न्युकासल युनाइटेडको फड्काे

हिमाल प्रेस ९ जेठ २०८० १०:२७
14
SHARES
न्युकासल युनाइटेडको फड्काे

काठमाडौँ- न्युकासल युनाइटेड अन्ततः च्याम्पियन्स लिगमा फर्किएको छ। इंग्लिस प्रिमियर लिगमा सोमबार राति लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिए पनि न्युकासल चौथो स्थानमा रहने पक्का भयो। लिगमा एक खेल खेल्न बाँकी रहँदा न्युकासलले ३७ खेलबाट ७० अंक बटुलेको छ। यति अंक न्युकासललाई २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट हुन पर्याप्त हो।

पाँचौँ स्थानको लिभरपुलले गत शनिबार एस्टन भिल्लालाई हराउन नसकेपछि न्युकासलका लागि दुई खेलबाट एक अंक चाहिएको थियो। सेन्ट जेम्स पार्कमा एक अंक बटुलेपछि न्युकासल शीर्ष चारमा रहने पक्का भएको हो। न्युकासलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ६९ अंक छ। जुन लिभरपुलको भन्दा तीन अंक बढी हो। यस्तोमा लिभरपुलले न्युकासल र युनाइटेडलाई भेट्ने सम्भावना अब छैन।

न्युकासलले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएपछि प्रशिक्षक एड्डी हाउले खेलाडीहरूको तारिफ गरे। ‘अब चाहिँ ढुक्क भएको छ। हामीले च्याम्पियन्स लिग खेल्ने सपना देखेका थियौँ। तर हामी यो लक्ष्य प्राप्त गर्न तयार थियौँ जस्तो लाग्दैन। आखिरमा लक्ष्य पूरा भएको छ,’ हाउले भने, ‘गत सिजन हामी रेलिगेसनबाट बच्न संघर्षरत थियौँ। मुस्किलले बचेपछि हामी चाहन्थ्यौँ, यो सिजन गतिलो प्रदर्शन गरौँ। मेहनत गरियो। अहिले फल हामीसामु छ।’

स्टिभ ब्रुस बर्खास्तीमा परेपछि हाउलाई नोभेम्बर, २०२१ मा प्रशिक्षक बनाइएको थियो। उनले रेलिगेसन क्षेत्रमा रहेको न्युकासललाई १८ महिनाभित्रै शीर्ष चारमा ल्याइपुर्‍याएका हुन्। साउदी अरबको सरकारी कोषको लगानी भएका कारण न्युकासलले आफूलाई चाहिने पर्याप्त खेलाडी अनुबन्ध गरेको छ। तर नयाँ खेलाडीको बलमा मात्र न्युकासल च्याम्पियन्स लिगमा छनोट भएको होइन। यसमा हाउको प्रशिक्षण पनि उत्तिकै निर्णायक साबित भएको छ।

न्युकासलले पछिल्लो पटक च्याम्पियन्स लिग खेलेको सन् २००४ मा हो। त्यसबेला न्युकासलका प्रशिक्षक बबी रब्सन थिए। उनीपछि कुनै प्रशिक्षक न्युकासललाई युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगितामा पुर्‍याउन सकेका थिएनन्। यद्यपि न्युकासलले एलन पार्ड्युको प्रशिक्षणमा सन् २०१२/१३ मा दोस्रो श्रेणीको युरोपा लिग भने खेलेको थियो।

‘मेरा खेलाडीहरूले असाध्यै मेहनत गरेका छन्। क्लबप्रतिको उनीहरूको प्रतिबद्धताको बयानगरि साध्य छैन। वास्तवमा म यो क्लबको प्रशिक्षक बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। यसपालि हामीले जस्तो सफलता हासिल गरेका छौँ, यसले मेरो मन आनन्दित बनाएको छ,’ हाउले भनेका छन्।

न्युकासल च्याम्पियन्स लिग पुनरागमनको खुसीयाली मनइरहँदा लेस्टर भने रेलिगेसनको भयमा छ। सात वर्षअघि सबैलाई छक्क पार्दै प्रिमियर लिग च्याम्पियन बनेको लेस्टर यो सिजन ३१ अंकसहित १८ औँ स्थानमा छ। पछिल्ला १५ मध्ये एक खेल मात्र जितेको लेस्टरभन्दा माथि रहेको टिम हो, एभरटन। जोसँग ३३ अंक छ।

आउँदो खेलमा बर्नमाउथलाई हराए एभरटन रेलिगेसनबाट बच्नेछ। लेस्टर भने आफ्नो अन्तिम खेलमा वेस्टह्याम युनाइटेडसँग भिड्दैछ। रेलिगेसनबाट जोगिन लेस्टरलाई वेस्टह्याममाथिको जित मात्र पर्याप्त हुनेछैन। बरु एभरटन बर्नमाउथसँग पराजित हुनुपर्नेछ।

‘रेलिगेसनको लडाइँलाई हामीले कम्तीमा अन्तिम खेलसम्म तन्काएका छौँ। आज हामीले जसरी खेल्यौँ, त्यसमा केही गल्ती छैन। किनभने यो नतिजाले एभरटनमाथि दबाब सिर्जना गरेको छ,’ लेस्टरका प्रशिक्षक डिन स्मिथले भनेका छन्।

यसपालि रेलिगेसन नटरे लेस्टर १२ औँ पटक दोस्रो श्रेणीमा झर्नेछ। इंग्लिस फुटलबको इतिहासमा प्रिमियर लिगबाट १२ पटक रेलिगेसनमा पर्ने क्लब बर्मिङहम मात्र हो। सन् २०१०/११ सिजनमा रेलिगेट भएको बर्मिङहम त्यसपछि माथि उक्लिन सकेको छैन।

प्रकाशित: ९ जेठ २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =