डिपानको संस्थापन इतर समूहको द्वैधचरित्र : भित्र सहमतिमा हस्ताक्षर, बाहिर जबरजस्तीको आरोप

हिमाल प्रेस १५ जेठ २०८० १४:४७
354
SHARES
डिपानको संस्थापन इतर समूहको द्वैधचरित्र : भित्र सहमतिमा हस्ताक्षर, बाहिर जबरजस्तीको आरोप

काठमाडौँ- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (डिपान) को विवाद मिलाउन बनेको कार्यदलका दुई सदस्यको दोहोरो चरित्र देखिएको छ। विवाद मिलाउन बनेको कार्यदलमा संस्थापन इतर समूहको प्रतिनिधित्व गर्ने दुई सदस्यहरू भावुकराज न्यौपाने र यज्ञ ज्ञवालीले बैठकमा उठेका सबै विषयमा सहमति गरेर बाहिर विवाद निम्त्याउने अभिव्यक्ति दिँदै हिँडेको भेटिएको हो।

सात वर्षदेखि अधिवेशन नभएको संघमा अहिले पनि संस्थापन इतर समूह अधिवेशन गर्नु हुँदैन भन्ने पक्षमा जोडतोडका साथ लागिरहेको छ। अधिवेशनमा निर्वाचन हुँदा आफ्नो लज्जास्पद हार हुने देखेर उनीहरूले फर्जी मतदाता बनाएको आरोप पनि लगाएका छन्। तर संस्थापन इतर समूहकै प्रतिनिधित्व गरेर गएका न्यौपाने र ज्ञवालीले बैठकको माइन्युट पेपरमा भने सहमति गरेर हस्ताक्षर गरेको भेटिएको हो। अहिले भने सोही आधारमा बनेको मतदाता नामावलीलाई फर्जी भन्दै सो समूह निर्वाचन रोक्ने पक्षमा खुलेर लागेको छ।

विवाद समाधानका लागि गत वर्ष नै प्रा.डा. विनोद पराजुलीको संयोजकत्वमा बनेको कार्यदलले २०७९ साल माघ २० गते पुल्चोक क्याम्पसमा बैठक बसी विभिन्न निर्णय गरेको थियो। छलफलमा उठेका सबै विषयमा सर्वसम्मत निर्णय भएको माइन्युट प्राप्त भएको छ। जसमा अहिले विवाद निम्त्याउने सदस्यहरूले पनि हस्ताक्षर गरेको भेटिएको हो। सोही प्रतिवेदनको आधारमा अहिले मतदाता नामावली तयार पारिएकोले यसमा फर्जी हुने सम्भावना नरहेको संघका अध्यक्ष जगत तिमिल्सिना बताउँछन्।

पराजुलीको संयोजकत्वमा रहेको समितिमा सहप्रा.डा. तुलसीप्रसाद गौतम, उपप्रा. महेन्द्र अर्याल, उपप्रा. यज्ञ ज्ञवाली, उपप्रा. थमनबहादुर खड्का र उपप्रा. रोशन कार्की सदस्य थिए। जसमध्ये खड्का र कार्की आमन्त्रित सदस्य हुन्।

बैठकले अवकाशप्राप्त तथा मृत्यु भएका साधारण सदस्यको नामावली मतदाता सूचीबाट हटाउने, दोहोरो नाम भएकाको दुवैतिर नाम हटाउने, एकाइ अध्यक्ष र सचिवको अनिवार्य प्रतिनिधित्व, पब्लिक क्याम्पस वैध हो वा होइन भन्ने पहिचान गर्ने जस्ता निर्णयमा उनीहरुले समेत हस्ताक्षर गरेका छन्। तर अहिले उनीहरुको असन्तुष्टिका बीच यो निर्णय भएको भन्दै निर्वाचन प्रभावित पार्ने उद्देश्यले अफवाह सुरु गरिएको छ।

प्रकाशित: १५ जेठ २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =