नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड

हिमाल प्रेस ९ असार २०८० १९:४७
2
SHARE
नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले सामुहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबास व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्ड पुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ।

शनिबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत उक्त लक्ष्य लिइएको हो। उपमहानगर प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिइने बताए।

वर्षाको समयमा हुने डुबान कम गर्न नालीको सरसफाइ तथा व्यवस्थापन गर्ने र नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नयाँ योजना ल्याइने नीति कार्यक्रममा उल्लेख छ।

आधुनिक प्रविधि प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवा विकास गरी ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने विषय प्राथमिकतामा राखिएको छ।

नगरप्रमुख विष्टले आगामी आवमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवप्रवर्तनलाई प्राथमिकता दिइने पनि बताए। नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने पनि उल्लेख छ।

नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै प्लास्टिक झोलाको प्रयोग न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना गर्नेलगायत लक्ष्य नेपालगञ्ज उपमहानगरले लिएको छ।

आगामी आव २०८०/८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँ बराबरको आयव्यय पनि नगरसभामा प्रस्तुत गरिएको छ। उक्त अनुमानित बजेट चालु आवको भन्दा करिब ४ करोड रुपैयाँ बढी हो। उपमहानगरले चालु आवका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको ल्याएको थियो। रासस

प्रकाशित: ९ असार २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =