नक्कली भुटानी शरणार्थी प्रकरण : केसीले यसरी गरे खाणको प्रतिरक्षा

हिमाल प्रेस ३१ जेठ २०८० २२:५५
12
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरण : केसीले यसरी गरे खाणको प्रतिरक्षा फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी मुद्दामा बुधबार कानुन व्यवसायीले अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षा गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहसमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाणको प्रतिरक्षा गरेका हुन्।

उनले सबै सञ्चारमाध्यम र राज्य बालकृष्ण खाणविरुद्ध लागेको बताए। बहसका क्रममा केसीले भने, ‘पूरा मिडिया र राज्य बालकृष्ण खाणविरुद्ध लागेको छ।’

भुटानी शरणार्थी समस्याको स्थायी समाधान पहिल्याउन गठित कार्यदलको प्रतिवेदन किर्ते गर्न खाण संलग्न नरहेको दाबी केसीको थियो। उनले यस प्रकरणमा केही कर्मचारीको मुख्य भूमिका रहेको बताए। केसीले गृह मन्त्रालयका शाखा अधिकृत यान्तोष प्रधान, सहसचिव सागरमणि पाठक, फणीन्द्रमणि पोखरेलले किर्ते गरेको आरोप लगाए।

बिना प्रमाण र आधार प्रतिशोधको भावनाले खाणमाथि मुद्दा चलाएको केसीको आरोप थियो। उनले भने, ‘राजनीति गर्ने मानिसको भविष्य सिध्याउन अभियोग लगाइएको छ। तथ्यप्रमाण छैन, कथा मात्रै रचिएको छ।’ देश बदल्न भनेर लडेका खाणलाई संगठित अपराध र राज्यविरुद्धको कसुर लगाउने हो भन्दै केसीले प्रश्न गरेका थिए।

करिब डेढ घण्टा बहस गरेका केसीले अभियोगपत्र पनि पढेर सुनाएका थिए। उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतमा १० दिनदेखि बहस जारी छ।

पूर्वगृहमन्त्री खाणका कानुन व्यवसायीले मंगलबार पनि पूरा समय लिएका थिए। खाणका पक्षमा बहस गर्न तयार झन्डै तीन दर्जनभन्दा बढी कानुन व्यवसायीमध्ये मंगलबार र बुधबार गरी १६ जनाले बहस गरेका छन्। तिनमा बारका पूर्वअध्यक्ष केसीसहित हरिहर दाहाल, ललित बस्नेत, शेरबहादुर केसी, महादेव यादव, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, खम्बबहादुर खातीलगायत छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्ये १८ जना पक्राउ परेका छन्। बाँकी फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =