न्युकासल सफल हुन अझै केही समय लाग्छ : प्रशिक्षक एड्डी हाउ

हिमाल प्रेस १५ फागुन २०७९ १२:५१
12
SHARES
न्युकासल सफल हुन अझै केही समय लाग्छ : प्रशिक्षक एड्डी हाउ

काठमाडौँ- लिग कप फाइनलमा म्यानचेस्टर युनाइटेडसँग हारेपछि न्युकासल युनाइटेडका प्रशिक्षक एड्डी हाउले सफल हुन थप मेहनत गर्नुको विकल्प नरहेकोे प्रतिक्रिया दिएका छन्। उनले न्युकासल सफल हुन अझ केही समय लाग्ने पनि बताए। आइतबार राति वेम्ब्लीमा भएको उपाधि भिडन्तमा न्युकासल २–० मा पराजित भएको थियो।

युनाइटेडको आधा दशक लामो उपाधि खडेरी तोड्न कासिमिरोले एक गोल गरे। अर्को गोल सेभन बुटमनको नाममा रह्यो। मार्कस रासफोर्डको प्रहार न्युकासलका रक्षक बुटमनलाई छुँदै गोलमा परिणत भएको थियो।

न्युकासल २४ वर्षपछि घरेलु प्रतियोगिताको फाइनलमा पुगेको थियो। सन् १९९९ मा एफए कपको फाइनलमा पुगेको न्युकासलले सन् १९६९ मा इन्टर–सिटीज फेयर्स कप जितेको थियो। यो न्युकासलले जितेको एक्लो युरोपियन प्रतियोगिता हो। न्युकासलले जितेको अन्तिम घरेलु प्रतियोगिता भनेको एफए कप हो। त्यसबेला म्यानचेस्टर सिटीलाई पराजित गरेर न्युकासल च्याम्पियन बनेको थियो।

लिग कपमा असफल भए पनि न्युकासलको पुनरुत्थान भने जारी रहनेछ। साउदी अरबको सरकारी कोषले नोभेम्बर, २०२१ मा स्वामित्व लिएको न्युकासलले हाउको प्रशिक्षणमा मजबुत प्रदर्शन गरिरहेको छ। प्रिमियर लिगमा हाल पाँचौँ स्थानमा रहेको न्युकासल शीर्षचारमा रहने सम्भावना बलियो छ।

‘यो हार पीडादायक छ। किनभने हामीले बलियो प्रदर्शन गरेका थियौँ। रक्षात्मक सन्तुलन कायम नगर्दा हार्नुप¥यो। फेरि पाएका मौकालाई गोलमा परिणत पनि गर्न सकिएन,’ हाउले भने।

बर्नमाउथका पूर्वप्रशिक्षक हाउले न्युकासलमा नाटकीय परिवर्तन भइरहेको पनि बताएका छन्। गत सिजन रेलिगेसनबाट बच्न संघर्ष गरेको टिम यसपालि शीर्ष चारका लागि प्रीतस्पर्धामा उत्रनु चानचुने सफलता नभएको उनको भनाइ थियो।

‘मेहनत जारी राख्नुछ। आशा छ यो असफलतापछि खेलाडीले थप मेहनत गर्नेछन्। मानसिक रुपमा पनि सुदृढ हुनुछ। फाइनल पुग्न यी खेलाडीले असाध्यै मेहनत गरेका छन्। यसकारण उनीहरूको आलोचना गर्ने पक्षमा म छैन। सफल हुन हामीलाई थप समय चाहिन्छ,’ हाउले भनेका छन्।

‘लिग कप, एफए कप लगायतका प्रतियोगिता प्रतिस्पर्धात्मक छन्। यिनमा सफल हुन त्यति सजिलो छैन। अर्को वर्ष सफल हुने लक्ष्य राख्नुछ। त्यसका लागि मेहनत गर्नुपर्छ,’ हाउले थपे।

सन् १९९९ यता पहिलो पटक फाइनल खेल्नुलाई पनि आफूले सफलता मानेको हाउको भनाइ छ। प्रिमियर लिगका ठूला टिमसँग प्रतिस्पर्धा गर्न सजिलो नरहेकाले यो सिजन यत्तिको खेल्न सक्नु सकारात्मक रहेको हाउको प्रतिक्रिया थियो।

‘हामी जहाँ छौँ, यहाँसम्म आइपुग्न खेलाडीले एकदम महेनत गरेका छन्। लिग कपको फाइनल पुग्दैमा म न्युकासल बलियो टिम भइसक्यो भन्दिनँ। हालसम्म गरेका प्रदर्शनलाई विश्लेषण गरेर हामी अघि बढ्नेछौँ,’ हाउले भने।

प्रकाशित: १५ फागुन २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =