भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

हिमाल प्रेस ९ असार २०८० ८:३७
4
SHARES
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। एन्टी रेबिज भ्याक्सिन हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको १ सूचनामार्फत जानकारी गराइएको छ।

कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैं उपलब्ध गराउनेभन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको अस्पताल प्रमुख डा. बद्री चापागाईंले बताए।

उनका अनुसार बुटवलबाट प्राप्त हुने उक्त खोपको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको छ।

हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने अस्पतालले जनाएको छ।

अहिले बिरामीले आफैं उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ। उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा सुई तत्काल पठाउनुपर्ने स्थानीयको माग छ।

तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै खोपका अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्ण श्रेष्ठको भनाइ छ।

प्रकाशित: ९ असार २०८० ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =