पर्यटन मन्त्रालयले अंकमा लेखेको प्रदेश नामप्रति एमालेको आपत्ति

हिमाल प्रेस ३ असार २०८० १३:५२
12
SHARES
पर्यटन मन्त्रालयले अंकमा लेखेको प्रदेश नामप्रति एमालेको आपत्ति

काठमाडौँ– आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिले प्रदेशहरूको नाम अंकबाट उल्लेख गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयक २०८० को खर्च शीर्षकमा प्रदेशको नाम अक्षरबाट नभई अंकमा लेखिएको भेटिएपछि एमालेका सचेतक महेश बर्तौलाले सभामुखको ध्यानाकर्षण गराए।

सो शीर्षकमा लेखिएको प्रदेशको नाम अंकबाट हटाएर तत्काल अक्षरबाट नलेखिए एमालेले विरोध गर्ने उनले बताए।

‘प्रदेशसभाले दुई तिहाइ बहुमतबाट पारित गरेको नाम संघीय मन्त्रालयले किन उल्लेख नगरेको? नियम कानुनमै नभएको प्रदेश १, प्रदेश २ लाई यो संसदले चिन्दैन। प्रदेशको यस्तो गलत नाम शीर्षकबाट तत्काल हटाई प्रदेशसभाले पारित गरेको नाम उल्लेख गरियोस्,’ बर्तौलाले भने।

बर्तौलाको यस्तो मागपछि सभामुख घिमिरेले पर्यटनमन्त्री किरातीलाई मन्त्रालयले छुट्याएको बजेट शीर्षकमा प्रदेशको नाम किन उल्लेख नगरिएको भन्ने जवाफ दिन समय दिए।

‘के कारणले यस्तो नाम पर्न गयो, यसलाई हेरेर हामी सच्याउँछौं,’ मन्त्री किरातीले भने।

तर एमालेले भने प्रदेशको नामकरणजस्तो संवेदनशील विषयप्रति पर्यटन मन्त्रालय गम्भीर नभएको भन्दै आपत्ति जनाएको छ।

‘प्रदेशको नामलाई कुशको टुक्रा राखेर लु मानौं भनेजस्तो हलुका तवरले नलियौं। यो धेरै संवेदनशील विषय भएकाले प्रदेशको नाम के हो, त्यही नै स्पष्ट लेखौं,’ बर्तौलाले भने।

प्रकाशित: ३ असार २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =