घर घरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउँदै भरतपुर महानगर

हिमाल प्रेस ३१ जेठ २०८० १३:०४
4
SHARES
घर घरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउँदै भरतपुर महानगर

चितवन– भरतपुर महानगरपालिकाले घर-घरमा स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले १ वडा १ स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ। जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो।

जसअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भरतपुर-२४ सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको केन्द्रले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। केन्द्रको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले १ समारोहका बीच उद्घाटन गरेकी हुन्।

४६ लाखको लागतमा स्थापना गरिएको स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन, औषधि वितरण र सामान्य उपचार हुनेछ। कार्यालय उद्घाटन गर्दै मेयर दाहालले अब यस क्षेत्रका जनतालाई सामान्य उपचारका लागि १२ किलोमिटर टाढा शिवनगर जानुपर्ने बाध्यता हटेको बताइन्।

१ वडा १ स्वास्थ्य सेवा एकाइ कार्यक्रमअन्तर्गत अहिलेसम्म १२ वटा वडामा भवन निर्माणको काम सम्पन्न भएको बताए। यस्तै चारवटा वडामा निर्माणाधीन अवस्थामा रहेको र अन्य चारवटा अहिले पनि भाडाको भवनमा सञ्चालनमा आइरहेको उनले जानकारी दिइन्।

‘जनताको घर आँगनमा सेवा दिने उद्देश्यका साथ महानगर अघि बढेको छ।  जनतालाई शिक्षा र स्वास्थय घरघरमा पुर्‍याउन महानगर लागिपरेको छ,’ उनले भनिन्।

महानगरले हालसम्म वडा ३, ४, १०, ११, १५, २१, २२, २३, २४, २५,२८ र २९ मा स्वास्थ्यचौकी र केन्द्रका लागि भवन निर्माण गरिसकेको छ। यस्तै वडा ५, ७, १३ र २० मा निर्माणाधीन अवस्थामा रहेको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दीपक सुवेदीले बताए।

उनकाअनुसार वडा २, ५, ९ र १२ मा भवन नभएपछि अहिले आश्रम, वडा कार्यालयका भवन तथा भाडाका घरमा कार्यालय राखेर सञ्चालन गरिएको छ।

घरघरमा स्वास्थ्यको पहुँच पुर्‍याउने अभियानअन्तर्गत महानगरपालिकाभित्र ४० वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन्। एउटा प्राथमिक स्वास्थ्योपचार केन्द्र, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, १३ वटा स्वास्थ्यचौकी, ६ वटा आयुर्वेदिक औषधालय, ३ वटा नगर स्वास्थ्य केन्द्र, २ वटा स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य एकाइ एउटा रहेका छन्।

वडाध्यक्ष राम गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र राना, पूर्ववडाध्यक्ष कान्छा मल्ल, नेकपा एमालेका वडासचिव कृष्ण गोदार र एकता सार्की समाजका अध्यक्ष दिलीप मंग्रातीलगायतले बोलेका छन्।

सो अवसरमा ३४ लाख रुपैयाँ लागतमा निर्माण भएको जनपथ क्लब सामुदायिक भवन,  ८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको सार्की समाजको भवन, ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको छेथरलिङ बौद्ध गुम्बा संग्राहलय भवनको समेत उनले उद्घाटन गरिन्।

प्रकाशित: ३१ जेठ २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =