जलहरीमा ओलीको नाम लेख्नु सामान्य : एमाले

हिमाल प्रेस ११ असार २०८० १८:०९
12
SHARES
जलहरीमा ओलीको नाम लेख्नु सामान्य : एमाले महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिनु सामान्य भएको बताएका छन्। उद्घाटन गरिएको ठाउँमा देशको नेतृत्व गरिसकेको मानिसको नाम लेखियो भनेर तर्क गर्नु गलत रहेको उनको भनाइ छ।

संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग बर्तौलाले भने, ‘जलहरीमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्ने कुरा पूर्वाग्रहपूर्ण हो। केपी ओलीको लोकप्रियता छ। राष्ट्रले भरोसा गरेको छ, त्यसविरुद्धमा यो आएको हो।’

उनले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्ने कुरा एमालेको सरोकारको विषय नभएको बताए। उनले भने, ‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ। कठघरामा ल्याउनुपर्छ। एमाले यस्तो बदमासीमा कहिल्यै पनि मुछिँदैन।’

एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरु जोडिएका घटना भए छानबिन गर्नसमेत माग गरे। ‘एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन् भने छानबिन होस्। हामी हाम्रा कोही पनि नेतालाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ। कुनै गलत काम हामीबाट भएको छैन’, उनले भने।

उनले अनियमितता गर्ने जोकोहीलाई पनि कारबाही हुनपर्ने बताएका छन्। उनले एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको पनि स्पष्ट पारे। एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप उनको छ।

प्रकाशित: ११ असार २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =