पशुपति जलहरी प्रकरण : दलहरूले उठाए संसदीय छानबिन समिति बनाउनुपर्ने माग

हिमाल प्रेस १२ जेठ २०८० १८:४७
32
SHARES
पशुपति जलहरी प्रकरण : दलहरूले उठाए संसदीय छानबिन समिति बनाउनुपर्ने माग

काठमाडौँ– प्रतिनिधि सभा नै अवरोध हुने गरी उठेको पशुपति नाथको जलहरी प्रकरण अब संसदीय छानबिन हुनुपर्ने माग उठेको छ। सत्ता पक्ष नेपाली काग्रेस, माओवादी र प्रतिपक्षमा रहेको राप्रपाका सांसदले यस्तो माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाएकाले उक्त अडियो संसद्‌को रेकर्डबाट हटाउनुपर्ने माग गरेपछि संसद्‌मा विवाद सुरु भएको थियो। माओवादी केन्द्रका सांसदले संसद्‌मा बोल्ने क्रममा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको र यसको जिम्मेवारी एमाले अध्यक्ष ओलीले लिनुपर्ने टिप्पणी गरेका थिए।

उक्त टिप्पणीलाई लिएर एमाले प्रतिनिधि सभामा आक्रामक रुपमा उपस्थित भएपछि सभामुखले बैठक सुरुमा २० मिनेटका लागि स्थगीत गरेका थिए। तर दलहरूका बीचमा विवाद जारी रहेपछि ३ बजे बस्ने सूचना संसद्‌ सचिवालयले निकालेको थियो। पछि ६ बजे पनि बस्ने भनिएको थियो तर बैठक बस्न सकेको छैन।

सत्तापक्ष र प्रतिपक्षबीचमा विवाद जारी नै रहेपछि सभामुखले बैठक डाख्न नसकेका हुन्। शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा उठेका प्रश्नमा जवाफ दिने कार्यक्रम राखिएको थियो। तर अवरोधले गर्दा जवाफ नै दिन पाएनन्।

प्रतिनिधि सभा बैठक रोकिएपछि संसद्‌ भवनबाट बाहिरिदै गर्दा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधिसभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद्‌ बैठक चल्नसक्ने अवस्था हुदाँ हुदै सभामुखले नगरेको कारण अवरोध भएको आरोप लगाए।

‘सभामुखले संसद्‌ नचलाउने नियत देखाउनुभयो। भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसद्‌मा ल्याउनु खोजिएको हो कि ’ उनले भने ‘सभामुखले सुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरू आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन सुरुमै अवरोध हुने थिएन। सभामुखको कमजोरी भयो अनि एमालेले भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरूलाई ल्याउनुपर्ने जरुरी छैन।’ उनले यसमा छानविनका लागि संसद्‌िय समिति गठन गरे प्रष्ट हुने पनि दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसद्‌ीय छानबिन समिति बनाउनुपर्ने टिप्पणी गरे।

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्नसंसद्‌ीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसद्‌ीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको र उक्त कुरा आवश्यक पनि भएको दाबी गरे।

उनले आफूले जलहरीको कुरामात्रै संसद्‌मा नउठाएको भन्दै उनले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरू उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको दाबी गरे।

आफूले ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको पनि उनले दाबी गरे। आफूले संसद्‌ीय मर्यादा उल्लंघन नगरेको भन्दै यसमा माफी माग्ने वा रेकर्डबाट हटाउनुपर्ने कुरा नभएको दाबी गरे।

‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएकोमहालेखाकोप्रतिवेदनमा पनि आएको छ। महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाब प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा तत्कालीन सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरू किन नियन्त्रण गर्न सक्नुभएन भनेको हो ’ उनले भने ‘यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाइले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई एमालेले अनावश्यक इस्यू बनाएको छ।’

एमालेका सचेतक महेश बर्तौला माओवादीका सांसद दाहालले माफी नमागेसम्म संसद्‌् चल्ने वातावरण बन्नै नसक्ने बताउँछन्।

प्रकाशित: १२ जेठ २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =