नश्ल सुधारमा विशेष मानिने मुर्रा राँगो कहाँ राखिन्छ?

हिमाल प्रेस २४ जेठ २०८० १९:५६
164
SHARES
नश्ल सुधारमा विशेष मानिने मुर्रा राँगो कहाँ राखिन्छ?

गण्डकी- भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भै‌सीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने भएकाले नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको हाे।

त्यसयता पोखरा, लहान र नेपालगञ्जमा रहेका पशु प्रजनन कार्यालयमार्फत पशु नश्ल सुधारका लागि वीर्य संकलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ।

पशु प्रजनन कार्यालयमार्फत गाई, भै‌सी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य संकलन गर्दै आएको पोखरास्थित कार्यालयका प्रमुख डा. जगदीश पाण्डेयले बताए।

उनका अनुसार गत वर्ष पोखरा कार्यालयबाट मात्रै करिब ६ लाख डोज वीर्य संकलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो। त्यस वर्ष लहान कार्यालयबाट ३ लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको उनले जानकारी दिए।

गत वर्ष पोखरा कार्यालयले वीर्य संकलन एवं वितरणबाट वार्षिक ३ करोड ९६ लाख राजस्व संकलन गरेको थियो। कार्यालयले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने लक्ष्य लिएको छ।

यस वर्ष गाई, भै‌सी र बाख्रा गरी ५ लाख ७१ हजार डोज वीर्य संकलन गरिएको छ। सोबाट करिब ५ करोड रुपैयाँ राजस्व संकलन गरिने अनुमान छ। चैतसम्म ३ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ।

नश्ल सुधारका लागि मुर्रा राँगो असल प्रमाणित भइसकेको पाण्डेयको भनाइ छ। सामान्य अवस्थामा प्रतिबेत ७ सयदेखि ८ सय लिटर दूध वार्षिक दिने भैंसीमा नश्ल सुधारपछि दूधको मात्रा बढेको पाण्डेयले बताए। ‘हिजो प्रतिबेत ७ सयदेखि ८ सय लिटर दूध दिने भै‌सीले नश्ल सुधारपछि अहिले २७ देखि २८ सय लिटरसम्म दूध दिन थालेका छन्,’ उनले भने।

भैंसीमा वंश सुधार कार्यक्रमले प्रतिबेत ३८ देखि ३९ सय लिटरसम्म पनि दूध दिन थालेको उनको भनाइ छ। भारतबाट ल्याउने भनिएका मुर्रामार्फत नश्ल सुधार गराएका भैंसीले प्रतिबेत ४ हजारदेखि ४ हजार २ सय लिटरसम्म दूध दिने उनले बताए।

भैंसीले प्रतिबेत औसतमा ३ सय ५ दिन दूध दिने मान्यता प्रजनन कार्यालयको छ। ‘वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो,’ पाण्डेयले भने, ‘जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो अमूल्य छ।’

भारतबाट आउने मुर्रा जातका राँगो पनि प्रजनन कार्यालय पोखरा, नेपालगञ्जलगायतमा राखिनेछन्। मुर्रा आउने भएसँगै पोखरामा रहेको प्रजनन कार्यालयले व्यवस्थापनका लागि तयारी अघि बढाएको छ।

नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ। आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेका छन्।

अन्य देशबाट ल्याउँदा आवश्यक प्रक्रिया अपनाउनुपर्छ। सोहीअनुसार सुरुमा प्राविधिक टोली सम्बन्धित ठाउँ पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्नेछन्।

ल्याउन लागिएका राँगोमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे प्राविधिक टोलीले पूर्णरूपमा जानकारी लिनेछ। रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ।

भारतबाट ल्याउने भनिएका मुर्रा राँगो डेढ महिनाभित्र ल्याउने भनिए पनि यकिन मिति तय भइसकेको छैन। पशु प्रजनन कार्यालय पोखराका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये ८ वटाबाट वीर्य संकलन भइरहेको छ।

तिनीहरूबाट हप्ताको दुई दिन वीर्य संकलन गरिँदै आएको छ। पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जंगबहादुरका पालामा नश्ल सुधारको उद्देश्यले जर्सी बहर ल्याइएको इतिहास छ।

त्यसयता औपचारिक रूपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो। नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण हुने कृषि अर्थविज्ञ सुशील खड्काले बताए। ‘नेपालमा हाल थोरै मात्रामा दूध दिने भैंसी छन्,’ उनले भने, ‘भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ।’ रासस

प्रकाशित: २४ जेठ २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =