रक्षात्मक न्युकासलसँग रोकिएपछि आर्टेटाको गुनासो, पेनाल्टी पाइएन ; युनाइटेडको विजयी यात्रा जारी

हिमाल प्रेस २० पुष २०७९ ९:१४
8
SHARES
रक्षात्मक न्युकासलसँग रोकिएपछि आर्टेटाको गुनासो, पेनाल्टी पाइएन ; युनाइटेडको विजयी यात्रा जारी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा मंगलबार राति शीर्षस्थानको आर्सनल र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। तेस्रो स्थानको न्युकासलसँगको बराबरीपछि आर्सनल र उसलाई पछ्याइरहेको म्यानचेस्टर सिटीको दूरी आठ अंकमा पुग्यो। यद्यपि सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथमाथि ३–० को जित दर्ता गर्‍यो। यो जितले युनाइटेडका शीर्ष चारमाथिको पकड बलियो बनेको छ। युनाइटेड र पाँचौँ स्थानको टोटनहमबीच पाँच अंकको फरक छ।

मंगलबार राति नै भएका अरु खेलमा एभरटन ब्राइटनसँग ४–१ ले पराजित भयो भने फुलहमले लेस्टर सिटीलाई १–० ले निराश बनायो। लेस्टर लगातार तेस्रो खेलमा हारेको हो।

इमिरेट्स रंगशालमा भएको खेलपछि आर्सनलका प्रश्क्षिक मिकेल आर्टेटा आक्रोशित देखिए। आक्रोशको कारण थियो, रेफ्रीले दिएका निर्णय। आफ्नो टिमले कम्तीमा दुई पटक पेनाल्टी पाउनुपर्ने आर्टेटाको जिकिर थियो।

खेलको उत्तराद्र्धमा ज्याकब मर्फीले पेनाल्टी बक्समा ह्यान्ड गर्दा र दोस्रो हाफमा डान बर्नले गाब्रियलको जर्सी तान्दा पनि आर्सनललाई पेनाल्टी नदिइएको आर्टेटाको गुनासो थियो।

‘मेरा खेलाडीले जसरी खेले त्यसले मलाई खुसी बनाएको छ। उनीहरूले खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखे। हामीले गोलका कयौँ अवसर सिर्जना गर्‍यौँ। यद्यपि गोल गर्न सकिएन। हामीलाई दिइनुपर्ने दुई पेनाल्टी दिइएन। दुवै पटक स्पष्ट फउल भएको थियो,’ आर्टेटाले भने।

उता न्युकासलका प्रशिक्षक एड्डी हाउले आर्टेटाको दाबीलाई लिएर जवाफ दिए। उनको जवाफ दोस्रो ‘फउल’ बारे थियो। ‘त्यो पेनाल्टी हाम्रा लागि अन्याय हुने थियो। खेल अन्तिममा पुगेको थियो। त्यस्तोबेला पेनाल्टी दिँदा हाम्रा खेलाडीले गरेको मेहनत खेर जान्थ्यो। मेरो विचारमा त्यो पेनाल्टी थिएन। तर खेलमा रेफ्रीले जस्तोसुकै निर्णय दिन सक्छन्,’ हाउको भनाइ थियो।

ओल्ड ट्राफोर्डमा मार्कस रासफोर्डले गोल लय जारी राखेपछि युनाइटेडले बर्नमाउथलाई सजिलै पन्छायो। रासफोर्डले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। बर्नमाउथविरुद्धका बाँकी दुई गोल लुक श र कासिमिरोको नाममा रहे। सन् २०१७ यता उपाधिविहीन युनाइटेड अहिले लयमा छ। एरिक टेन हागको प्रशिक्षणमा खेलिरहेको युनाइटेड सबैखाले प्रतियोगिताका १० खेलमा हारेको छैन।

‘नतिजाबाट म सन्तुष्ट छु। हामीले आफ्नो स्तर अनुसार खेल्न सकेनौँ तर नतिजा आफ्नो पक्षमा पार्न सक्यौँ। गोल गर्न सके पनि कतिपय परिस्थितिमा हामीलाई भाग्यले साथ दियो। डे हायाले बर्नमाउथका केही राम्रा प्रहार बचाए। जसले गर्दा हामी तीन अंक बटुल्न सफल भयौँ,’ टेन हागले भने।

विश्वकप विजेता एलेक्स म्याकअलिस्टरलाई बेन्चमा राखिएको खेलमा ब्राइटनले एभरटनलाई उसकै मैदानमा हारको स्वाद चखायो। ब्राइटनको जितमा काउरो मिटोमाले १४ औँ मिनेटमा गोलको खाता खोलेका थिए। उनले गत साता आर्सनलविरुद्ध पनि गोल गरेका थिए।

त्यसैगरी दोस्रो हाफमा इभान फर्गुसन, सोल्ली मार्च र पास्कल ग्रसले एक–एक गोल गरे। एभरटनले आतिरिक्त समयमा एक गोल फर्काउन सफल भयो। सिटीसँगको बराबरीमा गोल गरेको डेमेराई ग्रेले पेनाल्टीमा एभरटनको सान्त्वना गोल गरेका हुन्।

लिगमा आठौँ जित हासिल गरेको ब्राइटन आठौँ स्थानमा छ। १७ खेलबाट २७ अंक जम्मा गरेको ब्राइटन र छैटौँ तथा सातौँ स्थानमा रहेका लिभरपुल र फुलहमबीच एक अंकको दूरी छ।

किंग पावर रंगशालामा लेस्टरलाई पराजित गर्न फुलहमका अलेक्जान्डर मिट्रोभिचले पहिलो हाफको १७ औँ मिनेटमा गोल गरेका थिए। लिगमा सर्बियन स्ट्राइकरको यो ११ औँ गोल हो। संयोगवश लेस्टरका लागि यो ११ औँ हार हो। खराब लयमा रहेको लेस्टर हाल १३ औँ स्थानमा सीमित छ। १८ औँ स्थानमा रहेको नटिङहम फरेस्ट र लेस्टरबीच मात्र तीन अंकको भिन्नता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =