काभ्रेमा मनमती देवीको पुरानो मूर्ति फेला

हिमाल प्रेस १४ असार २०८० ९:३६
6
SHARES
काभ्रेमा मनमती देवीको पुरानो मूर्ति फेला फाइल तस्बिर।

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ। भेटिएको उक्त मूर्ति २ फिट अग्लो छ।

उक्त मन्दिर क्षेत्रमा पुरातत्त्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको छ। नगर कार्यालयले प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्त्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो।

हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्त्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको बताए।

७० वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको उक्त मूर्ति प्राचीन रहेको पुरातत्त्वविद् पाठकको भनाइ छ। उनका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमै राख्न भनिएको छ।

यस्तै टोलीले अनुगमनका क्रममा करिब छ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेलापरेको थियो। उक्त मूर्ति पनि अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ।

उक्त मन्दिर हाल निर्माण गरिएको नगरको भवनको उत्तरतर्फ रहेको थियो। वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले आफ्नो भूमिका नरहेको जनाए।

नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध गर्दै आएका छन्। केही दिनअघि स्थानीयको विरोधलाई तितरवितर पार्न सशस्त्र प्रहरी बलसमेत प्रयोग गरियो।

प्रकाशित: १४ असार २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =