अत्यधिक गर्मीले बिग्रियो लाखौँ रुपैयाँकाे ‘ड्रागन फ्रुट’

हिमाल प्रेस ३२ जेठ २०८० १८:२३
4
SHARES
अत्यधिक गर्मीले बिग्रियो लाखौँ रुपैयाँकाे ‘ड्रागन फ्रुट’

पथरी- पछिल्लो समय बढेको गर्मीले मोरङको पथरीस्थित बारीमा लगाएको ‘ड्रागन फ्रुट’मा असर परेको छ। चर्को घामसँगै बढेको तापक्रमका कारण लाखाैँ रुपैयाँ पर्ने ‘ड्रागन फ्रुट बिग्रिएको छ।

तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रागन फ्रुट बोटमै कुहिएका छन्। तीन पटक (लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रागन किसान मार्कामा परेका छन्। चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान चरम निरास बनेका छन्।

यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पूर्ववडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिब पाँचदेखि सात लाख रुपैयाँसम्मको ड्रागन फ्रुट नष्ट भएको छ। ‘पहिलो पटक सुरु गरेको खेतीमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो,’ उनले भने। ड्रागनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटकमै नराम्रो झट्का लागेको उनले दुखेसो गरे। ‘अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्थ्यो। तर नष्ट भएको छ।’

पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बुको मेद्यावी कृषि फर्ममा पनि ड्रागनका बोटमा क्षति भएको छ। अढाइ बिघामा लगाएको फर्ममा भुईभरी कोपिला र दाना कुहिएर झरेका छन्। लिम्बुले यस पटकको घाम र हावाले १५ लाख रुपैयाँ बराबरको ड्रागन कुहिएको बताए।

फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मौसमका कारण चाउरिएर साना दाना लागेका छन्। एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बुको भनाइ छ। ‘एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ,’ उनले भने, ‘सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ।’

सुनवर्शी नगरपालिका–१ मा सञ्चालित तुर्छा ड्रागन फ्रुट फर्ममा करिब २० लाख रुपैयाँ बराबरको फुल्दै गरेको ड्रागनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए। लगातारको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए।

मोरङ गछियामा व्यावसायिक ड्रागन खेती गर्दै आएका टिएन तामाङको फर्ममा करिब ५ लाख रुपैयाँ बराबरको ड्रागन कुहिएको छ। सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासी लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो।

पूर्वी नेपालमा पहिलो पटक ड्रागन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए। आफूले सञ्चालन गरेको तर्जुमा ड्रागन फ्रुट फर्ममा मात्रै करिब ७ लाख रुपैयाँको फल कुहिएर झरेको उनको भनाइ थियो। ‘ड्रागनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ। यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ,’ उनले भने, ‘ड्रयगनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सगसँगै हुन्छ। सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ,’ घलेले भने।

ड्रागन फलको माग पछिल्लो समय नेपालमा अत्यधिक छ। खुल्ला सिमाना भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आयात भएको ड्रागन फ्रुट नेपाली बजारमा पाउने गरेको छ।

आयात हुने ड्रागन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ। पूर्वी नेपालमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन्।

नेपालमा ड्रागन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो। चर्को घामका कारण ड्रागनका बोट र फल कुहिने, फङग्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या देखिन थालेका छन्। ड्रागन खेती विज्ञताको कमी र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङग्स रोगले सताउने गरेको छ। साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ। रासस

प्रकाशित: ३२ जेठ २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =