरिरहेको पाइयो।

आफ्नो विशाल कायाको प्रमाण दिँदै मृत्यु उपरान्त पनि त्यसले उत्तरपट्टिको अस्तबलको गारोलाई फोर्न कर लगायो। म यस कुराले प्रभावित भएँ कि बाँचुञ्जेल आर्जन गरेको प्रतिष्ठा कि त्यत्रो अग्लो घोडा अरू कसैको छैन-लाई कायम राख्दै मर्‍यो। ठूलदाइ (मातृकाप्रसाद) को आफ्नो च्यान्टे घोडा थियो।

कति सानो भने अगला मानिसहरूले चढ्दा गोडा भुइँमा हुन्थ्यो। ठूलदाजुले त्यसमा चढेको त सम्झना छैन तर बगैँचामा बेलुकीपख पालैसँग त्यसमा मानिसहरू चढ्थे।

हाम्रो गाई गुजराती खालको थियो, हरिहर क्षेत्रको मेलामा किनेर ल्याएको। ती पनि कीर्तिवती थिइन्। पिताजी आफैँ बसेर त्यसलाई पाकेको केरा खुवाउनुहुन्थ्यो र एक किसिमको घाँस।

मेरो राजनीतिक कारबाहीदेखि क्रूद्ध भएर सरकारले मलाई फेला पार्न नसकेकाले मेरो जेठो छोरालाई पक्रेर कागज गराउनू भन्ने आदेश सरकारले गरेको थियो।

त्यो विशेष प्रकारको घाँसका साना साना मुठा बनाएर पिताजीको आफ्नै हातले ख्वाएको मलाई राम्ररी सम्झना छ। त्यो घाँस गाईलाई ख्वाउने रे, किनभने त्यो गाईका लागि हामीलाई दूधजस्तो पौष्टिक हुन्छ।

दुवै साँझ गरेर पुग नपुग एक मन जति दूध हामी त्यस गाईबाट पाउँथ्यौँ। यसरी चन्द्रगन्जमा एउटा बालकलाई चाहिने सबै सामग्री मौजूद थिए- धनधान्यपूर्ण घर, स्नेहमयी माता, प्रतिष्ठावान् तेजस्वी पिता, माया गर्ने बन्धुबान्धव। धुलो र हिलो नभएको भए चन्द्रगन्जको छाप मेरो मनमा स्वर्गतुल्य हुन्थ्यो।

तर पछि त्यही चन्द्रगन्जको माटो यस्तो खुकुलो थुम्को जस्तो लाग्यो जसबाट हावाको झोँकामा माटोको पत्र उडेर वातावरणलाई धुलोमय बनाइरहेको हुन्छ। म दस-एघार वर्षको थिएँ।…
०००
चन्द्रगन्ज अब त्यो चन्द्रगन्ज रहेन। सम्भव छ चन्द्रगन्जमा स्वयम् केही परिवर्तन नआको होस्- त्यो बजार पहिलो जस्तो थियो अहिले पनि त्यस्तै होला, परिवर्तन ममा भयो होला।

जे होस्, आज चन्द्रगन्ज त्यस्तो माटाको डल्लोजस्तो लाग्दछ जसमा हावा, घाम, पानीको सदाको आघातले पत्र पत्र गरेर माटो खुकुलो हुँदै वातावरणलाई धुलीमय बनाइसकेको छ। त्यहाँका घर, मान्छे, गाडा, रूख इत्यादि धुलोको आवरणमा निस्तेज भएका छन्।

आजको आँखालाई म टम्म थुन्छु अनि मात्र चार शताब्दी अघिको बालचक्षु उघ्रिन्छ। समयको अन्तर र बालककालको कौतूहलपूर्ण मौलिक अनुभव-यी दुवैले गर्दा सपनामा देखेको स्वर्गको झल्को जस्तो मलाई चन्द्रगन्ज लाग्छ।

ठूलो भएपछि दुईचोटि चन्द्रगन्ज गएको छु। म ९।१० वर्षको थिएँ। चन्द्रशमशेरको पालामा उनको आज्ञाबिना देशका रूखहरूको पातसम्म हल्लिन डर मान्दथे। हामी उनैको कोपभाजन भयौँ। खेदिएर हामी मुगलान पस्यौँ। महाराज चन्द्रशमशेरको हुकुम थियो कि मेरा पिता कृष्णप्रसाद र उनका परिवार कोही पनि सदस्य नेपालमा देखापरे भने तुरुन्त थुन्नु।

म दुई वर्षको हुँदो हुँ। मैले भागेर आफ्नो परिवारका साथ हिन्दुस्तानमा शरण लिनुपर्‍यो। दुई वर्षको म बालकलाई केको डर? किन तिमी पनि साथ लागेर हिन्दुस्तान पस्यौ? इत्यादि प्रश्न अहिलेको कालमा स्वाभाविक हुन सक्छ तर त्यस बखत कृष्णप्रसादको छोरा पनि अत्यन्त महत्त्व राख्दथ्यो, आफ्नो पिताको कर्तव्यको परिणाम उसले पनि बेहोर्नुपर्दथ्यो।

यो चालीस वर्ष पहिलेको कुरामा आश्चर्य मान्नु पर्दैन किनभने २००६ सालमा पनि एक किमिसले त्यस्तै घटना घटेको छ- प्राइममिनिस्टर मोहनको पालामा।  मेरो राजनीतिक कारबाहीदेखि क्रूद्ध भएर सरकारले मलाई फेला पार्न नसकेकाले मेरो जेठो छोरालाई पक्रेर कागज गराउनू भन्ने आदेश सरकारले गरेको थियो।

मेरा अशिक्षित छोरोले कसरी कागज गर्न सक्दथ्यो, एक वर्ष पनि नपुगेको बालकले लेख्न जानेको थिएन। सौभाग्यले मेरो छोराको अशिक्षाको पोल खुल्न पाएन कारण त्यो पनि राजनीतिक शरणार्थी भएर हिन्दुस्तानमा मसँगसँगै थियो। कति सानो भवितव्यले धेरैको लाज बच्यो- सरकारको लाज कि बालकलाई कागज गराउने, मेरो कि बालकलाई अशिक्षित राख्ने।

म भन्दै थिएँ कि म ९।१० वर्षको उमेरमा चन्द्रगन्ज गएँ लुकेर, छद्मभेषी भएर। हिन्दुस्तानपट्टिको बजार जयनगरमा म पिताजीको साथमा केही दिनदेखि थिएँ।

पिताजीले के सोध्नुभएको थियो कुन्नि उहाँलाई भोक नलाग्ने, मेरो पेटमा भने सदा सर्वभक्षी अग्नि बलिरहने। दुई छाकदेखि हामीले खाएका थिएनौँ, मलाई मलिन भएको देखेर उहाँले केही पैसाको उपाय गर्न बोधप्रसाद (साहिँला दाइ) लाई एउटा चिठीका साथ सिरहा पठाउनुभयो।

नेपाल राज्यभित्र पस्न साहिँला दाइलाई उति डर थिएन जति मलाई, र साथै उहाँ उमेरले गर्दा मभन्दा जिम्मेदार पनि हुनुहुन्थ्यो। धेरै छलफलबाट मलाई जान पनि हठात् केही डर छैन भन्ने भयो र म पनि साथ लागेँ।

अरू ठाउँमा डर थिएन तर चन्द्रगन्ज बजारमा र सिरहामा भने डर निश्चय थियो। मलाई चिन्ने मानिस त्यहाँ हुन सक्दथे। चन्द्रगन्ज पुग्नुभन्दा धेरै पहिलेदेखि नै आफ्नो हिँडाइ र आकृतिमा परिवर्तन ल्याउने प्रयत्न मैले गरेँ। कसैले मलाई अध्ययन गरेको भए म निश्चय नै आफ्नो प्रयत्नमा हास्यास्पद साबित गर्न थालेको हुन्थेँ।

तर मलाई कसैले ध्यान दिएन। धुलोले ढकमक्क भएको म व्यक्तित्वहीन भइसकेको थिएँ। म दायाँबायाँ कतै हेर्दिनथेँ। हाम्रो परिवारको हितचिन्तक डा. कामिनीभूषणकहाँ हामी यसरी पस्यौँ जसरी घरमा चोर पस्दछ।

बाल्यकाल काशीमा बित्यो। बुज्रुगहरू दुःखले बित्यो भन्छन् तर मलाई त्यसको अनुभव भएन। मेरो प्रकृतिमा कुन्नि यौटा यस्तो तत्त्व छ जसले दुःखलाई ग्रहण गर्नुपर्दा त्यसको अनुभवलाई कटु हुन दिँदैन।

डाक्टरको घरको परखाललाई आफू र बाहिरको दुनियाँको बीचमा पार्न सकेपछि हामीले निश्चिन्तताको श्वास लियौँ। त्यस दिनको कामिनीभूषण र उनको परिवारले दिएको स्नेहलाई कहिले पनि बिर्सन सक्दिनँ।

पिताजीको चिठीको साथ मैले आफ्नो परिचय उहाँलाई दिनेबित्तिकै सबैभन्दा पहिलो काम उहाँले कोठाको ढोका बन्द गर्नुभयो, अर्को सुस्तरी बोल्न थाल्नुभयो। यति सावधानी लिइसकेपछि उहाँले आफ्नो परिवारका तमाम सदस्यहरूलाई कोठामा डाक्नुभयो र मेरो परिचय दिनुभयो।

घाम, धूलो र भोकले मेरो कण्ठ सुकिरहेको थियो। फाटेको वाणीमा मैले पानी मागेँ। डाक्टरनी आमाले बाक्लो दूधमा फरवी (भुजा) कचौरा हाम्रो अगाडि राखिदिनुभयो।

डाक्टर भन्दैछन्- सुन्यौँ यी हाम्रा मित्रका छोरा हुन्। उनकै प्रेरणा र मद्दतले हामी यहाँ आयौँ र घरद्वार गर्न सक्यौँ।
म दूध र भुजा खाँदैछु, त्यस्तो मिठो दूध। आजसम्म दूध र भुजा मुछेको मलाई मन पर्दछ। त्यसै दिन यो स्वादको बीउ मेरो ओठमा छरियो।

घरका जहान, बालक, बूढा, लोग्ने मानिस, स्वास्नी मानिस सबै हामीलाई घेरेर उभिइरहेका छन्। म मुण्टो गाडेर खाइरहेको छु। डाक्टर भन्छन्, खरदार बाजे (मेरा पिताजी) जस्तो निर्भीक व्यक्ति मैले देखेको छैन र कति कर्तव्यशील हुनुहुन्छ उहाँ। मलाई गर्व छ कि मेरो जीवनमा उहाँको साहचर्य मलाई प्राप्त भएको छ।

मिठो कुरा, मिठो भोजन र मिठो वातावरण केवल त्रुटि एउटा मात्रै भोजनको अपर्याप्तता।

तर त्यतिले पनि थेग्ने भेग्ने भो। त्यहाँ धेरै विलम्ब नगरी हामी सिरहातिर लम्क्यौँ।

हालै दुई वर्षअघि फेरि एकचोटि चन्द्रगन्ज जाने मौका मैले पाएको छु। जज जयकार, फूलमाला, चारतारे झन्डा, कालो झन्डा, धूलो, आमसभा, भाषण, फेरि धूलो, जिन्दाबाद, मूर्दाबाद, धूलो, धूलो, धूलो!!

बनारस- बाल्यकाल काशीमा बित्यो। बुज्रुगहरू दुःखले बित्यो भन्छन् तर मलाई त्यसको अनुभव भएन। मेरो प्रकृतिमा कुन्नि यौटा यस्तो तत्त्व छ जसले दुःखलाई ग्रहण गर्नुपर्दा त्यसको अनुभवलाई कटु हुन दिँदैन।

मैले जीवनमा धेरै कष्ट र दुःखको अनुभव गरेको छु। धेरै व्यक्तिले मलाई धोका पनि दिएका छन्, मलाई भने न ती कष्टका दिनका प्रति कटुता नै छ न ती व्यक्तिहरूका प्रति रिस नै।

बनारसमा हामीलाई निश्चय नै दुःख थियो। लुकाउनुपर्ने कुरा के- दुई छाक टार्न धौधौ पर्दथ्यो। कहिले कहिले त उपवास गर्नुपर्दथ्यो। चनाभुजाले धेरै छाक टारेको जस्तो मलाई लाग्दछ।

पुरुषपंक्तिमा सबैभन्दा पछि पिताजीले चना लिनुभयो। स्त्री पंक्तिमा अन्त्यमा चनाको वितरण भयो। सब खान बसे। यसलाई दुःख भन्ने? वनभोज जस्तो थियो। रमाइला कुरा हुन थाले। पिताजीले यस्सो आमातिर हेर्नुभयो। आमाले मुस्कुराएर उहाँको उत्तर दिनुभयो।

चनामा धेरै गुण छ- सस्तो, कम्ती मात्रामा नै पर्याप्त भोजन पुग्ने र त्यसलाई पानीमा ढड्यायो भने आकारमा वृद्धि हुनाका साथै नुन छर्न पाइयो भने सुस्वादु पनि हुने। एक दिनको कुरा मलाई राम्ररी सम्झना छ। साँझ परेको थियो। हामीहरू अटालीमा भोजनका लागि तयार भएर एकत्र थियौँ। प्रायः ४५ जना जति। हामी पंक्तिबद्ध भएर बस्यौँ। आमाले सकी नसकी यौटा ठूलो माटाको भाँडो उचालेर ल्याउनुभयो।

आज पनि चना!

पिताजीले भन्नुभयो- पहिलो बालकहरूलाई बाँड। पुगेपछि हामी खाउँला।

पुरुषपंक्तिमा सबैभन्दा पछि पिताजीले चना लिनुभयो। स्त्रीपंक्तिमा अन्त्यमा चनाको वितरण भयो। सब खान बसे।
यसलाई दुःख भन्ने? वनभोज जस्तो थियो। रमाइला कुरा हुन थाले। पिताजीले यस्सो आमातिर हेर्नुभयो। आमाले मुस्कुराएर उहाँको उत्तर दिनुभयो।

भान्दाइ रामचन्द्र अधिकारी भन्न थाल्नुभयो- औरङ्जेबले आफ्नो पिता शाहजहाँलाई थुनेर राख्दा कष्ट दिने नियतले सोधी पठाए, बुबाले एक प्रकारको अन्न मात्र खान पाउने तसर्थ कुन अन्न उहाँलाई रुचिकर छ सो भनेका खण्डमा बन्दीगृहमा पुर्‍याइदिने व्यवस्था रहेछ।

शाहजहाँ- दुनियाँको मालिक, कलाकार, शाहजहाँ जसले पृथ्वीमा कालको कपोलमा टल्केको यौटा अश्रुविन्दुलाई स्थापित गर्न सक्यो, ताजमहलका रूपमा, त्यस शाहजहाँले बन्दी गृहबाट उत्तर पठायो चना।

भान्दाइले आफ्नो कथा टुंग्याउनुभयो- त्यही चना आज हामी खाइरहेका छौँ। भान्दाइका दुइटा पत्नी र छोराछोरी थिए। हाम्रो प्रवासको कुटुम्बमा उहाँ हाम्रा बीच यौटा साहित्यिक हुनुहुन्थ्यो, आशुकवि पनि। औसर औसरमा झट्ट कविता बनाएर सुनाउनुहुन्थ्यो।

राजनीतिक विषयमा पनि अत्यन्त तर्क गर्न सक्ने। अखबारहरू पढ्यो अनि तिनको अर्थ लगाउन थाल्ने, कुनै विशेष घटना भो त्यसको पछिसम्म पर्ने राजनीतिक असरका उपर लामो व्याख्या, कसैको भाषणको लुकेको तात्पर्य बडो तार्किक ढंगले हामीलाई बुझाउने।

तर राजनीतिक विषयमा पनि उहाँको कविगुण नै प्रधान रहन्थ्यो अर्थात् उहाँको विचार बाह्य वास्तविकताभन्दा आन्तरिक भावनामा आश्रित रहन्थ्यो। कविगुणको यौटा अर्को अभिव्यक्ति अल्ह्डपना उहाँमा प्रशस्त थियो।

पिताजीका हिन्दुस्तानी मित्रहरूका बीच उहाँ बाबा कहलाउनुहुन्थ्यो। एक दिनको कुरा, बेलुका हामीले उपवास बसेर सुतेका थियौँ। भोलिपल्ट उठ्दा पनि सम्भावना कुनै आशाप्रद थिएन।

केही नलगोर पिताजीले भान्दाइलाई खर्च खोज्न मित्र प्रो. गणेशदत्त शास्त्रीकहाँ पठाउनुभयो। शास्त्रीजी हिन्दु विश्वविद्यालयको अंग्रेजी साहित्यको अध्यापक हुनुहुन्थ्यो। शास्त्रीजीकहाँ त्यसेबला तास जमिरहेको थियो। श्री सीताराम पन्त जो हरिश्चन्द्र कलेजको अध्यापक हुनुहुन्छ पनि त्यहीँ हुनुहुन्थ्यो। अरू मित्रहरू पनि थिए।

‘आइए बाबा’ भन्दै सबैले उत्सुकतापूर्वक भान्दाइको स्वागत गरे। भान्दाइलाई तासको बडो सोख। फेरि तिनताका तास पनि कत्रो तन्मयताका साथ खेलिन्थ्यो, कति छलफल हुन्थ्यो, रिसारिस, कति गर्मी!

(प्रगति द्वैमासिक, वर्ष २, अंक २, २०११  बाट साभार) 

प्रकाशित: ६ साउन २०८० १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =