बुटवल-वसन्तपुर केबलकार अर्को सातादेखि सञ्‍चालन हुने

हिमाल प्रेस ७ जेठ २०८० १५:२७
14
SHARES
बुटवल-वसन्तपुर केबलकार अर्को सातादेखि सञ्‍चालन हुने

बुटवल– बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ।

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ।

केबलकारको आधार स्टेसन बुटवलको ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ। केबलकारको लम्बाई २ दशमलव ६ किलोमिटरको हुनेछ।

केबलकारमा २५ वटा गोन्डुला रहनेछन् भने एउटा गोन्डुलामा एकैपटक ८ जनाले यात्रा गर्न सक्नेछन्। साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ।

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब अर्ब लगानी भएको छ। जसमा केबलकार, क्यासिनोसहितको १ सय ५० कोठाको तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो। केबलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ। केबलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ फागुन १ गते गरेका हुन्।

प्रकाशित: ७ जेठ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =