नक्कली शरणार्थी प्रकरणमा ‘मिडिया ट्रायल’ भइरहेको छ : अर्थमन्त्री महत

हिमाल प्रेस २ जेठ २०८० १२:०७
6
SHARES
नक्कली शरणार्थी प्रकरणमा ‘मिडिया ट्रायल’ भइरहेको छ : अर्थमन्त्री महत फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘मिडिया र सामाजिक सञ्जाल ट्रायल’ भइरहेको बताएका छन्। अनामनगरमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले मिडिया ट्रायल गर्दैमा दोषी हो भन्न नहुने बताएका हुन्।

यही प्रकरणमा सार्वजनिक एउटा अडियोमा मञ्जु खाण र आरजु राणा देउवाको नाम पनि जोडिएको छ। यही विषयलाई लिएर पत्रकारले मञ्जु खाण कहाँ छिन् भनेर प्रश्न गरेका थिए।

जबाफमा उनले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन, मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ।’ उनले आरजुले सो अडियोका विषयमा उजुरी पनि गरेको बताए। ‘ट्रायल गरेर दोषी हो भनेर भन्न भएन। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, अडियो झुटो हो भन्ने विश्वास छ,’ उनले भने।

नक्कली शरणार्थी प्रकरणलाई पार्टीले गम्भीरताका साथ लिएको बताए। अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषी कसैलाई पनि जोगाउन नहुने पक्षमा पार्टी रहेको उनको भनाइ छ। ‘सभापतिज्यूको पनि धारणा यही हो, दोषी कसैलाई बचाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘बालकृष्ण खाणले आफू निर्दोष भएको साबित गर्छु भन्नुभएको छ, अनुसन्धान निष्पक्ष हुनुपर्नेमा हामी पूर्ण सहयोग गर्छौँ। दोषी नउम्किउन्, निर्दोष नफसुन्।’

यस्तै उनले कार्यसम्पादन समितिको बैठक बसिरहे पनि विविध कारणले केन्द्रीय समिति बैठक बस्न नसकेको बताए। ‘कार्यसम्पादन समितिले पनि केन्द्रीय समितिको प्रतिनिधित्व गर्छ, यद्यपि केन्द्रीय समिति बैठक बस्नुपर्छ। बस्छ, भातृ संगठन र विभाग गठन हुन्छन्,’ प्रवक्ता महतले भने, ‘विशेष महाधिवेशनको गुञ्जायस छैन, नीति अधिवेशन हुँदैछ। महासमितिभन्दा ठूलो हुन्छ।’

महतले सत्ता समीकरण फेरबदलको विषय केही नभएको बताए।

प्रकाशित: २ जेठ २०८० १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =