ए डिभिजन क्लबहरूको अडान : लिग सकिएपछि मात्र राष्ट्रिय टिमका लागि खेलाडी रिलिज

हिमाल प्रेस १८ जेठ २०८० १५:०८
6
SHARES
ए डिभिजन क्लबहरूको अडान : लिग सकिएपछि मात्र राष्ट्रिय टिमका लागि खेलाडी रिलिज फाइल तस्बिर

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगका १४ मध्ये १० क्लबले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि तत्काल खेलाडी रिलिज नगर्ने भएका छन्। ती क्लबहरूका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

तीन विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसँगै जावलाखेल युथ क्लबबाहेकका क्लबहरूका प्रनिनिधि फ्रेन्ड्स क्लबको कुपन्डोल, ललितपुरस्थित कार्यलयमा बैठक बसेका थिए।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आगामी साफ च्याम्पियनसिपको तयारीका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन्।

इटालेली प्रशिक्षक एनिसले मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडका चार–चार खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेका छन्।

त्यसैगरी संकटा क्लबका तीन, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबका दुई-दुई खेलाडी परेका छन्।

फ्रेन्ड्स क्लबका एक खेलाडी छानिँदा विदेशी लिग खेल्ने दुई खेलाडी (कप्तान किरण कुमार लिम्बु र रोहित चन्द) लाई पनि प्रशिक्षणमा बोलाइएको छ। यी खेलाडीहरू बिहीबारबाट बन्द प्रशिक्षणमा समावेश हुने बताइएको थियो।

तर धेरैजसो क्लबहरूले खेलाडीहरूलाई लिग नसकी रिलिज नगर्ने भएपछि तयारी अन्योलमा पर्ने संकेत देखा परेको छ। साफ च्याम्पियनसिप भारतको बेंगलोरमा असार ६ देखि १९ सम्म हुँदैछ। नेपालको घरेलु लिग भने जेठ २७ मा सकिने तालिका छ। लिग सकिएपछि तयारी सुरू गरे राष्ट्रिय टिमले साफ च्याम्पियनसिपअघि १० दिन मात्र अभ्यास गर्ने समय पाउनेछ।

क्लबहरूले पाउनुपर्ने लिग तयारी खर्च र म्याच मनी तथा म्यान अफ द म्याच भएवापत खेलाडीहरूले पाउनु पर्ने रकम तत्काल नपाए जेठ १९ पछिका खेलहरूमा कालो पट्टी बाँधेर खेल्ने निर्णय पनि बैठकले गरेको छ।

केही दिनअघि पत्रकार सम्मेलनगरी यी १० क्लबका प्रतिनिधिले हालसम्म तयारी खर्चको पहिलो किस्ता मात्र पाएको बताएको थिए। एन्फाले पहिलो किस्तामा १५ लाख, दोस्रोमा १० लाख र तेस्रोमा सात लाख ५० हजार क्लबहरूलाई दिने सहमति गरेको थियो। क्लबहरूले पहिलो किस्ता पाइसके पनि बाँकी किस्ताको रकम पाएका छैनन्।

एन्फाले पाँचौँ चरणपछि क्लबहरूलाई म्याचमनी पनि नदिएको क्लबहरूको भनाइ छ। एक खेल जितेवापत ५० हजार र बराबरी गरेवापत २५ हजार रूपैयाँ क्लबहरूले पाउने व्यवस्था छ। म्यान अफ द म्याचले भने १० हजार रूपैयाँ पाउने व्यवस्था छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

गोलरक्षक : किरण कुमार लिम्बु (पंजाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

रक्षक : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिस श्रेष्ठ (एपीएफ क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरूङ (मनाङ मस्र्याङ्दी क्लब), विक्रम लामा (थ्रीस्टार क्लब), रोहित चन्द (पेरसिक केड्री), सिमान्त थापा (जावलाखेल युथ क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब)

मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ क्लब), मणी कुमार लामा (एपीएफ क्लब), सुदिप गुरूङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्रीस्टार क्लब), आभाष लामिछाने (एपीएफ क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब)

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ त्रिभुवन (आर्मी फुटबल क्लब), दिपक राज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मानिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब), दिनेश हेन्जन (त्रिभुवन आर्मी फुटबल क्लब)

प्रकाशित: १८ जेठ २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =