काठमाडौँ महानगरले उठायो आठ अर्ब राजस्व

हिमाल प्रेस ५ असार २०८० ७:१३
2
SHARE
काठमाडौँ महानगरले उठायो आठ अर्ब राजस्व काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व संकलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८.८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ।

विभागका अनुसार आव २०७८÷७९ मा महानगरले तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय संकलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ। चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व संकलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ। राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्बले कमी भएको देखिन्छ। गत आव २०७८÷७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो। रासस

प्रकाशित: ५ असार २०८० ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =