खाण हिरासतमा, श्रीमती मञ्जु अस्ट्रेलियामा

हिमाल प्रेस ३१ वैशाख २०८० १४:४६
1.2k
SHARES
खाण हिरासतमा, श्रीमती मञ्जु अस्ट्रेलियामा

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु एकाएक अस्ट्रेलिया पुगेकी छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा खाण वैशाख २७ गते पक्राउ परेपछि सम्पर्कविहीन बनेकी प्रतिनिधिसभा सदस्यसमेत रहेकी मञ्जु सिड्नी पुगेको अस्ट्रेलियास्थित नेपाली दूतावास स्रोतले पुष्टि गरेको छ।

गत बुधबार चाबहिलको मैजुबहालस्थित निवासमा खाणलाई पक्राउ गर्न पुगेको प्रहरीले पनि मञ्जुलाई त्यहाँ फेला पारेको थिएन।  खाणले त्यतिबेला आफूलाई थाहा नभएको जवाफ दिएका थिए।

स्रोतका अनुसार मञ्जु भारतको नयाँ दिल्ली हुँदै अस्ट्रेलियास्थित सिड्नी विमानस्थलमा ओर्लिएकी हुन्। ‘सिड्नी एयरपोर्टमा मञ्जुलाई लिन लामो समयदेखि अस्ट्रेलियमा बसोबास गर्दै आएका राम घिमिरे पुगेका थिए,’ स्रोतले हिमालप्रेससँग भन्यो। मञ्जुका छोरा र भाइ अस्ट्रेलियामै छन्। मञ्जु अस्ट्रेलिया पुगेर उनीहरूसँगै बसेको बताइएको छ।

श्रीमान् पक्राउ परेर प्रहरी हिरासतमा पुगेको पाँच दिन भइसक्दा पनि सम्पर्कमा नआएपछि उनी कहाँ गइन् भन्ने चासो बढेको थियो। काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका खाणलाई भेट्न परिवारका अन्य सदस्यहरू भने गइरहेका छन्।

सोही प्रकरणमा  मञ्जुको पनि नाम जोडिएपछि पक्राउ पर्ने डरले उनी विदेश लागेको शंका गरिएको छ। नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित विषयमा मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको अडियो बाहिरिएको थियो। आरजुले उक्त अडियो ‘फेक’ भएको बताउँदै नेपाली प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

मञ्जु भने आफूमाथि लागेको आरोपबारे  केही नबोली अस्ट्रेलिया पुगेकी हुन्। अडियोमा मञ्जुले ६ करोड ५० लाख रुपैयाँ लिएको सुन्न सकिन्छ। आरजुले भने २ करोड ५० लाख रुपैयाँ लिएको अडियोमा सुनिन्छ।

यो प्रकरणमा खाणको संलग्नता भने प्रहरीले उनी आफैँ गृहमन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डेमार्फत खुलेको थियो। प्रहरीले पाण्डेको मोबाइलमा खाणले आफ्ना स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनुपर्ला भनेको म्यासेज फेला पारेको थियो। खाण पक्राउ परेपछि अन्य नेताहरू पनि तानिने आशंका गरिएको छ।

पाण्डेले फर्म्याट गरेको मोबाइललाई रिस्टोर गरेर प्रहरीले म्यासेजहरू भेटेको थियो।  खाणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ। प्रहरीले उनको मोबाइल पनि रिस्टोरका लागि डिजिटल फरेन्सिक ल्याब पठाइसकेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका १२ जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ।

उक्त प्रकरणमा छानबिन गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ।

यो पनि

बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भइन् मञ्जु

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =