मनाङमाथि रेलिगेसनको बादल; शीर्षस्थानमा भए पनि बेखुस चर्च ब्वाइज

हिमाल प्रेस ११ जेठ २०८० २३:०१
52
SHARES
मनाङमाथि रेलिगेसनको बादल; शीर्षस्थानमा भए पनि बेखुस चर्च ब्वाइज

काठमाडौँ- नेपाली फुटबलमा मनाङ मर्स्याङ्दी क्लबका नाममा अनेकौँ कीर्तिमान छन्। सर्वाधिक पटक सहिद स्मारक ए डिभिजन लिग जितेको। लगातार तीन पटक ए डिभिजन लिग च्याम्पियन बनेको आदि। यीबाहेक अर्को लोभलाग्दो कीर्तिमान हो, चौथो श्रेणीदेखि पहिलो श्रेणीसम्मको लिग सरासर जितेको।

यत्तिको गर्विलो विगत भएको मनाङ बिहीबार चर्च ब्वाइज युनाइटेडसँग आमनेसामने भयो। चर्च ब्वाइज यस्तो क्लब हो, जसले मनाङको कम्तीमा एउटा कीर्तिमान चाहिँ बराबरी गर्नसक्छ। जुन हो, तीनवटै श्रेणीका लिगमा लगातार विजेता बन्ने।

चर्च ब्वाइज यही सिजन ए डिभिजन लिगमा बढुवा भएको हो। कुनै समयको मनाङ जस्तै चर्च ब्वाइज पनि सी र बी डिभिजन लिग जिते ए मा आइपुगेको हो।

च्यासल रंगशालामा चर्च ब्वाइजसँग भिडिरहँदा मनाङलाई आफूले विगतमा राखेको कीर्तिमानको सायदै चिन्ता थियो। किनभने मनाङ विगतको चिन्ता गर्ने अवस्थामै छैन। बरु वर्तमान सुरक्षित कसरी गर्ने, त्यसको चिन्तामा छ। सर्वाधिक आठ पटक लिग जितेको मनाङलाई यति बेला रेलिगेसनको क्रासले छोपेको छ।

चर्च ब्वाइजसँगको गोलरहित बराबरीपछि मनाङको २५ अंक भएको छ। यसको अर्थ हो, मनाङ रेलिगेसन क्षेत्रबाट खासै टाढा छैन। १४ क्लबसम्मिलित लिगमा १३ औँ स्थानको संकटा क्लब र मनाङबीचको दूरी जम्मा दुई अंकको मात्र हो।

बिहीबार नै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई ४-० ले पन्छाएपछि संकटा १३ औँ स्थानमा झरेको हो। फ्रेन्ड्ससँग अब २४ अंक भएको छ। फ्रेन्ड्सकै जस्तो २१ खेल खेलेको संकटाले २३ अंक बटुलेको छ। जुन पुछारको खुमलटार एफसीसँगको भन्दा दुई अंक बढी हो।

लिग निर्णायक मोडतिर अघि बढ्दा मनाङ रेलिगेसन लयमा छ। किनभने मनाङ जितविहीन बनेको सात खेल भइसक्यो। हो, मनाङले यी सात खेलमा हार व्यहोरेको छैन, एक-एक अंक बटुलेको छ। तर लगातारको बराबरीले मनाङलाई अंक तालिकामा माथि चढाउन सकेको छैन।

मनाङको अहिलेको अपराजित शृंखलाको सुरुवात विष्णु गुरुङ मुख्य प्रशिक्षक बनेपछि भएको हो। उनले मनाङको १५ औँ खेलबाट प्रशिक्षण सम्हालेका थिए। किरण श्रेष्ठले १३ औँ खेलपछि राजीनामा दिएसँगै विष्णु एफसी खुमलटारबाट मनाङ सरेका हुन्। किरणले राजीनामा दिनुअघि मनाङले लगातार ६ खेल हारेको थियो। उनको बर्हिगमनपछि मनाङले एक खेल गोलरक्षक प्रशिक्षक प्रवीण श्रेष्ठको नेतृत्वमा खेल्यो। सो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएपछि मनाङको पराजित शृंखला अन्त्य भएको थियो।

विष्णुको प्रशिक्षणमा सात खेल खेल्दा मनाङले पाँच खेलमा गोल गरेको छ। रोचक त के छ भने यो बीचमा मनाङले जति गोल गरेको छ, ठ्याक्कै त्यति नै गोल खाएको छ। मतलब नौ-नौ। यसको सिधा सन्देश हो, मनाङको रक्षापंक्ति सन्तुलित हुन सकेको छैन। रेलिगेसनको बादल मडारिएका बेला असन्तुलित रक्षापंक्ति मनाङका लागि हानिकारक हुनसक्छ।

लिगमा मनाङले अब पाँच खेल खेल्न बाँकी छ। विपक्षी हुन्, थ्रीस्टार, खुमलटार, फ्रेन्ड्स, एनआरटी र मछिन्द्र। थ्रीस्टारलाई छाड्ने हो भने बाँकी लिगका ‘हाइ स्कोरिङ’ टिम हुन्। सर्वाधिक गोल गरेका टिमको सूचीमा फ्रेन्ड्स दोस्रो (३५ गोल), मछिन्द्र तेस्रो (३० गोल), खुमलटार चौथो (२९ गोल) र एनआरटी पाँचौँ (२८ गोल) स्थानमा छन्।

उसो त गोल खाने मामलामा पनि मनाङका आगामी विपक्षी अगाडि छन्। खुमलटार लिगमा सबैभन्दा बढी गोल खाएको टिम हो। यो सूचीमा फ्रेन्ड्स र एनआरटी दोस्रो स्थानमा छन्। खुमलटारले ४४ र फ्रेन्ड्स तथा एनआटीले ३३-३३ गोल खाइसकेका छन्। उल्लेखित तथ्यांकलाई आधार मानेर यति चाहिँ भन्न सकिन्छ, मनाङले सामना गर्न लागेका लगभग सबै विपक्षी कठिन छन्। तीमध्ये केही ‘रेलिगेसन ब्याटल’ मा रहेकाले तीनले मनाङलाई दुःख दिने नै छन्।

चर्च ब्वाइजसँगको खेलपछि मनाङका मुख्य प्रशिक्षक विष्णुले आफ्नो टिमलाई रेलिगेसनका भय रहेको स्वीकार गरे। सँगसँगै उनले रेलिगेसनबाट बच्ने विश्वास पनि व्यक्त गरे। ‘हामी खेल जित्ने प्रयास गरिरहेका छौँ। गोलका प्रशस्त अवसर सिर्जना पनि गरेका छौँ। तर आखिरमा भनेजति अंक बटुल्न सकिएको छैन। सायद हामीलाई भाग्यले पनि साथ दिइरहेको छैन,’ विष्णुले भने, ‘अहिले हामी रेलिगेसनको खतरामा छौँ। तर हाम्रो खेल रेलिगेसनमा पर्ने खालको छैन। आशा छ आगामी खेलहरूमा पर्याप्त अंक जम्मा गर्न सकिनेछ।’

आधा सिजन सकिएपछि मनाङको जिम्मेवारी लिएका विष्णुले बनाएको लक्ष्य हो, रेलिगेसनबाट बच्ने। ‘आगामी सिजन हामी च्याम्पियन बन्नेगरि खेल्नेछौँ। योजना अनुसारको तयारी हुनेछ। तर यसपालिको लक्ष्य भनेको रेलिगेसनबाट बच्ने नै हो,’ विष्णुले थपे। प्रि-सिजनमा तयारी गर्ने समय नहुनु, युवा खेलाडी बाहुल्य टिम निर्माण गरिनु, उनीहरु डराएर खेल्नु, त्यसमाथि उनीहरुले आफ्नो स्तर अनुसारको खेल नदेखाउनु आदिका कारण मनाङ यो स्थितिमा पुगेको पनि विष्णुको भनाइ थियो।

अझै समस्या अग्रपंक्तिमै
बिहीबार मनाङलाई हराएको भए चर्च ब्वाइजले शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गर्ने थियो। शीर्ष तीनका अन्य दुई क्लब आआफ्ना पछिल्ला खेलमा बराबरीमा रोकिएको फाइदा उठाउने लक्ष्यसहित चर्च ब्वाइज मैदान ओर्लिएको थियो। तर जित दर्ता गर्न चर्च ब्वाइज असफल भयो। कारण? चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनकै शब्दमा, ‘अट्याकिङ थर्डमा फेरि एकपटक चुक्नु।’

सामान्य भाषामा ‘अट्याकिङ थर्ड’ विपक्षीको पेनाल्टी बक्सभित्र र त्यसवरपरको क्षेत्र हो। जहाँ गोलको अवसर सिर्जना र गोल गर्ने हो। यी क्षेत्रमा विपक्षी टिममाथि हाबी हुनसक्ने पर्याप्त खेलाडी छन्, चर्चब्वाइजसँग। भलै बालगोपालको मत फरक छ। ‘अरु टिमसँग यस्ता विदेशी खेलाडी छन्, जो अट्याकिङ थर्डमा प्रभावकारी भइरहेका छन्। तर हामीसँग त्यस्ता विदेशी खेलाडी छैनन्,’ बालगोपालले भने।

उसो त आफ्ना फरवार्डहरुको प्रदर्शनलाई लिएर बालगोपालले यसअघि पनि असन्तुष्टि व्यक्त गर्दै आइरहेका थिए। हुन पनि लिग लिडर चर्च ब्वाइज गोल गर्ने मामलामा ६ टिमभन्दा पछि छ। चर्च ब्वाइजले गरेको गोल संख्या २५ मात्र हो। जुन दोस्रो स्थानको मछिन्द्रभन्दा पाँच र तेस्रो स्थानको जावलाखेलभन्दा सात गोल कम हो।

चर्च ब्वाइजको अग्रपंक्तिको नेतृत्व राष्ट्रिय टिमका स्टार फरवार्ड अन्जन विष्टले गरेका छन्। उनलाई उदाउँदा प्रतिभा आशिष चौधरीको साथ छ। मिलन राई र आशिष चापागाई जस्ता खेलाडी पनि चर्च ब्वाइजमा छन्। भारतीय स्ट्राइकर रंजित सिंह पान्द्रे, अट्याकिङ मिडफिल्डरद्वय शुसिल शाह र मौसम सुब्बा चर्च ब्वाइजसँग भएका अरु विकल्प हुन्।

तर यी कुनै पनि खेलाडी गोलको भरपर्दो स्रोत बन्न सकेका छैनन्। अन्जनको नाममा ६ गोल छ। १० खेल खेल्दा उनले आधा दर्जन गोल गरेका हुन्, जसमा एनआरटीविरुद्धको ह्याट्रिक सम्मिलित छ। आशिष चौधरीले त गोल नगरेको ११ खेल भइसक्यो। अर्का आशिष भने बलियो सुरुवातका बाबजुद बेन्च खेलाडीमा सीमित भएका छन्।

चर्च ब्वाइजले पछिल्ला पाँच खेलमध्ये दुईमा जित हात पारेको छ। ती दुई जितमा चर्च ब्वाइजले एक-एक गोल गरेको थियो। गोल गर्ने खेलाडी थिए मिलन र सुभाष गुरुङ। यी दुईको नाममा क्रमशः दुई र एक गोल छ।

‘हाम्रो अग्रपंक्तिमा समस्या देखिँदै आएको छ। आज पनि त्यही भयो। विशेषगरि हाम्रो अट्याकिङ थर्डमा हामी बारम्बार चुकिरहेका छौँ। सेट पिसमा गोल गर्ने हाम्रो योजना थियो। त्यसमा पनि असफल भयौँ। आशा छ आगामी खेलमा सुधार हुनेछ,’ बालगोपालले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =