संघीयताबारे केन्द्रीय कमिटीमा छलफल नै नभएको ओलीको स्पष्टोक्ति

हिमाल प्रेस ३० वैशाख २०८० १८:०९
6
SHARES
संघीयताबारे केन्द्रीय कमिटीमा छलफल नै नभएको ओलीको स्पष्टोक्ति फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको दाबी गरेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने दाबी गरेका हुन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने भ्रमपूर्ण हल्ला चलाइएको भन्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताए। पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान निर्देशन दिए।

ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको ठूलो पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरू हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएका थिए। ‘हिजोदेखि एउटा हल्ला चलाइएको छ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताबारे बहस सुरु भएको,’ ओलीलाई उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन्। यिनलाई सम्पूर्ण रूपमा खारेज गरिन्छ।’

कुनै साथीहरूले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय होजस्तो गरी प्रचार गरिएको भन्दै ओलीले उक्त कुरा गलत रहेको बताए। बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको छ। जसमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको रिजालले बताए।

केन्द्रीय कमिटी बैठकमा एमाले नेता महेश बस्नेतले संघीयताको पुनरवलोकन गर्न प्रस्ताव गरेका थिए। ‘शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊँ। निर्वाचन कम खर्चिलो बनाऊँ। राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ’, उनले प्रस्ताव गरेका थिए।

 

प्रकाशित: ३० वैशाख २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =