डीआर पौडेलको निधनले मा‌ओवादी पार्टीलाई अपूरणीय क्षति : प्रचण्ड

हिमाल प्रेस ३१ जेठ २०८० ११:१९
8
SHARES
डीआर पौडेलको निधनले मा‌ओवादी पार्टीलाई अपूरणीय क्षति : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन्।

पूर्वशिक्षामन्त्री एवम् नेकपा माओवादी केन्द्रका दिवंगत नेता डीआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बिहान  आयोजित स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन,’ उनले भने।

पौडेलले शिक्षामन्त्रीका रूपमा सम्झनलायक काम गरेको भन्दै प्रचण्डले उनको प्रशंसा गरे।

‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डीआरको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ,’ उनले भने।

समाजवादको मौलिक बाटोबाट कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाइने उनले बताए।

‘लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन्। यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेललगायत नेताहरू सहभागी थिए।

प्रकाशित: ३१ जेठ २०८० ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =