
काठमाडौँ- नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।
विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीय रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘जनताको बहुदलीय जनवादका माध्यमबाट हामीले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएका छाैँ,’ उनले भने, ‘आजको सन्दर्भलाई लिएर मार्क्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिष्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ।’
एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय पनि गरेको छ।
एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको विकासका क्रममा विभिन्न ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए।
त्यस्तै एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले बताए।
‘एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुनेछ,’ उनले भने, ‘मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी संगठन सुदृढीकरण अभियानमा खटिनुहुनेछ।’ यही वैशाख २८ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सकिएको छ।
संघीयताबारे केन्द्रीय कमिटीमा छलफल नै नभएको ओलीको स्पष्टोक्ति
प्रदेशको नाम ‘कोशी’मा समर्थन गर्दै एमालेले भन्याे- विरोधको औचित्य छैन