फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’काे तयारी यसरी हुँदैछ [तस्बिरहरू]

विजय नेपाल ७ असार २०८० १९:०३
4
SHARES
फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’काे तयारी यसरी हुँदैछ [तस्बिरहरू]

पोखरा- पोखरामा शुक्रबार ड्रागन बोट रेस फेस्भिटल हुँदैछ। फेवातालमा दुई दिनसम्म चल्ने सो फेस्टिभलको तयारीका लागि बिहीबार फेवातालमा अभ्यास गरिएको छ। चीनबाहिर एसियामै पहिलोपटक पर्यटकीय नगरी पोखरामा हुने सो फेस्टिभललाई निकै महत्त्वका साथ हेरिएको छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुने सो फेस्टिभलको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। बोट रेसमा भाग लिने चिनियाँ खेलाडीहरू पोखरा आइसकेका छन्।

फेवातालको क्याम्पिङमा शुक्रबार बिहान ९ बजे मूल समारोह हुने र शनिबार मध्यान्ह समापन गरिनेछ। बोट रेसमा नेपालसहित चीन, सिंगापुरका गरी ८ टिमले भाग लिँदैछन्।

तीमध्ये नेपाली ४ टिममा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा व्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिने छन्।

बिहीबार छनोट चरणमा बेगनास ताल डुंगा व्यवसायी समितिको टोली बाहिरिएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले बताए। प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ।

विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। पुरस्कारका लागि नगद ३० लाख खर्च हुनेछ। सो अवसरमा नेपालसहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति र खानाका परिकारको प्रदर्शनी समेत गरिनेछ।

एक टिममा १२ खेलाडी सम्मिलित हुनेछन् । चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ। यसअघि अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय बाेट रेसमा प्रथम सिंगापुरको टिम पनि पोखरा आएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो फेस्टिभलले पोखराको पर्यटनमा टेवा पुग्ने बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने बताए।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिभलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनलगायत विभिन्न संघसंस्थाको सहकार्य छ।

पोखरामा ‘ड्रागन बोट फेस्टिभल’, यस्तो छ चिनियाँ महत्त्व

प्रकाशित: ७ असार २०८० १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =