प्रतिगामीविरुद्ध युद्ध घोषणा भएको प्रचण्डको दाबी

हिमाल प्रेस ४ असार २०८० २३:११
प्रतिगामीविरुद्ध युद्ध घोषणा भएको प्रचण्डको दाबी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मोर्चा घोषणा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताएका हुन्।

परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरू तथा तिनका विचार र प्रवृत्तिलाई बदनाम गर्ने र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेको उनको भनाइ छ। उनले भने, ‘के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो। यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन।’

मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीका पक्षमा भएको पनि प्रचण्डले दाबी गरे। प्रधानमन्त्रीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे।

उनले भने, ‘कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट बिल्कुल घबराउनुपर्ने आवश्यकता छैन बरु आउनुहोस् हात मिलाऊँ। र यो देशलाई नयाँ बनाउने संकल्पका साथ अगाडि बढौँ।’

७०/७५ वर्ष संघर्ष गरेर जेल, नेल, यातना, त्याग र बलिदानका कीर्तिमान कायम गरेर स्थापित भएको जनताको अधिकार खोसेर फेरि त्यसलाई प्रतिगमनको, हिजोकै सामन्ती निरंकुशतातिर फर्काउन चाहानेविरुद्ध नयाँ अभियान थालनी गरिएको उनले बताए।

प्रचण्डले भने, ‘जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउन खोज्ने र त्यसलाई निस्तेज पार्न खोज्ने प्रतिक्रान्तिकारीका विरुद्ध मोर्चा घोषणा गरिएको हो।’ जनताका पक्षमा, प्रगतिशील र वामपन्थीका पक्षमा उनीहरूलाई एकताबद्ध गर्ने अभियानको उद्देश्य रहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताए। उनले भने, ‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ।’

सडक, सदन र सरकारबाट समाजवाद गुञ्जायमान बनाउन मोर्चा गठन : माधव नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =