पोखरा- पोखरामा आयोजित नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’मा चीनको सिचुवान ड्रागन बोटले दुई उपाधि जितेको छ। प्रतियाेगितामा २०० र ५०० मिटर गरी दुवै इभेन्टमा सिचुवानको टिम प्रथम भएको हो।
५०० मिटर स्ट्रेट ट्रयाक रेसमा सिचुवानले निर्धारित दुरी २ः२०ः९० मिनेटमा पूरा गरेको हो। २०० मिटरतर्फ उसले निर्धारित दुरी ००ः५३ः८१ मिनेटमा पूरा गरेको हो। नेपालको ‘नारा ड्रागन बोट’ टिम उपविजेता भकाे छ।
५०० मिटरतर्फ नेपाली टिमले २ः२३ः८३ मिनेटमा निर्धारित दुरी पूरा गर्दा २०० मिटरतर्फ ००ः५६ः४३ मिनेटमा पूरा गरी उपविजेता बनेकाे हाे। दुवै इभेन्टमा विजेता बन्दै सिचुवानले साढे ५ लाखका दरले ११ लाख रुपैयाँ र नेपाली टिम नाराले दुवैतर्फ साढे ३ लाख दरले ७ लाख रुपैयाँ पुरस्कार पाएकाे छ।
प्रतियाेगितामा कुल ८ टिमले भाग लिएकोमा चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो र नेपालको एनआरसिए टिम चौथो भएका छन्। युनानले दुवै विधामा २ लाख दरले ४ लाख पुरस्कार पाएकाे छ।
प्रतियोगितामा भाग लिएका सबै ८ टिमलाई नै प्रतिटिम १ लाख रुपैयाँ प्रोत्साहनस्वरूप दिइएको छ। शनिबार समापनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत चन सोङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरे।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा दक्षिण एसियामै पहिलोपटक पोखराको फेवातालमा उक्त फेस्टिभल भएको हाे।
यसैबीच, प्रतियोगितामा प्रयोग गरिएका ८ ड्रागन बोट तथा आवश्यक सामग्री चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ। ती सामान अर्को वर्ष हुने प्रतियोगितामा फेरि प्रयोग गरिने बताइएको छ। फेस्टिभलले पोखराको पर्यटनमा टेवा मिलेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’काे तयारी यसरी हुँदैछ [तस्बिरहरू]

                                             
                                             
                                             
                                             
                                             
                                             

